close

फ्याक्टचेक: प्लास्टिक सर्जरीपछि पूर्वप्रेमीसँग विवाह गरेर ११ करोड लिई युवती भागेको दाबी झुटो

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

साउन २, २०८२ १८:२२

फ्याक्टचेक: प्लास्टिक सर्जरीपछि पूर्वप्रेमीसँग विवाह गरेर ११ करोड लिई युवती भागेको दाबी झुटो

काठमाडौँ । भारतको नयाँ दिल्लीकी एक युवतीले प्लास्टिक सर्जरी गरी पूर्व प्रेमीसँग विवाह गरेर बदला लिएको भन्दै यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भइरहेको छ । ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ सहितका नेपाली फेसबुक पेजहरूले ‘नराम्रो’ भन्दै ब्रेकअप गर्ने पूर्वप्रेमीसँग युवतीले प्लास्टिक सर्जरी गरेर विवाह गरेको र सबै सम्पत्ति लिएर फरार भएको दाबीसहित पोस्ट गरेका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बदला लिने अनौठो तरिकाको रूपमा लिँदै उक्त पोस्टमा कमेन्टका साथै लाइक-शेयर गरिरहेका छन् । उक्त पोस्टमा मानिसहरूको चासो देखेर टेकपानाले घटनाको तथ्यजाँच गरेको छ । यसक्रममा उक्त पोस्टमा भनिएको जस्तो घटना नै नभएको र सबै दाबीहरू झुटो रहेको पाइयो । 

दाबी 

सामाजिक सञ्जाल फेुसबुकमा ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ नामक फेसबुक पेजले १२ जुलाई साँझ ६:५८ मा एउटा पोस्ट गर्‍यो । उक्त पोस्टमा भनिएको छ, “Do You Know: केहि वर्ष अघि भारतको New Delhi बस्ने एकजना केटिले आफ्नो Boyfriend ले नराम्रो भनेर छोडेपछि Plastic Surgery गरेर फेरि त्यहि ब्वाइफ्रेन्ड सँग बिहे गरेर सबै सम्पति (नेपाली 11 Crore) लिएर फरार भएकी थिईन।” 

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १० हजारभन्दा धेरै रियाक्सन गरिएको छ भने ३८० भन्दा धेरै कमेन्ट र २८ पटक शेयर गरिएको छ ।

अनुसन्धान 

उक्त पोस्टपछि हामीले फेसबुकमा “New Delhi बस्ने एकजना केटिले आफ्नो Boyfriend ले नराम्रो भनेर छोडेपछि Plastic Surgery गरेर फेरि त्यहि ब्वाइफ्रेन्ड सँग बिहे गरेर सबै सम्पति (नेपाली 11 Crore) लिएर फरार” राखेर गुगल र फेसबुकमा सर्च गर्‍यौँ । 

यसरी खोज्दा ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ ले नै तीन वर्ष पहिले सोही दाबीसहित राखेको पूरानो पोस्ट फेला पर्‍यो । ४ सेप्टेम्बर २०२२ मा राखिएको उक्त पोस्टमा पनि १० हजार बढी लाइक छ ।

४ सेप्टेम्बर २०२२ मै ‘आरओई नेटवर्क’ नामक फेसबुक पेजले पनि सोही पोस्ट गरेको फेला पर्‍यो । ६ हजार ७०० बढी लाइक रहेको उक्त पोस्टमा लेखिएको छ, “Breakup पछि: भारतको New Delhi मा बस्ने एक जना केटिले आफ्नो Boyfriend ले नराम्रो भनेर छोडेपछि Plastic Surgery गरेर फेरि त्यहि ब्वाइफ्रेन्ड सँग बिहे गरेर सबै सम्पति लिएर फरार भएकी छिन्। Indian News का अनुसार उनले नेपाली 11Crore  को सम्पति लिएर भागेकी हुन।”


यस्तै, १८ अक्टोबर २०२३ मा ‘मनिष बानियाँ’ नामका फेसबुक प्रयोगकर्ताले ‘टीयू नोटिस’ ग्रुपमा पनि सोही स्ट्याटसहित पोस्ट राखेको भेटियो । उक्त पोस्टमा २ हजार २०० भन्दा बढी लाइक छ । 

यस्तै अङ्ग्रेजीमा “girl from New Delhi got plastic surgery after her boyfriend dumped her for being bad, married the same boyfriend again, and ran away with all her property‌” भनेर सर्च गर्दा “अनलाइन पत्रिका” नामक अङ्ग्रेजी भाषाको नेपाली अनलाइन न्युज पोर्टल फेला पर्‍यो । उक्त पोर्टलले पनि १३ जुलाईमा "She Glowed Up, Got Revenge, and Vanished!" शीर्षकमा सोही दाबी अङ्ग्रेजी भाषामा राखेको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र फोटो । 

 

माथि उल्लेखित विभिन्न पोस्टहरूले स्रोतको रूपमा ‘इन्डियन न्युज’ लाई लिएको छ । तर ‘इन्डियन न्युज’ नामको कुनै पत्रपत्रिका वा न्युज पोर्टल फेला परेन । यद्यपि इन्डियन न्युज नामका कयौँ फेसबुक पेज फेला परे ।

www.indiannews.com नामक वेबसाइटको सर्च उक्त वेबसाइटमा पहुँच गर्न सकिएन । indiannews.in नामको डोमेन बिक्रीका लागि राखेको पाइयो ।

‘प्लास्टिक सर्जरी Indiannews’, ‘plastic surgery indiannews’, ‘प्लास्टिक सर्जरी’, ‘प्लास्टिक सर्जरी करके पूर्व प्रेमी से बदला’, ‘Delhi girl plastic surgery scam’, ‘7 crore property fraud woman Delhi’ लगायतका किवोर्ड राखेर खोज्दा उक्त दाबीसँग मिल्ने कुनैपनि समाचारहरू फेला परेनन् । 

विभिन्न पोस्टमा दाबी गरिएको जस्तो पूर्व प्रेमिकाले प्लास्टिक सर्जरी गरेर ११ करोड नेपाली रुपैयाँ (६ करोड ८० हजार भारु बढी) भन्दा धेरै रकम लिएर बेपत्ता भएको दाबी वास्तविक भएमा भारतका मूलधारका मिडियामा पनि यो समाचार पनि प्रकाशित हुनुपर्ने हो । तर, कुनै मिडियामा यो घटनासँग सम्बन्धित समाचार सार्वजनिक भएका छैनन् । 

यस्तै, फेसबुक पेजहरूले गरेको दाबीमा नयाँ दिल्लीमा बस्ने केटीले उक्त ‘फ्रड’ गरेको बताइएको छ । तर, घटना कहिले भएको हो, प्लास्टिक सर्जरी गर्ने युवती को हुन्, उनले सम्पत्ति कसको लिएकी हुन्, कसरी उनले सम्पत्ति हात पारिन् लगायतका सामान्य जानकारी पनि दिइएका छैनन् । यसले उक्त पोस्टमा विश्वास गर्न सकिँदैन । बरु यो मनगढन्ते कहानी बनाएर पोस्ट गरिएको देखिन्छ । 

दाबी 

भारतको नयाँ दिल्लीमा बस्ने एक जना केटीले प्रेमीले ‘नराम्रो’ भन्दै ब्रेकअप गरेपछि प्लास्टिक सर्जरी गरिन् । फेरि त्यही ब्वाइफ्रेन्डसँग बिहे गरेर उनको करिब सात करोड भारु बराबर सम्पत्ति हात पारेर फरार भइन् ।

दाबीकर्ता 

‘एनईबी रिजल्ट्स एन्ड न्युज’, ‘आरओई नेटवर्क’ लगायतका फेसबुक पेज, अनलाइन पत्रिका न्युज पोर्टल लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता 

तथ्य 

विभिन्न नेपाली फेसबुक पेजमा दाबी गरिएको जस्तो भारतमा आफूलाई नराम्रो भनेर प्रेम सम्बन्ध तोड्ने प्रेमीसँग बदला लिन प्लास्टिक सर्जरी गरेर विवाह गरेको र सम्पत्ति लिएर भागेको घटना सार्वजनिक भएको छैन । यस दाबीसँग मिल्दो जुल्दो समाचारहरू पनि भारतीय सञ्चारमाध्यमले लेखेका छैनन् ।

यस्तै, भाइरल पोस्टमा पनि यो घटना कहिलेको हो, घटनासँग जोडिएका व्यक्ति को हुन् लगायतका सामान्य जानकारी समेत दिन सकेका छैनन् । उक्त सूचनामा लिइएको स्रोत ‘इन्डियन न्युज’ नामको मिडिया पनि भारतमा छैन । त्यसैले सामाजिक सञ्जालमा भ्युज र इङ्गेजजमेन्ट बढाउनका लागि मनगढन्ते कथा बनाइएर उक्त पोस्ट गरिएको पुष्टि हुन्छ । 

निष्कर्ष

सामाजिक सञ्जाल फेसबुकमा ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ नामक फेसबुक पेजले १२ जुलाईमा साँझ ६:५८ मा एउटा पोस्ट गर्‍यो । उक्त पोस्टमा नयाँ दिल्लीको एक युवतीले केही वर्ष पहिले आफूलाई नराम्रो भनेर छाड्ने पूर्व प्रेमीसँग प्लास्टिक सर्जरी गरेर विवाह गरेको र पछि सबै सम्पत्ति लिएर फरार भएको दाबी गर्‍यो ।

उक्त दाबीलाई टेकपानाले तथ्य जाँच गर्ने क्रममा ‘आरओई नेटवर्क’ लगायतका फेसबुक पेजले करिब ३ वर्ष पहिले नै उक्त दाबी सहित फेसबुक पोस्ट राखेको फेला पार्‍यो । उक्त दाबीलाई “अनलाइन पत्रिका” नामक न्युज पोर्टल सहित नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राखिएको भेटिएको छ । 

‘आरओई नेटवर्क’ लगायतका केही फेसबुक पेजले उक्त जानकारी ‘इन्डियन न्युज’ नामक फेसबुक पेजबाट लिएको उल्लेख गरेका छन् । तर, भारतमा इन्डिया न्युज नामका कुनै पत्रिका वा न्युज पोर्टल नै छैनन् ।

यस्तै भारतका अन्य मूलधारका मिडियाले पनि दाबी गरिए जस्तो प्लास्टिक सर्जरी गरेर पूर्व प्रेमीसँग विवाह गरेर बदला लिएको लगायतका विषयसँग सम्बन्धित समाचारहरू लेखेको पाइएन । दाबीमा पनि उक्त घटना कुन समयमा, कहाँ घटेको र युवती को हुन्, उनका पूर्व प्रेमी को हुन् लगायतका जानकारी समावेश गरिएका छैनन् । त्यसैले उक्त दाबी मनगढन्ते र झुटो भएको प्रमाणित हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:२५