काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले हालको ‘प्लस’ सब्स्क्रिप्सनभन्दा सस्तो नयाँ पेड प्लान ल्याउने तयारी गरेको छ । ‘गो’ नाम दिइएको यो योजनाले प्रयोगकर्ताहरूलाई कम शुल्कमा च्याटजीपीटीका प्रिमियम सुविधा प्रयोग गर्ने अवसर दिने बताइएको छ । हाल ‘प्लस’ प्लानको लागि मासिक २० डलर (अनुमानित २७ सय नेपाली रुपैयाँ) तिर्नुपर्छ ।
यो जानकारी टिबोर भाहो नामक एक टिप्सटरले सामाजिक सञ्जाल एक्समा लिक गरेका हुन् । उनले च्याटजीपीटीको वेब एपको कोडको एक स्क्रिनशट शेयर गर्दै ‘गो’ नामक सस्तो प्लान ओपनएआईको योजनामा रहेको दाबी गरेका छन् ।
‘गो’ प्लानमा के हुन सक्छ ?
चर्चामा रहेको ‘गो’ प्लानमा कुन-कुन सुविधाहरू उपलब्ध हुनेछन् भन्नेबारे विस्तृत जानकारी बाहिर आएको छैन । यद्यपि, अनुमान अनुसार यो सस्तो योजनामा ओ थ्री र ओ फोर मिनी हाइ जस्ता केही नयाँ मोडेलहरूमा पहुँच दिइनेछ । तर, एजेन्ट्स वा सोरा जस्ता एडभान्स्ड सुविधा यसमा नहुन सक्छन् ।
हाल ओपनएआईका दुई ओटा पेड प्लानहरू छन्- प्लस र प्रो । ‘प्लस’ प्लान नयाँ र पछिल्ला सुविधाहरू प्रयोग गर्न चाहने साधारण प्रयोगकर्ताहरूका लागि हो, जसको शुल्क मासिक २० डलर छ । अर्कोतर्फ, ‘प्रो’ प्लान डेभलपरहरूका लागि डिजाइन गरिएको हो । जसले च्याटजीपीटीका सबै टुलमा असीमित पहुँच दिन्छ । यसको लागत मासिक २०० डलर पर्छ ।
सस्तो ‘गो’ प्लानको चर्चासँगै ओपनएआईले च्याटजीपीटीको वेब संस्करणमा केही नयाँ सुविधाहरू पनि परीक्षण गरिरहेको देखिन्छ । यसमा 'फेभरेट्स' (मनपर्ने) सेक्सन 'पिन च्याट' (च्याट पिन गर्ने) अप्सन समावेश छन् । यद्यपि, यी परिवर्तनहरू हाल केही सीमित प्रयोगकर्ताहरूमा मात्र परीक्षण भइरहेको छ ।
Mentions of a new "ChatGPT Go" plan have been added to the ChatGPT web app pic.twitter.com/jY9JLaBlOU
— Tibor Blaho (@btibor91) August 1, 2025
जीपीटी-५ सँगै घोषणा हुन सक्ने
पछिल्ला केही महिनादेखि ओपनएआई आफ्नो सबैभन्दा शक्तिशाली लार्ज ल्याङ्ग्वेज मोडेल 'जीपीटी-फाइभ' सार्वजनिक गर्ने तयारीमा छ । यो नयाँ मोडेलमा मल्टी मोडेल (एकै पटकमा टेक्स्ट, तस्बिर र आवाज बुझ्न सक्ने) क्षमता हुने बताइएको छ । सुरक्षा चिन्ताका कारण यसको सार्वजनिक मिति पटक-पटक सर्दै आएको छ ।
‘गो’ प्लान 'जीपीटी-५' सँगै आधिकारिक रूपमा घोषणा हुन सक्ने सम्भावना छ । तर यसबारे यकिन जानकारी आइसकेको छैन ।
पछिल्लो अध्यावधिक: साउन १९, २०८२ १४:२८
