काठमाडौं । दिपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ युट्युबमा प्रदर्शनमा आउने भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक रौनियारले फिल्म युट्युबमा सार्वजनिक हुन लागेको जानकारी दिएका हुन् ।
सन् २०१६ मा पहिलोपटक हलमा प्रदर्शनमा आएको फिल्म सोही वर्षको अस्कर अवार्डका लागि समेत छनोट भएकाे थियो । तर, विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको लागि प्रतिस्पर्धा गरेको फिल्म उपाधिविहीन हुँदै बाहिरिएको थियो ।
८८ मिनेट लामो यो फिल्म ७० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ। अस्कर अवार्डबाट बाहिरिएपछि फिल्मलाई हलहरूमा सन् २०१७ मा पुन: प्रदर्शनमा ल्याइएको थियो ।
सामाजिक कथामा बनेको फिल्ममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, आशा मगराती, अमृत परियार, सुमी मल्ल लगायतको अभिनय छ। यस फिल्मले माओवादी सशस्त्र जनयुद्धको समयपछिको कथालाई प्रस्तुत गरिएको छ ।