काठमाडौं । चर्चित युट्युबर तथा टिकटक स्टार मिस्टर बिस्टले टिकटक किन्ने औपचारिक प्रस्ताव अघि सारेका छन् । चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेका बेला मिस्टर बिस्टले लगानीकर्ताको समूह बनाएर टिकटक किन्न प्रस्ताव गरेका हुन् ।
सामाजिक सञ्जाल कम्पनी टिकटकलाई गैर-चिनियाँ मालिक खोज्नको लागि ७५ दिनको समयसीमा दिइएको छ । यदि तोकिएको समयमा टिकटकले नयाँ मालिक फेला नपारेमा यसलाई स्थायी रूपमा प्रतिबन्ध लगाइनेछ ।
मिस्टर बिस्टका रूपमा परिचित अमेरिकी नागरिक जिमी डोनाल्डसनले १३ जनवरीमा सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “ठीक छ, म टिकटक किन्छु ताकि यो प्रतिबन्धित नहोस् ।” उनको यो भनाई मजाकको रूपमा आए पनि उनले टिकटक किन्नका लागि गम्भीरता देखाएको उनका वकिलले बताएको सीएनएनले उल्लेख गरेको छ ।
मिस्टर बिस्ट र लगानीकर्ताको समूहको यो प्रस्ताव टिकटकका लागि पछिल्ला केही दिनमा आएको एक महत्त्वपूर्ण घटना हो । औपचारिक रूपमा आइतबारदेखि प्रतिबन्ध लाग्ने पक्का भएपछि टिकटक आफैँले शनिबार राति नै प्लेटफर्मलाई अमेरिकामा डाउन गरेको थियो ।
Okay fine, I’ll buy Tik Tok so it doesn’t get banned
तर राष्ट्रपति डोनल्ड ट्रम्पले ७५ दिनका लागि प्रतिबन्ध स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि टिकटक १२ घण्टापछि फेरि सञ्चालनमा आएको छ । एक्समा लेखेको दुई दिनपछि डोनाल्डसनले टिकटकमा एउटा भिडिओ पोस्ट गर्दै सामाजिक सञ्जाल प्लेटफर्म किन्ने आफ्नो मनसाय राखेका थिए ।
भिडिओमा उनले भनेका छन्, “मैले भर्खरै अर्बपतिसँगको बैठक सकेको छु । टिकटक, हामी व्यापार गर्न तयार छौं । मेरो वकिल यहीँ हुनुहुन्छ । हामीसँग तपाईंको लागि प्रस्ताव तयार छ । हामी यो प्लेटफर्म किन्न चाहन्छौँ ।”
अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई गैर-चिनियाँ कम्पनीलाई बेच्नुपर्ने वा प्रतिबन्ध लगाउन सकिने फैसला गरेपछि मिस्टर बिस्टले टिकटक किन्न प्रस्ताव गरेका हुन् । एम्प्लोयर डटकमका संस्थापक तथा सीईओ जेसी टिन्सलीको नेतृत्वमा रहेको लगानीकर्ता समूहमा संस्थागत लगानीकर्ता र धनाढ्यहरू छन् । उनीहरू यो एप बन्द भएको हेर्न चाहँदैनन् ।
लगानीकर्ता समूहका अनुसार यो प्रस्तावले टिकटकको सञ्चालनमा कुनै बाधा पुर्याउने छैन र यसले १७ करोड अमेरिकी प्रयोगकर्ताका लागि निरन्तरता सुनिश्चित गर्नेछ । टिन्सलीले एक विज्ञप्तिमा भनेका छन्, “हाम्रो प्रस्ताव एक विन-विन (दुवैको जीत) समाधान हो, जसले राष्ट्रिय सुरक्षा चिन्तालाई सम्बोधन गर्दै यो महत्त्वपूर्ण प्लेटफर्मलाई बचाउँछ ।”
यद्यपि विज्ञप्तिमा प्रस्तावित रकम भने खुलाइएको छैन । टिकटकले यस विषयमा कुनै प्रतिक्रिया दिएको पनि छैन । अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्ने विषय सन् २०२० देखि नै चर्चामा छ । त्यस बेला राष्ट्रपति ट्रम्पले नै टिकटकलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए ।
गत हप्ता सर्वोच्च अदालतले टिकटकलाई गैर-चिनियाँ कम्पनीलाई बेच्नुपर्ने फैसला सुनाएको थियो । त्यसपछि टिकटकले शनिबार एउटा मेसेज पठाउँदै भनेको थियो, “माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन । अमेरिकामा टिकटक प्रतिबन्धित गर्ने कानुन लागु भएको छ । दुर्भाग्यवश, यसको मतलब तपाईँले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न ।”
तर ट्रम्पले सोमबार कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि टिकटक पुन: सञ्चालनमा आएको थियो । कार्यकारी आदेशले टिकटक प्रतिबन्धलाई ७५ दिनको लागि पछि सारे पनि यसले स्थायी समाधान भने दिँदैन ।
टिकटकको मातृ कम्पनी बाइटडान्सले टिकटक बेच्ने मनसाय नभएको बताएको छ । तर अमेरिकी सरकारले बाइटडान्सलाई टिकटक बेच्न बाध्य पार्ने वा नयाँ कानुन ल्याउने सम्भावना रहेको छ ।
चिनियाँ अधिकारीले टिकटकको केही हिस्सा टेस्लाका मालिक एलन मस्कलाई बेच्ने विचार गरिरहेको वाल स्ट्रिट जर्नल र ब्लुमबर्गले उल्लेख गरेका छन्। यद्यपि यस विषयमा कुनै पनि पुष्टि भएको छैन । बिजनेस रियालिटी शो शार्क ट्याङ्कका केभिन ओलेरी र अर्बपति फ्र्याङ्क म्याककोर्टसहितको समूहले पनि टिकटक किन्न प्रस्ताव गरेको छ ।
उनीहरूले टिकटकको मूल्य करिब २० अर्ब डलर रहेको बताएका छन् । तर बाइटडान्सले प्रस्तावको समीक्षा नगरेसम्म उनीहरूले वित्तीय विवरण सार्वजनिक नगर्ने बताएका छन् । वेडबुश सेक्युरिटिजका विश्लेषक ड्यान आइभ्सका अनुसार टिकटकको अमेरिकी सम्पत्तिको मूल्य ४० देखि ५० अर्ब डलर अनुमान गरिएको छ ।