नेपालको सरकारी ठेक्का प्रणाली ‘ई-जीपी’ मा साइबर आक्रमण, ३ दिनदेखि सेवा अवरुद्ध
जेठ १९, २०८३ १३:५५
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) मा साइबर आक्रमण हुँदा विगत तीन दिनदेखि सेवा अवरुद्ध भएको छ । आक्रमणका कारण आइतबारदेखि नै उक्त वेबसाइट चल्न छाडेको हो ।
कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले साइबर आक्रमणका कारण प्रणालीमा समस्या आएको पुष्टि गरे । “प्रणालीमा साइबर आक्रमण भएकाले सुरक्षाका दृष्टिकोणबाट यसलाई नियन्त्रणमा लिन सरकारी आईटी र साइबर सुरक्षाको प्राविधिक टोली लागिपरेको छ,” उनले टेकपानासँग भने, “आइतबारदेखि नै सेवा अवरुद्ध भएकाले सेवाग्राहीलाई मर्का नपरोस् भनी अन्तिम म्याद रहेका ठेक्काको म्याद थप गरिएको छ । प्रणाली पुनः सञ्चालनमा आउनासाथ आवेदन दिन सकिनेछ ।”
प्रणालीमा कहाँबाट आक्रमण भएको र त्यसले के-कति क्षति पुर्याएको छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए ।
यसअघि पनि सरकारी ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काको विवरण तोडमोड गरेको आरोपमा सरकारी कर्मचारी र निर्माण व्यवसायी पक्राउ परेका थिए । पक्राउ परेका निर्माण व्यवसायी धरौटीमा छुटे पनि सो घटनाका मुख्य आरोपी सरकारी कर्मचारी दिवाकर देउजा पुर्पक्षका लागि थुनामा छन् ।
प्रवक्ता आचार्यले अघिल्लो घटना र हाल प्रणाली अवरुद्ध भएको घटनाबिच कुनै सम्बन्ध नरहेको दाबी गरे ।
प्रणाली बन्द भएपछि १९ जेठसम्म म्याद रहेका ठेक्काको अवधि २० जेठसम्म र २० जेठसम्म म्याद रहेका ठेक्काको अवधि २१ जेठसम्म थपिएको छ । यसअघि १८ जेठसम्म म्याद भएका ठेक्कालाई १९ जेठ र १९ जेठसम्म म्याद भएका ठेक्कालाई २० जेठसम्म सारिएको थियो ।
कार्यालयले जारी गरेको औपचारिक सूचनामा भने अत्यधिक ट्राफिकका कारण प्रणालीमा चाप बढेर पहुँच अवरुद्ध भएको उल्लेख छ । तर, प्रवक्ता आचार्यले साइबर आक्रमणकै कारण प्रणाली बन्द भएको र सेवा अवरुद्ध हुन पुगेको स्पष्ट पारेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ १४:१४
