close

आईटीमा करिअर बनाउन के पढ्ने, प्रोग्रामिङ नै गर्नुपर्छ ?

'पाइथन सिक्नुस्, अबको भविष्य नै यही प्रोग्रामिङ ल्याङ्ग्वेज हो'

कमलेश श्रेष्ठ कमलेश श्रेष्ठ

जेठ २६, २०८२ २०:७

आईटीमा करिअर बनाउन के पढ्ने, प्रोग्रामिङ नै गर्नुपर्छ ?

जब हामी ‘टेक इन्डस्ट्री’ भन्छौँ हाम्रो दिमागमा प्रायः सफ्टवेयर डेभलपमेन्ट, कोडिङ र एप बनाउने कामको चित्र आउँछ । तर, यसको परिभाषा र दायरा त्योभन्दा धेरै फराकिलो र गहिरो छ । प्रविधि आफैमा एउटा छुट्टै र शक्तिशाली उद्योग त हो नै । तर यो अन्य सबै उद्योगको मेरुदण्ड पनि हो । स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोगलाई हामी ‘हेल्थटेक’ भन्छौँ, शिक्षामा प्रयोग हुँदा ‘एडटेक’ भनिन्छ, वित्तमा ‘फिनटेक’ र कृषिमा ‘एग्रीटेक’ ।

यसरी हेर्दा प्रविधि उद्योग भनेको प्राविधिक सीप, तार्किक ज्ञान र व्यवस्थापकीय कौशलको एक सुन्दर र जटिल मिश्रण हो । यो एउटा विशाल छाता हो जसले सफ्टवेयर इन्जिनियरदेखि लिएर प्रोजेक्ट म्यानेजर, प्रोडक्ट म्यानेजर, क्वालिटी अस्योरेन्स (QA) विशेषज्ञ, बिजनेस एनालिस्ट, डेटा साइन्टिस्ट र यूआई/यूएक्स (UI/UX) डिजाइनर जस्ता अनगिन्ती भूमिकालाई ओगटेको छ ।

अझ रोचक कुरा त आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिको सहज पहुँचले अब उद्यमी बन्ने सपनालाई झनै यथार्थपरक बनाएको छ । आज एकै व्यक्तिले पनि कम्पनी सुरु गर्न सक्ने अवस्था छ, जसलाई हामी ‘सोलो-फाउन्डर’ भन्छौँ ।

जसरी विगतमा ‘गिग इकोनोमी’ (स्वतन्त्र रूपमा काम गर्ने संस्कृति) एउटा छुट्टै उद्योगको रूपमा स्थापित भयो, मलाई विश्वास छ भविष्यमा ‘कोडिङ इकोनोमी’ पनि एउटा जीवन्त क्षेत्रको रूपमा उदाउनेछ । त्यहाँ प्रतिभाशाली व्यक्तिले भौगोलिक सिमानाभन्दा माथि उठेर स्वतन्त्र रूपमा प्रोजेक्टमा काम गर्नेछन् ।

+२ पछि प्रविधिमा करियर: कहाँबाट सुरु गर्ने?

प्लस टु सकेपछि धेरै विद्यार्थीमा कुन बाटो रोज्ने भन्ने अन्योल हुन्छ । प्रविधि क्षेत्रमा रुचि हुनेहरूका लागि यहाँ केही प्रमुख मार्गहरू छन्:

१. यूआई/यूएक्स (UI/UX) डिजाइनिङ

म आफैँ पनि एक यूआई/यूएक्स UI/UX डिजाइनर हुँ । सरल भाषामा भन्नुपर्दा, कुनै पनि वेबसाइट वा एप बनाउँदा प्रयोगकर्तालाई चलाउन कत्तिको सजिलो, सहज र आकर्षक हुन्छ भन्ने कुराको डिजाइन गर्नु नै यूआई/यूएक्स डिजाइनिङ हो । यसमा प्रयोगकर्ताको समस्या पहिचान गर्ने र त्यसलाई डिजिटल डिजाइन (User Interface) मा उतार्ने काम गरिन्छ ।

यो एक ‘क्रस-फङ्सनल’ भूमिका हो । अर्थात् यसका लागि कुनै एउटा मात्रै शैक्षिक पृष्ठभूमि चाहिन्छ भन्ने छैन । तर, विज्ञान पढ्नुभएको छ भने तपाईंलाई केही फाइदा हुन सक्छ किनकि डिजाइनमा थोरै गणित र भौतिकशास्त्रका सिद्धान्त पनि प्रयोग हुन्छन् ।

तर यदि तपाईंको रुचि व्यवस्थापन (Management) वा व्यापार (Business) मा छ भने पनि चिन्ता लिनुपर्दैन । यूआई/यूएक्समा दुई पाटा हुन्छन्: प्रयोगकर्ताको अनुभव र व्यापारको लक्ष्य । बिजनेस पढेको व्यक्तिले व्यापारिक पाटोबाट डिजाइनलाई बलियो बनाउन सक्छ भने विज्ञान पढेको व्यक्तिले प्राविधिक पक्षबाट । दुवै मार्ग उत्तिकै सान्दर्भिक छन् ।

२. प्रोग्रामिङ र डेभलपमेन्ट:

यदि तपाईंलाई कोडिङ र इन्जिनियरिङमा रुचि छ भने प्रोग्रामिङ तपाईंको लागि सही बाटो हो । यसका लागि तपाईंले पाइथन, जाभास्क्रिप्ट, जाभा जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ ।

  • फुल-स्ट्याक डेभलपमेन्ट: आजको समयमा यो सबैभन्दा बढी माग भएको भूमिकामध्ये एक हो । फुल-स्ट्याक डेभलपरले वेबसाइट वा एप्लिकेसनको तीन ओटै तहमा काम गर्छ:

    • फ्रन्ट-एन्ड (Front-end): प्रयोगकर्ताले देख्ने र चलाउने भाग ।

    • ब्याक-एन्ड (Back-end): सिस्टमको पछाडि चल्ने लजिक र डेटाबेस ।

    • सर्भर/डेभअप्स (DevOps): एप्लिकेसनलाई होस्ट र मर्मत गर्ने प्रणाली ।

  • अहिलेको बजारमा फुल-स्ट्याक बन्नका लागि एमईआरएन (MERN) स्ट्याक (MongoDB, Express.js, React, Node.js) जुन जाभास्क्रिप्टमा आधारित छ वा पाइथन र यसको फ्रेमवर्क ज्याङ्गो (Django) सिक्नु उत्तम विकल्प हुन सक्छ । पाइथन एउटा बहुउपयोगी (versatile) ल्याङ्ग्वेज हो जसले तपाईंलाई वेब डेभलपमेन्टदेखि डेटा साइन्स र एआईसम्मका ढोका खोलिदिन्छ ।

३. नन-कोडिङ भूमिका

प्रविधिमा काम गर्न सधैँ कोडिङ नै जान्नुपर्छ भन्ने छैन । यदि तपाईंको रुचि व्यवस्थापन र रणनीतिमा छ भने निम्न भूमिका उपयुक्त हुन सक्छन्:

  • प्रोडक्ट म्यानेजमेन्ट/प्रोजेक्ट म्यानेजमेन्ट: कुनै उत्पादन वा परियोजनालाई सुरुदेखि अन्त्यसम्म डोर्‍याउने, टिमसँग समन्वय गर्ने र समयमै लक्ष्य पूरा गराउने काम यसमा पर्छ ।

  • क्वालिटी अस्योरेन्स (QA): सफ्टवेयर वा उत्पादनमा भएका त्रुटिहरू पत्ता लगाउने र गुणस्तर सुनिश्चित गर्ने ।

  • बिजनेस एनालिस्ट: कम्पनीको व्यापारिक आवश्यकता र प्राविधिक टिमबीच पुलको काम गर्ने ।

यी भूमिकाका लागि व्यवस्थापन संकाय (जस्तै बीबीए) पढेका विद्यार्थीहरूलाई फाइदा हुन्छ । साथै, स्क्रम मास्टर (Scrum Master) जस्ता सर्टिफिकेसनले तपाईंलाई सुरुवाती चरणमै यो क्षेत्रमा प्रवेश गर्न मद्दत गर्छन् ।

४. क्रिएटिभ भूमिका

यदि तपाईंको रुचि कला र सिर्जनशीलतामा छ भने भिडिओ एडिटिङ, अडियो एडिटिङ, एनिमेसन र ग्राफिक डिजाइनिङजस्ता क्षेत्रमा पनि प्रविधि उद्योगभित्रै रहेर काम गर्न सक्नुहुन्छ ।

औपचारिक शिक्षा: कुन विषय रोज्ने ?

नेपालका विश्वविद्यालयले प्रविधि क्षेत्रका लागि विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालन गरेका छन् । आउनुहोस् केही प्रमुख कोर्सबारे चर्चा गरौं:

  • बीएससीसीएसआईटी (B.Sc.CSIT): यो पूर्णतया इन्जिनियरिङ र प्राविधिक विषयमा केन्द्रित कोर्स हो । यदि तपाईंको लक्ष्य विशुद्ध प्राविधिक (Core Technical) भूमिकामा जाने हो भने यो उत्तम छनोट हो ।

  • बीआईएम (BIM - Bachelor of Information Management): यो प्रविधि र व्यवस्थापनको उत्कृष्ट मिश्रण हो । यदि तपाईं भविष्यमा टेक म्यानेजमेन्टको भूमिकामा जान चाहनुहुन्छ भने बीआईएम तपाईंका लागि सही हुन सक्छ ।

  • बीसीए (BCA - Bachelor of Computer Applications): बीसीएले प्राविधिक र व्यवस्थापकीय दुवै पक्षलाई सन्तुलनमा राख्छ । यसको पाठ्यक्रमले तपाईंलाई बिजनेस एनालिस्ट वा क्यूए जस्ता भूमिकाका लागि राम्रोसँग तयार गर्छ जहाँ प्राविधिक र व्यवस्थापकीय दुवै ज्ञान आवश्यक हुन्छ ।

  • कम्प्युटर इन्जिनियरिङ (BE Computer): यो पनि सीएसआईटी जस्तै प्राविधिक ज्ञानमा केन्द्रित कोर्स हो ।

खुसीको कुरा के छ भने तपाईंले जुनसुकै फ्याकल्टी रोजे पनि प्रविधि क्षेत्रका लागि चाहिने आधारभूत (Core) ज्ञान सबैमा पाउनुहुन्छ । सी-प्रोग्रामिङ जस्ता आधारभूत विषय सबैमा अनिवार्य हुन्छन् जसले तपाईंको प्रोग्रामिङको जग बसाल्न सहयोग गर्छ । त्यसैले कुनै एउटा पढ्दा अर्को छुट्छ कि भनेर चिन्ता लिनुपर्दैन ।

आफ्नो रुचिको अतिरिक्त विषय (Elective) छान्दा ध्यान दिनुहोला । जस्तै एनिमेसनमा रुचि छ भने ‘ह्युमन कम्प्युटर इन्टरयाक्सन (HCI)’ जस्तो मोड्युल लिन सक्नुहुन्छ जुन प्रायः सबै फ्याकल्टीमा उपलब्ध हुन्छ ।

अनलाइन कोर्स र सीप विकास

स्नातक तहको पढाइले जग बसाल्छ, तर आजको प्रतिस्पर्धी बजारमा टिक्न अतिरिक्त सीप अनिवार्य छ। यसका लागि अनलाइन कोर्सहरू (MOOCs - Massive Open Online Courses) वरदान साबित भएका छन् ।

  • युडेमी (Udemy): यहाँ जो-कोही विज्ञले कोर्स बनाएर राख्न सक्ने हुनाले विकल्प धेरै छन् तर गुणस्तर र विश्वसनीयता आफैँले जाँच्नुपर्ने हुन्छ ।

  • कोर्सेरा (Coursera): यहाँ प्रायः प्रतिष्ठित विश्वविद्यालय र ठूला कम्पनीका विज्ञले कोर्सहरू बनाउने हुनाले बढी विश्वसनीय मानिन्छ । यहाँबाट तपाईंले प्रोफेसनल सर्टिफिकेट र स्पेसलाइजेसन कोर्स गर्न सक्नुहुन्छ ।

यदि तपाईंलाई मेन्टरसिपसहित प्रत्यक्ष सिक्न मन छ भने नेपालमै रहेका विभिन्न ट्रेनिङ इन्स्टिच्युटमा पनि भर्ना हुन सक्नुहुन्छ ।

इन्टर्नसिप र पहिलो जागिर: कसरी तयार हुने ?

पढाइ सकिन लाग्दा वा सकिएपछि सबैको लक्ष्य एउटा राम्रो इन्टर्नसिप वा जुनियर लेभलको जागिर पाउनु हुन्छ । यसका लागि दुई ओटा कुरामा ध्यान दिनुहोस्:

१) धेरैभन्दा धेरै प्रोजेक्टहरू बनाउनुहोस् (Build Projects): मैले आफ्नो करियरको सुरुमा इन्टर्नसिप नगरी सीधै जुनियर तहमा काम पाएको थिएँ । त्यसका लागि मैले करिब १२ वटा वेबसाइट डिजाइन गरेको थिएँ । तपाईंले गर्नुभएको कामले तपाईंको क्षमता र लगाव दुवै देखाउँछ ।

२) मानिसहरूसँग कुराकानी गर्नुहोस् (Talk to People): नेटवर्किङ एकदमै महत्त्वपूर्ण छ । तपाईंले १० जनालाई सम्पर्क गर्दा दुई जनाले मात्रै जवाफ दिन सक्छन् तर हरेस नखानुहोस् । ह्याकाथन, बुट क्याम्पजस्ता कार्यक्रममा सहभागी हुनुहोस् । यसले तपाईंलाई एक ‘प्रोएक्टिभ’ व्यक्ति भनेर चिनाउँछ ।

सफ्ट स्किल र टेक्निकल स्किलको सन्तुलन
एउटा कटु सत्य के हो भने, ‘प्राविधिक सीप (Technical Skills) ले तपाईंलाई कम्पनीभित्र छिराउँछ तर सफ्ट स्किल (Soft Skills) ले तपाईंलाई कम्पनीमा माथि चढाउँछ ।’

म आफै पनि सुरुमा अन्तर्मुखी थिएँ । तर जब मैले सिनियर भूमिका लिन थालेँ, जहाँ क्लाइन्ट र टिमसँग नियमित संवाद गर्नुपर्थ्यो, मैले सफ्ट स्किलको महत्त्व बुझेँ । मैले धेरै पटक ५-६ वर्ष अनुभव भएका सिनियरलाई पनि आफूले गरेको कामबारे स्पष्टसँग व्याख्या गर्न नसकेको देखेको छु । यस्तो अवस्थामा उनीहरूको प्राविधिक ज्ञान जतिसुकै राम्रो भए पनि अगाडि बढ्न गाह्रो हुन्छ । त्यसैले सञ्चार, प्रस्तुतीकरण र टिमवर्कजस्ता सीपमा पनि उत्तिकै ध्यान दिनुहोस् ।

आफ्नो डिजिटल प्रोफाइल (पोर्टफोलियो) कसरी बनाउने ?

आजको युगमा तपाईंको अनलाइन उपस्थिति तपाईंको बायोडाटाभन्दा महत्त्वपूर्ण छ । तपाईंले गर्नुभएको कामलाई देखाउने प्लेटफर्मलाई नै हामी पोर्टफोलियो भन्छौं ।

  • लिङ्क्डइन (LinkedIn): यो तपाईंको प्रोफेसनल सोसल नेटवर्क हो । यहाँ आफ्नो प्रोफाइल बनाउनुहोस् । एउटा छोटो तर प्रभावशाली बायो लेख्नुहोस् जसमा तपाईं के गर्नुहुन्छ, केमा रुचि राख्नुहुन्छ र कसरी योगदान दिन सक्नुहुन्छ भन्ने स्पष्ट होस् । सबैभन्दा महत्त्वपूर्ण कुरा, सक्रिय रहनुहोस् । तपाईंले आज एउटा सानो बटन बनाउन सिक्नुभयो भने पनि त्यसलाई शेयर गर्नुहोस् । तपाईंले पढेको किताबबाट नयाँ कुरा सिक्नुभयो भने पनि शेयर गर्नुहोस् । तपाईंको हरेक सिर्जना र सिकाइ तपाईंको पोर्टफोलियो हो ।

  • गिटहब (GitHub): यदि तपाईं प्रोग्रामर हो भने गिटहब तपाईंको लागि अनिवार्य छ । यहाँ तपाईंले लेखेको कोड राख्न सक्नुहुन्छ । यसले ‘भर्सन कन्ट्रोल’ को काम गर्छ, अर्थात् तपाईंले हिजो, आज र भोलि गर्नुभएको कामको प्रगति देखाउँछ । यसबाट रोजगारदाताले तपाईंको सिक्ने प्रक्रिया र कोडिङ शैलीबारे थाहा पाउँछन् ।

  • बिहान्स (Behance): ग्राफिक, वेब वा यूआई/यूएक्स डिजाइनरका लागि यो आफ्नो काम प्रदर्शन गर्ने उत्कृष्ट प्लेटफर्म हो ।

  • व्यक्तिगत ब्लग/वेबसाइट: यदि तपाईं कन्टेन्ट राइटर हुनुहुन्छ भने आफ्नो लेखहरू प्रकाशित गर्न एउटा सामान्य वेबसाइट वा ब्लग बनाउन सक्नुहुन्छ ।

नेटवर्किङका लागि नेपाली कम्युनिटी:
फेसबुकमा तपाईंले आफ्नो रुचिको क्षेत्रअनुसार विभिन्न समूहहरू भेट्टाउन सक्नुहुन्छ । जस्तै:

  • Developers Nepal (DN): कोडिङ र डेभलपमेन्टसँग सम्बन्धित समूह ।

  • WordPress Nepal,  FlutterNepal: विशेष प्रविधिमा केन्द्रित समूह ।

  • IT Jobs Nepal, Pote Vancancy: जागिर खोज्नका लागि।

  • IT Entrepreneurs for Nepal: आईटी उद्यमीका लागि ।

  • Ask Buddies: आईटीका विभिन्न विषयमा छलफल गर्ने समूह ।

एआई (AI) को आगमन र भविष्यको तयारी

एआईको आगमनले प्रविधि क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । कतिपयले यसलाई जागिर खाने खतराको रूपमा हेरेका छन् । तर, म यसलाई एउटा रूपान्तरणको रूपमा हेर्छु । अबको समयमा सबैका लागि एउटा नयाँ प्रोग्रामिङ भाषा सिक्नु अनिवार्य भएको छ र त्यो भाषा हो – अङ्ग्रेजी ।

मेरो मतलब तपाईंले एआईलाई सही तरिकाले निर्देशन (Instruction) दिन जान्नुपर्छ जसलाई हामी ‘प्रम्प्ट इन्जिनियरिङ’ (Prompt Engineering) भन्छौं । तपाईंले जुनियर तहबाटै एआईलाई एक सिनियर जसरी काम लगाउन सिक्नुपर्छ । एउटा प्रभावकारी प्रम्प्टमा सामान्यतया चार ओटा कुरा हुन्छन्ः

१) पर्सोना (Persona): एआईलाई कसैको भूमिकामा काम गर्न लगाउने । (जस्तै: "Act as a professional scriptwriter.")

२) सन्दर्भ (Context): उसलाई अवस्थाबारे जानकारी दिने । (जस्तै: "...who is writing a suspense thriller.")

३)आदेश (Command): के गर्नुपर्ने हो त्यो स्पष्ट निर्देशन दिने । (जस्तै: "Write a 5-minute scene...")

४) ढाँचा (Format): कस्तो आउटपुट चाहिएको हो त्यसको संरचना बताउने । (जस्तै: "...in a standard screenplay format.")

यो सीपले तपाईंको उत्पादकत्वलाई कैयौं गुणा बढाउन सक्छ । एआईले तपाईंलाई प्रतिस्थापन गर्ने होइन बरु एआई प्रयोग गर्न जान्ने व्यक्तिले तपाईंलाई प्रतिस्थापन गर्न सक्छ ।

प्रविधिको यात्रा निरन्तर सिकाइको यात्रा हो । यहाँ हरेक दिन नयाँ कुरा आउँछ । हिजोको प्रविधि आज पुरानो हुन सक्छ । त्यसैले सफल हुनका लागि प्राविधिक ज्ञान, सफ्ट स्किल, सिर्जनशीलता र नयाँ कुरा सिक्ने तीव्र इच्छाशक्ति चाहिन्छ । आफ्नो जग बलियो बनाउनुहोस्, समुदायसँग जोडिनुहोस्, आफ्नो कामलाई विश्वसामु देखाउनुहोस् र परिवर्तनलाई अँगाल्न तयार हुनुहोस् । प्रविधिको यो फराकिलो आकाशमा तपाईंको उडान अवश्य सफल हुनेछ ।

(कमलेश श्रेष्ठ प्रविधि उद्योगमा १५ वर्षभन्दा लामो अनुभव भएका एक विज्ञ हुन् । आफ्नो करियर यात्रामा उनले वेब डिजाइनर, यूआई/यूएक्स विशेषज्ञ, लेक्चरर र प्राविधिक रिक्रुटर जस्ता बहुआयामिक भूमिकामा काम गरेका छन् । हाल उनी ब्रोडवे इन्फोसिसममा यूआई/यूएक्स ट्रेनरका रूपमा सक्रिय छन् । यो लेख पूर्वशिक्षामन्त्री तथा रास्वपा सांसद सुमना श्रेष्ठले आइतबार सञ्चालन गरेको ‘आईटी करियर काउन्सिलिङ’ कार्यक्रममा कमलेश श्रेष्ठले व्यक्त गरेको  विचारमा आधारित छ ।)

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ २०:२६