close

लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न समिति गठन हुँदै

टेकपाना टेकपाना

चैत ४, २०८१ ११:४७

लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न समिति गठन हुँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मूल्य निर्धारण गर्न समिति बनाउने भएको छ । अनुमतिपत्र रद्द भइसकेकोले नियामकले स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण गर्न लागेको हो ।

सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले समितिमा बस्न इच्छुक चार्टर्ड अकाउन्टेड (सीए)हरूलाई आफ्नो आशयपत्रसहित आवेदन दिन आग्रह गरेको छ । यसका लागि सीएको डिग्री प्राप्त गरेको तथा कम्तीमा १० वर्ष लेखापरीक्षकको रूपमा काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक सीएले अबको सात दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी आशयपत्र दर्ता गर्नुपर्ने छ । आवेदनमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण (बायो-डेटा), शैक्षिक प्रमाणपत्र तथा कार्य अनुभव पुष्टि गर्ने कागजात तथा स्मार्ट टेलिकमसँग कुनै संलग्नता नरहेको स्वघोषणा पत्र समावेश गर्नुपर्ने छ ।

नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित हुनुपर्ने छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, जमल, काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ ।

अर्बौंको सरकारी बक्यौता र नवीकरण दस्तुर बुझाउन नसकेपछि गत वर्षको वैशाखमा स्मार्ट टेलिकमको अनुमतिपत्र स्वतः रद्द भएको हो । यपछि प्राधिकरणले कम्पनीको सम्पत्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढाएपनि मूल्य निर्धारण समिति नै गठन हुन सकेको छैन । 

सरकारले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेपछि यसअघिको प्रक्रिया बीचैमा रोकिएको थियो । त्यस्तै, स्मार्टको सम्पत्ति लिलाम बिक्री गर्ने उद्देश्यका साथ नियामकले पटकपटक सम्पत्तिको मूल्य निर्धारण ​गर्ने प्रयास गरेपनि पर्याप्त आवेदन परेको थिएन ।

पछिल्लो अध्यावधिक: चैत ४, २०८१ १२:१२