close

माघ १५ सम्म बिदा भन्दै टिकटकमा झुटो समाचार भाइरल

टेकपाना टेकपाना

पुस २९, २०८१ १४:३७

माघ १५ सम्म बिदा भन्दै टिकटकमा झुटो समाचार भाइरल

काठमाडौं । तपाईँले पनि टिकटकमा एचएमपीभी भाइरसका कारण विद्यालय बिदा हुन लागेको समाचार कतै देख्नु भयो ? पछिल्ला केही दिनयता टिकटक लगायतका सामाजिक सञ्जालमा एचएमपीभी भाइरस फैलिएको विषयमा भ्रामक सामग्री भाइरल भइरहेका छन् । 

टिकटकमा जय बी रावल नाम गरेको आईडीबाट ६ सेकेन्ड लामो भिडिओ राखिएको छ । जहाँ न्युज २४ नेपालको माघ १५ गतेसम्म बिदा भन्ने वाक्य समाचार वाचकले बोलिरहेको भिडिओ छ । भिडिओमा माघ १५ गतेसम्म बिदा हुने भनेर पनि लेखिएको देख्न सकिन्छ । समाचार तयार पार्दासम्म यो भिडिओमा ६४ लाख बढी भ्युज, तीन लाख भन्दा बढी लाइक, दुई हजार बढी कमेन्ट र ७२ हजारभन्दा बढी पटक शेयर गरिएको छ । 

 

भिडिओको तल्लोपट्टि ‘अन दिस डे, २०२२ जनवरी १०, तेस्रो महामारी फैलिँदै’ लेखिएको छ । उक्त भिडिओ हेर्दा नै कोरोना महामारीको समयको पुरानो भिडिओको प्रयोग गरेर अहिले भ्रम फैलाउन खोजिएको प्रस्ट हुन्छ । 

त्यस्तै युजर नेम ‘एलेक्स’ भएको टिकटक अकाउन्टबाट माघ १५ गतेसम्म विद्यालय बिदा गर्न र २५ जनाभन्दा धेरै भेला नहुन सीसीएमसीको सिफारिस भनिएको समाचारमा ११ सेकेन्ड लामो भिडिओ राखिएको छ । उक्त भिडिओमा एचएमपीभी भाइरससँग सम्बन्धित भएर नागरिकलाई स्वास्थ्य जाँच गर्न र भ्रामक सूचनामा नपर्न भनिएको जस्तो पोस्ट राखिएको छ । 

यो समाचार तयार पार्दासम्म उक्त भिडियो करिब चार लाख ८२ हजार भ्युज, १५ हजार लाइक, १०० बढी कमेन्ट र २८ सय भन्दा धेरै पटक शेयर गरिएको छ । 

यस्तै रूटिन अफ नेपाल बन्दको फेसबुक पेजबाट सीसीएमसीबाट विद्यालयभन्दा धेरै विद्यार्थी भेला नहुन र माघ १५ गतेसम्म बिदा भनिएका दुई ओटा पुराना पोस्टको स्क्रिनशट जोडेर अर्का एक प्रयोगकर्ताले भ्रामक जानकारी फैलाइरहेका छन् । दिनेश भ्लगर नाम भएका ती प्रयोगकर्ताले भिडिओमा क्याप्सनमा ‘कत्तिको खुसी हुनुहुन्छ त..?’ भन्दै राय बुझ्न खोजेका छन् । 

यसको ब्याकराउन्डमा पनि सोही विषयमा समाचार भनिएको छ । यी टिकटक भिडियोमा कतिपयले विश्वास गरेका छन् भने कतिपयले भ्रामक भन्दै खण्डन गरेका छन् । 

यी तीन भिडियोमा एउटा समानता छ ।  ब्याकराउन्डमा न्युज २४ को एउटै समाचार राखिएको छ । समाचारमा बिदाको लागि सिफारिस गर्ने संस्था सीसीएमसीको पूरा रूप हो, कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र । अर्थात, उक्त संस्थाले एचएमपीभी सङ्क्रमणसँग सम्बन्धित भएर बिदा गर्न सिफारिस दिएको भन्ने समाचार पत्यार लाग्दो देखिँदैन । 

त्यस्तै यस विषयमा स्वास्थ्य मन्त्रालयसँग बुझ्दा  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एचएमपीभी सङ्क्रमण फैलिएर बिदा सिफारिस भएको विषयमा कुनै जानकारी नभएको प्रस्ट पारे ।

शिक्षा मन्त्रालयले पनि १५ माघसम्म विद्यालय बिदा भन्ने कुनै सूचना ननिकालेको पुष्टि गरेको छ । मन्त्रालयको विद्यालय शिक्षा महाशाखाले माघ १५ गतेसम्म बिदा दिइएको समाचार साँचो नभएको जनाएको हो । 

भएको के हो ?

टिकटकमा विद्यालय बिदा भन्दै भाइरल गरिएको समाचार तीन वर्ष पुरानो हो । यसअघि २५ पुष २०७८ मा कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले कोरोनाको तेस्रो लहर फैलिन लागेको भन्दै विद्यालय बन्द गर्न र २५ जनाभन्दा बढी भेला नहुन अनुरोध गरेको थियो । सो सुझावपछि शिक्षा मन्त्रालयले १५ माघ २०७८ सम्म बिदा दिर्ने निर्णय गरेको थियो । 

पछिल्लो अध्यावधिक: पुस २९, २०८१ १५:३०