close

बन्द भएको १४ घण्टामै अमेरिकामा चल्न थाल्यो टिकटक

टेकपाना टेकपाना

माघ ७, २०८१ ८:२५

बन्द भएको १४ घण्टामै अमेरिकामा चल्न थाल्यो टिकटक

काठमाडौं । अमेरिकामा चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप टिकटकले आफ्नो सेवा पुन: सञ्चालनमा ल्याएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यसअघि लगाइएको प्रतिबन्ध नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा स्थगित भएपछि टिकटकले सेवा नियमित गरेको हो ।

शनिबारदेखि बन्द भएको टिकटक त्यसको १४ घण्टा अर्थात आइतबारदेखि पुन: सञ्चालनमा आएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । यसअघि अदालतले टिकटकमाथिको प्रतिबन्धलाई समर्थन गरेको थियो । त्यसैका कारण टिकटक आफैँले औपचारिक रूपमा प्रतिबन्ध लाग्नु अगावै आफ्नो सेवा बन्द गरेको थियो । तर, राष्ट्रपति ट्रम्पले आइतबार एक कार्यकारी आदेश जारी गर्दै प्रतिबन्धलाई स्थगित गर्ने बताएपछि टिकटकले सेवा पुन: सुरु गरेको हो ।

सेवा पुन: सुरु भएपछि टिकटकले प्रयोगकर्तालाई एउटा पपअप मेसेजमार्फत धन्यवाद दिएको छ, जसमा ट्रम्पको नाम उल्लेख गरिएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई ‘आवश्यक स्पष्टता र आश्वासन’ दिएकोमा धन्यवाद दिएको छ । साथै कम्पनीले अमेरिकी बजारमा टिक्न दीर्घकालीन समाधानका लागि सँगै काम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

यसैबिच टिकटकका सीईओ शोउ च्यु सोमबार हुने ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटक माथिको प्रतिबन्धलाई समर्थन गरेको थियो । यस निर्णयपछि आइतबारदेखि नयाँ कानुन लागु भएको थियो । उक्त कानुन अनुसार टिकटकले अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्नुपर्ने व्यवस्था थियो । तर, ट्रम्पले कार्यकारी आदेशमार्फत यो प्रतिबन्धलाई ९० दिनसम्म स्थगन गर्न सक्ने प्रावधानको उपयोग गर्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

टिकटक प्रतिबन्धको विषयमा ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीभित्र मतभेद देखिएको छ । ट्रम्पले टिकटकका लागि नरम नीति अपनाए पनि रिपब्लिकन नेताहरूले यो एपलाई अमेरिकामा पुन: सञ्चालन गर्न दिने कम्पनीहरू कानुनी कारबाहीको जोखिममा पर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । 

टिकटकको सेवा पुन: सुरु भए पनि तेस्रो पक्षका प्लेटफर्मले एप तथा प्ले स्टोरले एपलाई पुन: उपलब्ध गराउँछन् वा गराउँदैनन् भन्ने विषय स्पष्ट छैन । टिकटक प्रतिबन्धले अमेरिकी राजनीतिक परिदृश्यमा राष्ट्रिय सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता, र प्राविधिक व्यवसायको भूमिकालाई लिएर ठुलो बहस सिर्जना गरेको छ । अब ट्रम्प प्रशासनले यसबारे कसरी कदम चाल्छ भन्ने कुराले भविष्य निर्धारण गर्नेछ ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८१ ९:४७