काठमाडौं । बागमती सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (प्रदेश सीटीईभीटी)को प्रमुख कार्यकारी निर्देशकको नियुक्तिका लागि पुन: आवेदन खुलाएको छ । बुधबार दोस्रो पटक सूचना जारी गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सीटीईभीटी प्रमुखका लागि आवेदन माग गरेको हो ।
यसअघि २८ कात्तिकमा सोही पदका लागि दरखास्त आह्वान गरिएको थियो । तर आवेदकहरूको रित नपुगेको भन्दै दोस्रो पटक आवेदन खुलाउनु परेको मन्त्रालयले जनाएको छ ।
यस पदमा आवेदन दिएर छनोट हुने व्यक्ति प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् ऐन २०७४ र नियमावली २०८० बमोजिम स्थापना हुने प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा नियुक्ति हुनेछन् ।
सूचना अनुसार आवेदन दिन इच्छुकले निवेदन, वैयक्तिक विवरण, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्को नियमावली २०८० को अनुसूची १ को ३ बमोजिमको कार्य योजना (कम्तीमा २५०० देखि बढीमा ३००० शब्दसम्म) पेस गर्नुपर्ने छ ।
कार्य योजनासँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बागमती प्रदेशभित्र स्थायी बसोबास भएको प्रमाणित कागजात, मान्यताप्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ, अर्थशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान, कृषि विज्ञान र सूचना प्रविधिमध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि समेत बुझाउनु पर्नेछ ।
त्यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव सम्बन्धमा सम्बन्धित संस्थाबाट प्रमाणित कागजात, कुनै पनि फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको स्वघोषणा पत्र समेत संलग्न गर्नुपर्ने छ ।
३५ वर्ष उमेर पूरा भई ५५ वर्ष ननाघेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिन अर्थात् १८ मंसिरभित्र आवेदन दिइसक्नु पर्ने बताइएको छ । यसबारे सम्बन्धित ऐन, नियमावली र प्रमुख कार्यकारी निर्देशक छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ (संशोधन सहित) हेर्न यहाँ क्लिक गर्नुहोस् ।