काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगानीका लागि सरोगेट ब्रान्ड प्रयोग गर्नुपर्ने बाध्यता भएको बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा पूर्वक्रिकेटर समेत रहेका खड्काले आफूहरूले सट्टेबाजी प्लेटफर्मको प्रचार नगर्ने, तर लगानीका लागि ती प्लेटफर्मका सरोगेट ब्रान्ड प्रयोग गरेको बताएका हुन् ।
सरोगेट ब्रान्डले खेलकुद प्रतियोगितामा बेटिङ प्रचार नभई आफ्नो ब्रान्ड मात्रै प्रवर्द्धन गर्ने खड्काको दाबी छ । उनका अनुसार विगत पाँच/सात वर्षदेखि नेपालमा सरोगेट ब्रान्डहरू प्रयोग भइरहेका छन् । “आईसीसी र एसीसीले पनि सरोगेट ब्रान्ड प्रयोग गर्न पाउँछन्,” खड्काले भने, “देशको ऐन कानुन अनुसारको हामीले संरचना हेर्यौं भने आज पनि सरोगेट ब्रान्ड प्रयोग गर्न पाउने/नपाउने भन्ने डिफाइन भइसकेको छैन । त्यसको कानुनी बुँदा चाहिं छैन । यो सही हो वा होइन भनेर ।”
आईसीसीको मापदण्डअनुसार एसिसीको एन्टी-करप्सन युनिट लगायतका निकायले यस्ता गतिविधि निगरानी गर्ने खड्काले बताए । उनका अनुसार एनपीएलमा आठ फ्रेन्चाइज टिमका खेलाडी, प्रशिक्षक र टोलीका सदस्यहरूको कुनै अनैतिक क्रियाकलाप निगरानी गर्न सुरक्षा सम्पर्क अधिकृतहरू खटाइएका थिए । आईसीसीको भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिअनुसार यो कदम चालिएको खड्काले सुनाए ।
खड्काले अगाडि भने, “बेटिङलाई हामीले कहिले पनि प्रोमोट गरेका छैनौं । सरोगेसीबाट लगानी आइरहेकाले हामीले प्रयोग गरेका हौं ।”
यदि सरकारले यसमा पर्याप्त आर्थिक सहयोग प्रदान गरेको भए आफूहरूले सरोगेट ब्रान्डको आवश्यकता महसुस नगर्ने उनको भनाइ थियो । तर, विश्वव्यापी रूपमा सरोगेट ब्रान्डको निगरानी गर्ने प्रवृत्तिलाई हेर्दा सरोगेट ब्रान्ड प्रचार गर्ने आधार दिनुपर्ने उनले तर्क गरे ।
खड्काले सरोगेट ब्रान्डमार्फत आउने रकमको निगरानी गर्ने प्रक्रिया तयार गर्नुपर्नेमा जोड दिए । “सरोगेट ब्रान्डबाट लगानी आउँछ । बरु त्यो लगानी आउने मनिटरिङ प्रोसेस बनाउँन,” उनले थपे । यो संवेदनशील विषय भएकोले राज्यले यस विषयमा कानुन निर्माण गर्ने वा लगानीका लागि वैकल्पिक उपाय उपलब्ध गराउने पहल गर्नुपर्ने आवश्यकतामा खड्काले जोड दिएका छन् ।
नेपालको सबैभन्दा ठूलो घरेलु लिग एनपीएल सफलतापूर्वक सम्पन्न भए पनि विवादरहित हुन सकेन । खासगरी यस लिगमा प्रयोजकका रूपमा आएको उल्फ ७७७ न्युजको पृष्ठभूमि नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजीसँग जोडिएकाले विवादित बनेको थियो । एनपीएलमा सहभागी आठ टिममध्ये तीन टिम लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सको जर्सीमै अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार गरिएको थियो । जर्सीमा बेटिङ प्लेटफर्मको प्रचार भएपछि सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका इङ्लिस ब्याट्सम्यान सेफ अलि जेबले टेप टाँसेर खेलेका थिए ।