काठमाडौं । जापानी स्टार्टअप आर्कएजले निर्माण गरेको सानो क्युबस्याटले पृथ्वीको उच्च गुणस्तरको तस्बिर लिएको छ । कम्पनीले शुक्रबार एक ब्लग सार्वजनिक गर्दै स्याटलाइटले खिचेको पृथ्वीको फोटो सार्वजनिक गरेको हो ।
‘ओङ्लाइजस्याट’ नामक यस क्युबस्याटमा ताइवानको स्पेस एजेन्सी टासा तयार पारेको अफ-एक्सिस अप्टिकल सिस्टम प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसमा सटीक अल्टिचुड कन्ट्रोल, सीएमओएस टीडीआई (टाइम डिले एण्ड इन्टिग्रेसन) इमेज सेन्सर र इमेज कम्प्रेसन हार्डवेयर जडान गरिएको छ । यी सबै एउटा डेस्कटप कम्प्युटर वा सुटकेसको आकारको ‘सिक्स यू’ फर्म फ्याक्टरभित्र अटाइएको छ ।
यसले पृथ्वीको सतहबाट ४१० किलोमिटर माथिबाट तस्बिर लिएको जनाइएको छ । कम्पनीले सार्वजनिक गरेको ब्ल्याक एन्ड ह्वाइट तस्बिरमा अर्जेन्टिनाको सियाटल नजिकैका भवन र सडक जस्ता क्षेत्रहरू स्पष्ट रूपमा देखिन्छन् ।
यस स्याटलाइटले क्युबस्याटको श्रेणीमा संसारकै सबैभन्दा उच्च रेजोलुसन (स्पष्टता) भएको तस्बिर खिचेको दाबी गरिएको छ । आर्कएजका सीईओ ताकायोशी फुकुयोले रोयटर्सलाई बताएअनुसार यो प्रविधि भविष्यका मिसनहरूमा प्रयोग गरिनेछ । उनले भने, “यति सानो स्याटलाइटबाट लिइएको भए पनि तस्बिर हवाई फोटोग्राफी जत्तिकै स्पष्ट छन् ।”
ओङ्लाइजस्याट मिसनको उद्देश्य कक्षमा अप्टिकल प्रणाली प्रदर्शन गर्ने, टोकियो विश्वविद्यालयको भूमिकामा विकास भएको उचाइ नियन्त्रण प्रणाली परीक्षण गर्ने र टीडीआई र प्रोसेस इमेजहरू प्रमाणित गर्ने थियो । यी सबै परीक्षण सफल भएको कम्पनीको भनाइ छ । यो स्याटेलाइट गत नोभेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा पुर्याइएको थियो । त्यसपछि १० डिसेम्बरमा जापानी प्रयोग मोड्युल ‘किबो’ मार्फत यसलाई अन्तरिक्षमा छाडिएको थियो ।