close

क्यामेरा भएको एयरपड्ससँगै एआई चस्मा निर्माण गर्दै एप्पल, कहिले आउला बजारमा ?

टेकपाना टेकपाना

जेठ १०, २०८२ १०:४३

क्यामेरा भएको एयरपड्ससँगै एआई चस्मा निर्माण गर्दै एप्पल, कहिले आउला बजारमा ?

काठमाडौँ । एप्पलले मिक्स्ड रियालिटी हेडसेटको परीक्षणपछि अब मेटा रे-ब्यान जस्तै स्मार्ट चस्मा निर्माणमा सक्रियता बढाएको रिपोर्ट सार्वजनिक भएको छ । ब्लुमबर्गका प्रविधि विश्लेषक मार्क गर्म्यानले स्रोतलाई उद्धृत गर्दै एप्पलले चाँडै स्मार्ट चस्माको प्रोटोटाइप ल्याउने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार एप्पलको स्मार्ट चस्मा निर्माणको काम प्रोटोटाइप उत्पादन हुने चरणसम्म पुगेको र कम्पनीले आगामी वर्षको अन्त्यसम्म बजारमा ल्याउने योजना बनाएको छ । यो पहललाई एआई-इन्हान्स्ड ग्याजेटतर्फको ध्यान केन्द्रित गर्ने एप्पलको रणनीतिको रूपमा हेरिएको छ ।

ब्लुमबर्गको रिपोर्टअनुसार ‘एन५०’ कोडनेमबाट चिनिने उक्त प्रोजेक्ट अहिले ‘एन४०१’ अन्तर्गत राखिएको छ, जुन स्मार्ट उपकरणको फराकिलो समूहमा पर्छ । तर एप्पलले विगतमा यस्ता प्रोजेक्ट अचानक रद्द गर्ने इतिहाससमेत देखिएकाले यो प्रोजेक्ट पनि स्थायी हुने ग्यारेन्टी छैन ।

स्मार्ट चस्मामा क्यामेरा, माइक्रोफोन र स्पिकर हुने बताइएको छ । यसले वातावरणको विश्लेषण गर्नसक्ने र सिरीमार्फत भ्वाइस कमाण्ड बुझ्न सक्नेछ । यसबाट फोन कल गर्न, म्युजिक प्लेब्याक कन्ट्रोल गर्न, नेभिगेसनका लागि निर्देशन दिन तथा प्रत्यक्ष संवाद अनुवाद गर्न सकिने सुविधा रहने अनुमान गरिएको छ ।

ब्लुमबर्गका अनुसार यसै महिनाको सुरूमा एप्पलले स्मार्ट चस्माका लागि छुट्टै चिप निर्माण गर्ने काम आन्तरिक रूपमा अगाडि बढाएको र अर्को वर्षदेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ ।

त्यस्तै कम्पनीले क्यामेरा रहने एप्पल वाच र एप्पल वाच अल्ट्रा बनाउने प्रोजेक्टमाथि पनि काम गरिरहेको थियो । तर उक्त योजना गत साता रद्द भएको जानकारी समेत रिपोर्टमा उल्लेख गरिएको छ । अर्को रोचक कुरा, एप्पलले क्यामेरा भएको एयरपड्स विकास गर्नेतर्फ पनि ध्यान दिइरहेको बताइएको छ ।

एप्पल भिजन प्रो हेडसेटले अपेक्षा अनुसार बजार नपाएको र स्मार्टफोन अपग्रेड पनि क्रमशः सानो हुँदै गएको अवस्थामा कम्पनीले लगानी अन्य ‘वेयरेबल’ क्याटेगरीमा मोड्न थालेको संकेत देखिएको छ ।

तर, रिपोर्टले एप्पलको एआईसम्बन्धी कमजोरी यस चस्माको लोकप्रियतामा असर पुर्याउने सम्भावना औंल्याएको छ । जब कि मेटा र सामसङको आगामी स्मार्ट चस्मा लामा (LLaMA) र जेमिनाई जस्ता एडभान्स्ड एआई मोडेलमा आधारित हुनेछन् ।

हाल एप्पलले गुगल लेन्स र ओपनएआईको सोलुसन्स प्रयोग गरेर भिजुअल इन्टेलिजेन्स सेवा दिइरहेको छ । तर गुगलले हालै ‘Gemini Live with vision’ सबै प्रयोगकर्तालाई निःशुल्क रूपमा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

एप्पल स्मार्ट चस्मासम्बन्धी मुख्य काम भिजन प्रोडक्ट्स ग्रुपले गरिरहेको ब्लुमबर्गले उल्लेख गरेको छ । यो ग्रुपले एप्पल भिजन प्रो समेत विकास गरेको थियो । 

पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ ११:३८