काठमाडौं । आइतबार रातिदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा एक जना प्रहरी कर्मचारीले रातको समयमा सर्वसाधारणलाई निर्घात हुने गरी लात्ताले कुटेको भिडिओ भाइरल छ । भिडिओमा ड्युटीमा खटिएका बर्दीवाल प्रहरीले, “कोलाई फोन गर्ने ? पावर देखाको ? हँ ?” भन्दै युवकतिर गइरहेका देखिन्छन् ।
युवक ‘होइन दाइ’ भन्दै भाग्न खोज्छन् । तर, ती प्रहरीले फेला पारेर, बुट बजार्छन् । त्यसपछि युवक सडक पेटीमा लड्छन् । लडिसकेपछि पनि ती प्रहरी ‘कोलाई फोन गर्छस्' भन्दै लात बजारी रहन्छन् । २४ सेकेन्डको भिडिओमा लगभग १५ सेकेन्ड जति ती युवकले पिटाई खाइरहेको देखिन्छ ।
उक्त भिडिओ पहिलो पटक आइतबार राति १०ः१६ बजे सुजल नामको फेसबुक अकाउन्टबाट अपलोड भएको देखिन्छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “सरकारी गुन्डा (भुजेल) नाम गरेको पुलिस । अब यो पुलिसलाई गर्ने चाहिँ के नेपाल पुलिस ?”
अगाडि लेखिएको छ, “पावर लाउँछस् भन्दै कुकुरलाई जसरी हान्ने ? कति मायाले राखेको हुन्छ अरूको छोरालाई, यसरी हान्ने ? के हुँदैछ चितवनमा ?”
त्यस लगत्तै यस भिडिओले सामाजिक सञ्जाल तताइरहेको छ । एकातर्फ सामाजिक सञ्जाल प्रयोगकर्ता युवकको पक्षमा छन् भने केही थरी व्यक्ति प्रहरीको पक्षमा पनि देखिएका छन् । ड्युटीको समयमा गल्ती गर्दा पावरको धाक लगाएको भन्दै प्रहरीको रिस जायज भएको केहीको तर्क छ । तर, त्यसरी कुट्नु भने गलत भएको प्रहरीको समर्थकमा रहेका प्रयोगकर्ताको समेत भनाइ छ ।
अर्कोतर्फ प्रहरीले कसैलाई कुट्न पाउँदैन भन्दै यसरी रातको समयमा बुटले मरणासन्न हुनेगरी कुट्नु मानवीयता विपरीत रहेको केही सामाजिक सञ्जाल प्रयोगकर्ताको तर्क छ । सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि नेपाल प्रहरीको आधारिक सामाजिक सञ्जालको ह्यान्डलमा विज्ञप्ति नै राखिएको छ । उक्त विज्ञप्तिमा सो घटनाप्रति प्रहरी कार्यालयको ध्यानाकर्षण भएको उल्लेख छ ।
“चितवन जिल्ला भरतपुर म.न.पा. ११, बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा लेखिएको छ, “पदीय मर्यादा र आचरण विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने नेपाल प्रहरीको नीति अनुरूप घटनाको सत्य-तथ्य जाँचबुझ गर्ने प्रयोजनार्थ मिति २०८१।१०।०७ गते जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरी घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको ब्यहोरा जानकारी गराउँदछौँ ।”
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले यो घटना १५ पुसको भएको बताए । “त्यस दिन उनीहरूले मादक पदार्थ सेवन गरेको पाइएपछि चार सवारीसाधन सहित उनीहरूलाई कार्यालय ल्याइएको थियो,” टेकपानासँगको कुराकानीमा महतोले भने, “स्वाब परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो । त्यो दिन उहाँहरूले कुटपिट भएको विषय बाहिर ल्याउनु भएन ।”
प्रहरी नायब उपरीक्षक महतोका अनुसार पीडित भनिएका युवकले हालसम्म उजुरी भने दिएका छैनन् । यो घटनापछि उनलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा पनि आएका छैनन् । यद्यपि प्रहरीले आन्तरिक रूपमा अनुसन्धान अगाडि बढाएको महतोले बताए ।
भिडिओमा युवकलाई कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको खुलेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि उनलाई निलम्बन गरिएको महतोले जानकारी दिए ।