close

सगरमाथा पुगेर सार्वजनिक गरियो ‘अनर ४००’ सिरिज, प्रि-बुकिङमा विशेष अफर घोषणा

टेकपाना टेकपाना

जेठ २५, २०८२ ८:५८

सगरमाथा पुगेर सार्वजनिक गरियो ‘अनर ४००’ सिरिज, प्रि-बुकिङमा विशेष अफर घोषणा

काठमाडौँ । स्मार्टफोन ब्रान्ड अनरले आफ्नो नयाँ ‘अनर ४०० फाइभजी सिरिज’ विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट सार्वजनिक गरेको छ । शनिबार बिहान काठमाडौँबाट माउन्टेन फ्लाइटमार्फत उक्त क्षेत्रमा पुगेको अनर टिमले कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूको साथमा यो सिरिज सार्वजनिक गरेको हो ।

योसँगै विश्वकै सबैभन्दा उच्च स्थानबाट स्मार्टफोन सार्वजनिक गर्ने कीर्तिमान आफूले राखेको अनरले जनाएको छ । कार्यक्रममार्फत प्रविधिमा सीमाहीन सम्भावना रहेको सन्देश दिन खोजिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ‘अनर ४०० फाइभजी सिरिज’ अत्याधुनिक एआई प्रविधि, शक्तिशाली क्यामेरा, आकर्षक डिजाइन र शक्तिशाली ब्याट्री क्षमतासहित बजारमा आएको छ । विशेषगरी चुनौतीपूर्ण वातावरण र कठिन परिस्थितिलाई समेत सामना गर्न सक्ने विशेषतासहित यस सिरिज उत्पादन गरिएको कम्पनीको भनाइ छ ।

सिरिजमा तीन फरक मोडेल छन्- अनर ४०० प्रो फाइभजी, अनर ४०० फाइभजी र अनर ४०० लाइट फाइभजी ।

तीमध्ये अनर ४०० प्रो फाइभजीमा स्न्यापड्रागन एट जेन थ्री चिपसेट, २०० मेगापिक्सेल मुख्य क्यामेरा, ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स रहेको छ । यो मोडेलमा १०० वाट फास्ट चार्ज सपोर्टसहित ६००० एमएएच ब्याट्री छ । १५ मिनेटमा ५१ प्रतिशत चार्ज र ३९ मिनेटमा पूरै चार्ज हुने कम्पनीको दाबी छ ।

त्यसैगरी, अनर ४०० फाइभजीमा स्न्यापड्रागन सेभेन जेन थ्री चिपसेट, २०० मेगापिक्सेल मुख्य क्यामेरा र १२ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स रहेको छ । यसमा ६००० एमएएच वा केही भर्सनमा ५३०० एमएएच क्षमताको ब्याट्री छ, जसले ८० वाट चार्जिङ सपोर्ट गर्छ ।

अनर ४०० लाइट फाइभजीमा मिडियाटेक डाइमेन्सिटी प्रोसेसर, १०८ मेगापिक्सेल मुख्य क्यामेरा र ५ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स रहेको छ । यसमा ५२३० एमएएच ब्याट्री र ३५ वाट चार्ज सपोर्ट दिइएको छ ।

तीनै मोडेलमा नयाँ जेनेरेसनको एआई इन्हान्स्ड क्यामेरा सिस्टम  राखिएको छ । सगरमाथाबाट गरिएको विशेष लञ्चसँगै कम्पनीले यस सिरिजको प्रि-बुकिङ खुलाएको छ ।

अनर ४०० (१२ जीबी र्‍याम प्लस ५१२ जीबी स्टोरेज) को मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रि-बुकिङ गर्ने ग्राहकले अनर चोइस टू आई स्मार्टवाच र अनर एक्स सेभेन लाइट टीडब्लुएस निःशुल्क पाउनेछन् ।

अनर ४०० प्रो (१२ जीबी र्‍याम प्लस ५१२ जीबी स्टोरेज) को आधिकारिक मूल्य ८८ हजार ४९९ रुपैयाँ तोकिएको छ । प्रि-बुकिङमा १० हजार ९९९ रुपैयाँ मूल्य पर्ने अनर चोइस टू आई स्मार्टवाच र ९ हजार ९९९ रुपैयाँ बराबरको अनर क्लिप इयरबड्स निःशुल्क दिइनेछ ।

त्यसैगरी, अनर ४०० लाइट (८ जीबी र्‍याम प्लस २५६ जीबी स्टोरेज) को मूल्य ३९ हजार ९९९ रुपैयाँ राखिएको छ । यो फोन प्रि-बुक गर्दा अनर एक्स सेभेन लाइट इयरबड्स निःशुल्क प्राप्त हुने र शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाइने कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १०:४८