काठमाडौं । ‘अमला काण्ड’ भन्दै भाइरल गराइएको झापाको शिवसताक्षी नगरपालिकाको घटनाको विषय संसदमा प्रवेश गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद हर्कमाया विश्वकर्माले सामाजिक सञ्जालमार्फत घटनामा जोडिएका नवजात शिशु र आमाको गोपनियता भङ्ग भएको भन्दै ध्यानाकर्षण गराएकी हुन् ।
उनले उक्त घटनालाई वर्णन गर्दै भनिन्, “२१ वर्षीय युवती विवाहित भएपनि पछिल्लो चार वर्षदेखि माइतीमै बस्दै आएकी रही छिन् । मानसिक रोगी भइ औषधी खाइरहेको अवस्थामा गत पुसमा एक सन्तानलाई जन्म दिइन् । जन्म दिएपछि बच्चाको बुबाको खोजी गर्दा सोही ठाउँका सङ्ग्रौला थरका ७९ वर्षीय वृद्धलाई बच्चाको बुबाको रूपमा देखाइयो ।”
उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा महिला र नवजात शिशुको गोपनियतामा ख्याल नराखि केही युट्युबरले खुलेआम अन्तर्वार्ता लिएको उनले अवगत गराइन् । उनले भनिन्, “बच्चाको बारेमा ज्योतिषहरूले भविष्यवाणी गरिरहेका छन् । टिकटकरहरूले भविष्यवाणी गरिरहेका छन् । समाजले मजाक उडाइरहेका छन् । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।”
यसअघि उक्त घटनालाई ‘अमला काण्ड’ का रूपमा प्रचार गर्दै अतिरञ्जित सामग्री प्रसारण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले स्पष्टीकरण सोधेको थियो । यस्तै मिडियाका रूपमा काउन्सिलमा दर्ता नभएका थप १६ युट्युब च्यानललाई अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाइएको छ ।