close

हुलाक सेवालाई ईकमर्समा रूपान्तरण गरेर अरबौँ आम्दानी गर्न सकिन्छ: मन्त्री गुरुङ

टेकपाना टेकपाना

जेठ २४, २०८२ २१:४९

हुलाक सेवालाई ईकमर्समा रूपान्तरण गरेर अरबौँ आम्दानी गर्न सकिन्छ: मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई ईकमर्ससँग जोडेर आम्दानीको स्रोत बनाउने सम्भावना रहेको बताएका छन् । 

शनिबार विराटनगरमा आयोजित हुलाक सेवाको पुनःसंरचना विषयक कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले हुलाक सेवालाई मागीखाने संस्था नभई कमाइ गर्नसक्ने संस्थाको रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

“ईकमर्सको माध्यमबाट सेवासँगै आम्दानी गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुपर्ने छ,” मन्त्री गुरुङले भने, “सरकारले त्यसका लागि आवश्यक ऐन, कानुन र नीतिमा सुधार गरी प्रभावकारी बनाउन सक्छ ।”

कार्यक्रममा उनले हुलाक सेवा सुधारका लागि प्रविधिमैत्री जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै जनशक्तिको संरचना अद्यावधिक गर्न पनि निर्देशन दिए । “कार्यालय व्यवस्थापनमा कर्मचारी साथीहरू लाग्नुपर्छ,” उनले भने, “हुलाक प्रविधिमैत्री संस्था बन्नुपर्छ ।” 

जनतालाई अब सुन्दर नारा नभई काम चाहिएको र सरकार त्यसका लागि काम गरिरहेको उनको भनाइ थियो ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ २१:५०