काठमाडौँ । नोकियाको पुरानो विश्वसनीयता बोकेको नयाँ स्मार्टफोन एचएमडी क्रेस्ट म्याक्स फाइभजी (HMD Crest Max 5G) स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । एचएमडी ग्लोबलले निर्माण गरेको यो बजेट स्मार्टफोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
सामान्य प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको यो फोनमा ६.६७ इन्चको फुल एचडी प्लस ओलेड डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट, पन्च-होल डिजाइन छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।
क्रेस्ट म्याक्स फाइभजीमा युनिसक टी७६० प्रोसेसर छ । सामान्य गेमिङ, मल्टिटास्किङ तथा सामाजिक सञ्जाल प्रयोगका लागि यो फोन उपयुक्त मानिएको छ । साथै, फोनमा ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ ।
एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ३३ वाट फास्ट चार्जिङ सुविधा छ । फोनलाई करिब डेढ घण्टामा फुल चार्ज गर्न सकिने र सामान्य प्रयोगमा डेढ दिनसम्म टिक्ने दाबी गरिएको छ ।
सुरक्षाका लागि साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, पिन र पासवर्ड विकल्प दिइएको छ भने कनेक्टिभिटीका लागि डुअल सिम सपोर्ट, डुअल ब्यान्ड वाई-फाई, ब्लुटुथ ५.० र ३.५ एमएम अडियो ज्याक छ ।
सस्तो मूल्यमा प्रिमियम लुक्ससहित आएको क्रेस्ट म्याक्स फाइभजीलाई एचएमडीले प्रयोगकर्ता आफैँले सजिलै मर्मत गर्न सक्ने 'हाई रिपेयरएबिलिटी' फोनको रुपमा प्रस्तुत गरेको छ । नेपाली बजारमा हाललाई यो फोन गाढा बैजनी (Deep Purple) रङमा मात्र उपलब्ध रहेको छ ।