close

टेस्लाको गाडीमा सामसङको चिप, दुई कम्पनीबिच साढे १६ अर्ब डलरको सम्झौता

टेकपाना टेकपाना

साउन १२, २०८२ २०:२२

टेस्लाको गाडीमा सामसङको चिप, दुई कम्पनीबिच साढे १६ अर्ब डलरको सम्झौता

 

काठमाडौँ । टेस्लाले सामसङ इलेक्ट्रोनिक्ससँग मिलेर चिप्स उत्पादन थाल्ने भएको छ । टेस्लाका सीईओ एलन मस्कले सामसङसँग १६ अर्ब ५० करोड अमेरिकी डलरबराबरको डिल भएको जानकारी गराएका छन् । 

दक्षिण कोरियाली टेक जायन्ट सामसङले अमेरिकाको टेक्सस प्लान्टबाटै ए१६ चिप्स उत्पादन गर्नेछ । जसलाई टेस्लाले आफ्नो चालकरहित विद्युतीय गाडीहरूमा प्रयोग गर्नेछ । गाडीका अन्य स्वचालित प्रणाली र सेन्सरहरुमा पनि सामसङले उत्पादन गर्ने चिप्स नै टेस्लाले प्रयोग गर्नेछ ।

सामसङले सरकारी निकायहरूमा कारोबारसम्बन्धी विवरण बुझाउने क्रममा स्थानीय समयअनुसार सोमबार बिहान यो डिलबारे चर्चा चल्न थालेको थियो । तर, त्यतिन्जेल सामसङले कुन कम्पनीसँग कारोबार गर्दैछ भन्ने यकिन भइसकेको थिएन । त्यसको केही घण्टा पछि टेस्लाका सीईओ मस्कले सामाजिक सञ्जाल एक्समा आफ्नो कम्पनी टेस्लाले सामसङसँग चिप्स उत्पादन र खरिदका लागि रणनीतिक सम्झौता गरेको सार्वजनिक गरेका थिए । सामसङले टेक्सस प्लान्टले घाटामा सञ्चालन भइरहेको छ ।

अहिले पनि सामसङको उक्त प्लान्टबाट मस्कको कम्पनीलाई ए१४ चिप्स बिक्री भइरहेको छ । टेस्लाको विद्युतीय गाडीका सेन्सर प्रणालीलगायतमा यो चिप प्रयोग हुँदै आएको छ । यो सम्झौतापछि भने प्लान्टबाट “नेक्स्ट जेनेरेसन ए१६” चिप्स उत्पादन हुन लागेको छ ।

सामसङले सरकारी निकायमा बुझाएको विवरणअनुसार टेस्ला र सामसङबीच शनिबार सम्झौता भएको भनिएको छ । मस्ककाअनुसार ए१५ चिप्स जसको डिजाइन प्रक्रिया भर्खरै सकिएको छ त्यसलाई टीएसएमसीले ताइवान र एरिजोनाबाट पनि उत्पादन थाल्दै छ ।

 

पछिल्लो अध्यावधिक: साउन १२, २०८२ २०:२२