काठमाडौं । तपाईँले कुनै प्रतियोगितामा खेल जितिसकेका खेलाडीहरूको पछि पुरस्कार र मेडलहरू खोसिएको घटना सुन्नु भएको छ ? खेलको समयमा डोपिङ गरेको, नगरेको परीक्षण गर्दा पोजिटिभ देखिएमा उनीहरूको पुरस्कार नै खोसिएको घटना धेरै छन् ।
विभिन्न खेल खेल्ने खेलाडीहरूलाई विभिन्न औषधिहरू प्रतिबन्धित गरिएका हुन्छन् । त्यस्ता औषधि खेलाडीले प्रयोग गरेका छन् कि छैनन् भनेर खेल सुरु हुनुभन्दा अघि वा खेल सकिएपछि रगत वा पिसाब जाँच गरेर परीक्षण गरिन्छ । यदि प्रतियोगिताको समयमा स्वास्थ्य परीक्षणका क्रममा प्रतिबन्धित औषधि प्रयोग गरेको भेट्टिएमा खेलाडीको पुरस्कार खोसिने र लामोसमयसम्म खेलबाट प्रतिबन्ध समेत गर्ने गरिन्छ ।
तर, नेपालमा भने खेलाडीहरूलाई डोपिङको विषयमा धेरै जानकारी नै नभएको नेसनल एन्टी डोपिङ एजेन्सी (NADA) का संयोजक डा. अस्वीन भण्डारी बताउँछन् । त्यसैले हालसालै नाडाले यस सम्बन्धी खेलाडीहरूलाई जानकारी गराउन वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबसाइटमा एन्टी डोपिङका विषयमा मात्र जानकारी गराइँदैन । यदी कुनै खेलाडीहरुले डोपिङ गरेकाे भएमा रिपोर्ट पनि गर्न सकिने व्यवस्था छ ।
डोपिङ के हो ?
डा. भण्डारीका अनुसार सन् १९६७ मा एक साइक्लिस्ट (साइकल यात्री) ले खेलमा राम्रो प्रदर्शनका लागि सुपरम्यान ड्रगसमेत भनेर चिनिने ‘एमफेटामिनिन’ औषधि खाएर प्रतियोगितामा भाग लिएका थिए । उक्त औषधिको अत्यधिक प्रयोगले खेलाडीको मृत्यु भयो । खेलमा राम्रो प्रदर्शन गर्ने क्रममा विभिन्न औषधि प्रयोग हुने क्रम निकै बढेपछि १९९३ मा ‘वाडा’ (World Anti-Doping Agency,WADA) गठन भयो । यसले स्वच्छ प्रतियोगिताका लागि खेलाडीहरूलाई उनीहरूको खेलको प्रकृतिअनुसार औषधिहरू प्रतिबन्धित गर्यो । ती प्रतिबन्धित औषधिको प्रयोग गर्नुलाई ‘डोपिङ’ भनिन्छ ।
यस्तै नेपालमा पनि गत वर्ष (२०८०) मा एन्टिडोपिङ एजेन्सी गठन भयो । वाडाले विभिन्न देशमा रहेका एन्टिडोपिङ एजेन्सीहरूका लागि आठ वटा सीमा क्षेत्र राखेर काम गर्न मोनिटर गर्दै आएको छ । एन्टि डोपिङ एजेन्सीहरूको मुख्य काम भनेको खेलाडीहरूलाई डोपिङका विषयमा जानकार गराउनु हो ।
डोपिङ गरेको पत्ता लागेमा गरिने कारबाही खेलाडीको जीवनमा ठूलो कारबाही हुने संयोजक भण्डारी बताउँछन् । उनी भन्छन्, “तर कोही खेलाडीहरूलाई के गर्यो भने फसिन्छ भन्ने थाहा नै छैन । राष्ट्रिय खेलाडीहरूलाई नै कस्ता औषधि खान हुन्छ कस्ता खान हुँदैन भनेर जानकारी छैन । खेलको क्रममा प्रतिबन्धित औषधि खाएको पत्ता लाग्यो भने उहाँहरूले जितेको सम्पूर्ण मेडल, पुरस्कार फिर्ता गर्नुपर्छ । दुई वर्षसम्म क्रिकेट खेलाडी ब्यान्ड भएको छ भने उसले क्रिकेटमात्र नभइ फुटबल, भटबल, बास्केटबल केही पनि खेल्न पाउँदैन । ब्यान्ड भएको खेलाडीसँग खेल्ने अर्को खेलाडी पनि फस्न सक्छन् ।”
डोपिङसम्बन्धी कानुनका विषयमा खेलाडीहरूलाई जानकारी दिन वाडाको प्रोटोकल अनुसार वेबसाइट बनाइएको उनले जानकारी दिए ।
वेबसाइटमा के छ ?
nadanepal.gov.np मा गएर एन्टी-डोपिङबारे जानकारी लिन सकिन्छ । त्यहाँ डोपिङ भनेको के हो, कुन कुन औषधि प्रयोग गर्न खेलाडीहरूलाई प्रतिबन्धित गरिएको छ, एन्टी-डोपिङसँग सम्बन्धित नियमहरु, कारबाही आदि जानकारी पाउन सकिन्छ ।
यस्तै वेबसाइटमार्फत एन्टी-डोपिङ परिक्षण कसरी गरिन्छ, सप्लिमेन्ट प्रयोग गर्दाका जोखिमहरूका विषयमा जानकारी लिन सकिन्छ । यदि डोपिङसँग सम्बन्धित कुनै शंकास्पद घटना भएको जानकारी भएमा यो लिङ्कमा गई रिपोर्ट गर्न सकिन्छ ।