close

नवउद्यमीलाई नबिल बैंकको साथ: १८ दिने निःशुल्क तालिम, एक वर्षसम्म परामर्श

टेकपाना टेकपाना

फागुन २८, २०८१ १७:११

नवउद्यमीलाई नबिल बैंकको साथ: १८ दिने निःशुल्क तालिम, एक वर्षसम्म परामर्श

काठमाडौं । नवीन उद्यमशीलता सोच भएका व्यक्ति तथा व्यवसाय सञ्चालन गरिसकेका व्यवसायीहरूलाई लक्षित गर्दै नबिल बैंकले आवासीय तालिम तथा परामर्श प्रदान गर्ने भएको छ । ‘नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिप’ (नबिल एसएसई) फेलोशिप अन्तर्गत बैंकले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु भएको फेलोशिप कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने सोच भएका व्यक्ति सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित कार्यक्रम ६ महिनासम्म चल्नेछ । जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षसम्म परामर्श सेवा दिइनेछ ।

यस फेलोशिप कार्यक्रममार्फत हालसम्म तीन समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत एक हजार १८४ जनाले रोजगारी पाएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमअन्तर्गत हाल चौथो ब्याचका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् । नयाँ आवेदनमार्फत पनि देशभरबाट २० जना छनोट गरिने छ ।

१८ वर्ष उमेर पूरा भएको तथा व्यवसाय सुरु गरिसकेको वा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले आगामी २५ चैतसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरू सहभागी हुन सक्नेछन् ।

नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर अथवा यहाँ क्लिक गरी फेलोशिप कार्यक्रममा आवेदन दिन सकिने छ । साथै नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी ईमेलमार्फत पनि आवेदन दिन सकिने छ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८१ १७:२४