काठमाडौँ । ह्वाट्सएपबाटै फेसबुक वा इन्स्टाग्राम अकाउन्टको प्रोफाइल फोटो “इम्पोर्ट” गर्न मिल्ने नयाँ फिचर आउने भएको छ । मेटाको फेसबुक, इन्स्टाग्रामलगायतका अन्य अकाउन्टमा रहेका प्रोफाइल फोटो ह्वाट्सएपमा तान्न मिल्ने सुविधा परीक्षण भइरहेको हो । “क्रस-प्ल्याटफर्म” फिचरको रुपमा ह्वाट्सएपले यसलाई परीक्षण गरिरहेको छ ।
हाललाई यो फिचर एन्ड्रोइड भर्सनमा परीक्षण भइरहेको छ । कम्पनीले आईओएस भर्सनबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।
ह्वाट्सएप फिचर ट्र्याकर डब्बूएबेटाइन्फोका (WABeta) अनुसार यो फिचर ह्वाट्सएप बेटाको रूपमा एन्ड्रोइड २.२५.२१.२३. को अंशको रूपमा ल्याएको छ । प्रयोगकर्ताहरूले यो भर्सन अपडेट गरेपछि फेसबुक र इन्स्टाग्रामबाट प्रोफाइल फोटो ह्वाट्सएपमा तान्न सक्ने छन् । यो फिचर ह्वाट्सएप सेटिङको प्रोफाइल सेक्सनमा पाइने छ ।
फोटो फेर्न प्रयोगकर्ताहरूले ह्वाट्सएपको प्रोफाइल फोटोमा थिचेर “एडिट अप्सन” मा जानुपर्छ । अहिलेसम्म ह्वाट्सएप प्रयोगकर्ताहरूले आफ्नो फोनको क्यामेराबाट फोटो खिच्न मिल्ने सुविधा मात्रै थियो वा फोनको ग्यालरीबाट फोटो तानेर प्रयोग गर्न मिल्थ्यो ।
अवतार वा मेटा एआई प्रयोग गरेर छुट्टै तस्विर प्रयोग गर्न मिल्थ्यो । अब भने ह्वाट्सएपका लागि फेसबुक वा इन्स्टाग्रामबाटै प्रोफाइल फोटो तान्न मिल्नेछ ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८२ २१:४०
