काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट एक हप्तादेखि इन्डोनेसियाली ह्याकरको कब्जामा रहेको पाइएको छ । इन्डोनेसियाली ह्याकरको समूह ‘मनाडो मेगा टिम’ले वेबसाइट एक सातादेखि नियन्त्रणमा लिएको हो ।
ह्याकरले प्राधिकरणको वेबसाइट नियन्त्रणमा लिएर अनलाइन सट्टेबाजी प्लेटफर्मको विज्ञापन गरिरहेका छन् । नेपालमा अनलाइन बेटिङ प्लेटफर्म अवैध छ । इन्टरनेटमा यस्ता अवैध साइट बन्द गर्ने निर्देशन दिने निकाय प्राधिकरण हो । ह्याकरले यही निकायको वेबसाइट ह्याक गरी त्यसैमा खुलेआम बेटिङ साइटको प्रचार गरेको हो ।
प्रचार भइरहेको बेटिङ प्लेटफर्म ‘आईडेटोटो’ हो । यस प्लेटफर्मले आफूलाई हङकङ, सिङ्गापुर र सिड्नीको सबैभन्दा ठूलो सट्टेबाजी साइट भएको दाबी गरेको छ ।
प्राधिकरणको मुख्य डोमेन ‘nta.gov.np’ को पेज ‘Source’ भित्र यस्ता विज्ञापनका सयौं पेजहरू राखिएका छन् । एउटा पेजमा त इन्डोनेसियाली गीत राखिएको छ । त्यसको क्याप्सनमा इन्डोनेसियाली भाषामै लेखिएको छ, “यो सानो मन तिमीलाई रोक्न सक्दैन, जब तिमीलाई अरूसँग देख्छु। तर, म बुझ्छु कि म तिम्रो कोही पनि होइन…।”
गुगलमा ‘site:nta.gov.np/source/’ सर्च गर्नुभयो भने ह्याकरले तीन सयभन्दा बढी पेजमा अनलाइन बेटिङको विज्ञापन राखेको देखिन्छ ।
एक साइबर सुरक्षा अनुसन्धानकर्ताका अनुसार ह्याकरले प्राधिकरणको कुनै पेजभित्र कमजोरी पत्ता लगाएर त्यसैबाट मुख्य साइटमा पुगेका हुनसक्ने देखिएको छ । “३०० भन्दा बढी पेजमै अनलाइन बेटिङको प्रचार भइरहेको छ,” उनले भने, “यो मुख्य वेबसाइट ह्याक नगरी सम्भव हुँदैन ।”
गुगल सर्चमा बेटिङको प्रोमोसन भएको लिङ्क छ दिनअघि राखिएको देखिन्छ । त्यसैका आधारमा ह्याकरले एक हप्तादेखि नियन्त्रणमा लिएको अनुमान गरिएको छ । प्राधिकरण नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय हो ।