काठमाडौँ । कोशी प्रदेश सरकारले आफ्नै विद्युतीय अभिलेख केन्द्र अर्थात् डेटा सेन्टर स्थापना गर्ने भएको छ । आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशको आफ्नै डेटा सेन्टरको स्थापना गर्ने योजना अघि सारेका हुन् ।
प्रदेशका सूचना तथा तथ्याङ्कलाई सुरक्षित गर्न डेटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । यस्तै, प्रदेशबाट प्रवाह हुने सेवालाई छिटो, छरितो एवं विश्वसनीय बनाउन विद्युतीय शासनको कार्यान्वयन गर्ने व्यवस्था मिलाइने छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कूल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।