काठमाडौँ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सन् २०२५ दोस्रो त्रैमासिकको वित्तीय रिपोर्टले कम्पनीको निराशाजनक अवस्थालाई देखाएको छ । कम्पनीको नाफामा धेरै कमी आएको छ भने बिक्रीको अवस्था पनि सन्तोषजनक छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएका नीतिका कारण कम्पनीको आगामी दिन थप संकटमा हुनसक्ने कम्पनीले स्वीकार गरेको छ ।
टेस्लाले यो त्रैमासिकमा १.१७ अर्ब डलर खुद नाफा गरेको छ । यो २०२४ को सोही अवधिको तुलनामा १६.३ प्रतिशतले कम हो । आम्दानी पनि १२ प्रतिशतले घटेर २२.५ अर्ब डलरमा झरेको छ । गत वर्ष यही अवधिमा २५.५ अर्ब डलर आम्दानी थियो । यो सँगै टेस्लाको नाफा र आम्दानीमा लगातार दोस्रो त्रैमासिक गिरावट हो ।
टेस्लाले माग बढाउनका लागि गाडीको मूल्य घटाउँदै र कम गाडीहरू बिक्री गरिरहेको छ । दोस्रो त्रैमासिकमा गाडीको डेलिभरी १३.५ प्रतिशतले घटेको छ । यसले कम्पनीको बिक्रीमा आएको गिरावटलाई देखाउँछ ।
टेस्लाको समस्या आर्थिक मात्र होइन । सीईओ एलन मस्क कर्पोरेट जगतका सबैभन्दा विवादास्पद व्यक्तित्वहरूमध्ये एक बनेका छन् । उनको राजनीतिक झुकावका कारण पनि उनी र उनको ब्रान्डप्रति विश्वव्यापी नकारात्मक छवि बन्यो । उनले डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ह्वाइ हाउसमा फर्काउन २९ करोड डलर खर्चिए भने ट्रम्पको नियुक्ति लगत्तै सरकारी दक्षता विभाग (DOGE) को प्रमुखको रुपमा सामेल भए । अहिले ट्रम्पसँग उनको सम्बन्ध चिसिएर कटुतापूर्ण अवस्थामा पुगेको छ ।
DOGE ले संघीय एजेन्सीहरूको बजेटमा आक्रामक रूपमा कटौती गर्न थालेपछि विश्वभरका टेस्ला शोरूम बाहिर विरोध प्रदर्शनहरू भए । ट्रम्पको समर्थक बन्दा मस्कले अमेरिकी र युरोपियन उदारवादी विरोधी छवि बनाए । यसकारण पनि टेस्लाको ब्राण्डमा धक्का पुगेको अनुमान छ ।
लगातार दोस्रो त्रैमासिक कम्पनीको आय र नाफा खुम्चिएपछि मस्कले यस्तो परिस्थिति अझैं रहन सक्ने स्वीकारेका छन् ।
टेस्लाको लागि आगामी बाटो थप चुनौतीपूर्ण देखिन्छ । राष्ट्रपति ट्रम्पले जुलाई ४ मा हस्ताक्षर गरेको “वन बिग ब्युटिफुल बिल” ले सेप्टेम्बर ३० देखि ७,५०० डलरको संघीय ईभी कर छुटलाई खारेज गर्दैछ । यसको अर्थ टेस्लाका गाडीहरू अब महँगो हुनेछन् ।
“वन बिग ब्युटिफुल बिलमा भएका धेरै परिवर्तनहरुले निकट भविष्यमा हाम्रो व्यवसायलाई असर गर्नेछ”, सीएफओ टेस्लाका वैभव तनेजाले विश्लेषकहरूलाई भने । अमेरिकाका लागि आफ्ना अधिकांश कारहरू क्यालिफोर्निया र टेक्सासमा उत्पादन गर्ने टेस्ला अझै पनि आयातित कच्चा पदार्थ र कम्पोनेन्टहरूमा धेरै निर्भर छ जसले गर्दा यो ट्यारिफ (कर) को जोखिममा छ ।
“हामीले ट्यारिफको असर देख्न थालिसकेका छौं,” तनेजाले भने । “त्रैमासिक रूपमा, ट्यारिफको लागत लगभग ३० करोड डलरले बढेको छ जसको लगभग दुई तिहाइ असर अटोमोटिभ र बाँकी ऊर्जा क्षेत्रमा परेको छ । तर, उत्पादन र बिक्रीमा लाग्ने समयका कारण यसको पूर्ण असर आउने त्रैमासिकहरूमा देखिनेछ ।”
पछिल्लो अध्यावधिक: साउन ८, २०८२ २२:२१
