close

ट्रम्पसँग झगडा गर्दा एकै रात साढे ४६ खर्बले घट्यो एलन मस्कको सम्पत्ति

टेकपाना टेकपाना

जेठ २३, २०८२ १३:१४

ट्रम्पसँग झगडा गर्दा एकै रात साढे ४६ खर्बले घट्यो एलन मस्कको सम्पत्ति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक विवादका कारण अर्बपति उद्यमी एलन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ । ट्रम्पसँगको ‘वाकयुद्ध’का कारण मस्कको विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको शेयरमा एकै रात भारी गिरावट आउँदा उनको सम्पत्ति ३३.९ अर्ब अमेरिकी डलर (४६ खर्ब ५७ अर्ब रुपैयाँ बढी) ले घटेको हो । 

ब्लुमबर्गका अनुसार बिहीबारअघि मस्कको सम्पत्ति ३६८.९ अर्ब डलर थियो । एकै रात उनको सम्पत्ति ३३.९ अर्ब डलरले घटेपछि अहिले ३३५ अर्ब डलर पुगेको छ । 

यस वर्षको सुरुदेखि हालसम्म उनको सम्पत्तिमा कुल ९७.९ अर्ब डलरले कमी आइसकेको छ । यद्यपि ३३५ अर्ब डलरको कुल सम्पत्तिका साथ मस्क अझै पनि धनाढ्य सूचीको पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका मेटाका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति २४१ अर्ब डलर रहेको छ ।

बिहीबार टेस्लाको शेयर १४.२६ प्रतिशतले घटेर प्रतिशेयर २८४.७० डलरमा बन्द भयो । यससँगै मस्कको सम्पत्ति खस्किएको हो । मस्कको कूल सम्पत्ति टेस्ला, स्पेसएक्स, एक्स एआई, एक्स कर्प, न्युरालिङ्क जस्ता कम्पनीमा निर्भर छ । 

ट्रम्पलाई राष्ट्रपति बनाउन महत्त्वपूर्ण भूमिका खेलेका मस्क हालै मात्र त्यहाँको सरकारी दक्षता विभाग (डज) बाट बिदाइ भएका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प्ले मस्कलाई सरकारको अनावश्यक खर्च कटौती गर्ने विशेष भूमिकामा राखेका थिए । डजको भूमिकाका कारण आफ्ना कम्पनीको वृद्धिमा असर पुगेको ठानेपछि मस्कले डजबाट बिदा लिएको घोषणा गरेका थिए । 

अहिले भने एक विधेयकको विषयलाई लिएर मस्क र ट्रम्पबिच विवाद चर्किएको छ । त्यही विवादका कारण लगानीकर्ता चिन्तित बनेपछि शेयर मूल्यमा यो गिरावट आएको हो । यसले कम्पनीको बजार मूल्याङ्कनमा करिब १५० अर्ब डलरले कमी आएको छ ।

यद्यपि शुक्रबारसम्म ९१७ अर्ब डलरको बजार मूल्यका साथ टेस्ला अझै पनि विश्वको सबैभन्दा मूल्यवान अटोमोबिल कम्पनीको रूपमा रहेको छ । मस्कले ट्रम्पको नयाँ कर विधेयकको कडा आलोचना गरेपछि यो विवाद सुरु भएको थियो ।

विद्युतीय सवारी खरिदमा दिइने कर छुट हटाएपछि मस्कले विधेयकको आलोचना गरेको ट्रम्पको आरोप छ । लगानीकर्तालाई उनीहरूको बिग्रँदो सम्बन्धले मस्कको विशाल व्यापारमा क्षति पुग्नसक्ने डर छ ।

ट्रम्पले मस्कका कम्पनीलाई दिइएको सरकारी ठेक्का रद्द गर्ने धम्की दिएपछि स्थिति थप गम्भीर बनेको छ । यस्तो कदमले टेस्ला र स्पेसएक्सको आम्दानीमा ठुलो असर पार्न सक्ने विज्ञहरूको विश्लेषण छ ।

ट्रम्पको जवाफमा मस्कले ‘लौ त, गरेर देखाऊ’ भन्दै चेतावनी दिएका थिए । उनले फाइनान्स विज्ञ स्वर्गीय जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलमा ट्रम्पको नाम रहेको दाबीसमेत गरे । मस्कले आफ्नो कम्पनी स्पेसएक्सले अन्तरिक्षमा अमेरिकाको महत्त्वपूर्ण पहुँचको माध्यम रहेको ड्र्यागन अन्तरिक्ष यानलाई सेवाबाट हटाउने घोषणा गरेका थिए । यद्यपि करिब पाँच घण्टापछि उनले आफ्नो निर्णय फिर्ता लिएका छन् ।

टेस्लाको शेयरमा आएको गिरावटले अमेरिकी शेयर बजारमा समेत असर परेको छ । विश्लेषकका अनुसार मस्कको सम्पत्तिमा देखिएको यो गिरावटले सबै क्षतिलाई समावेश गरेको छैन । खासगरी उनको निजी व्यवसाय जस्तै स्पेसएक्स र एक्सएआई होल्डिङ्सको मूल्यमा आएको सम्भावित गिरावट यसमा समावेश नभएकाले उनको सम्पत्तिमा थप गिरावट आएको हुन सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १३:४७