close

क्रोममा सुरक्षाका लागि नयाँ फिचर, अब ह्याकरले चोर्न सक्ने छैन तपाईँको कुकी

टेकपाना टेकपाना

जेठ १९, २०८३ १९:४०

क्रोममा सुरक्षाका लागि नयाँ फिचर, अब ह्याकरले चोर्न सक्ने छैन तपाईँको कुकी

काठमाडौँ । गुगलले आफ्नो क्रोम ब्राउजरका लागि सुरक्षासम्बन्धी नयाँ फिचर सार्वजनिक गरेको छ । यो फिचर ह्याकरहरूलाई ब्राउजर कुकीहरू चोरी गरेर तपाईँको अकाउन्टमा अनाधिकृत पहुँच पाउनबाट रोक्नेछ ।

डिभाइस बाउन्ड सेसन क्रिडेन्सियल्स (DBSC) नाम दिइएको यो फिचर अहिले सबै विन्डोज र म्याक प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको हो । साधारणतया ब्राउजर कुकीहरूले प्रयोगकर्ताको लगइन सेसन र वेबसाइट प्राथमिकताहरू सुरक्षित राख्छन् । ताकि पटक-पटक लगइन गरिरहनु नपरोस् ।

तर, साइबर अपराधीहरूले मालवेयरको प्रयोग गरी यी कुकीहरू टाढैबाट चोर्न सक्छन् । एकपटक कुकी चोरी भएपछि ह्याकरहरूले मल्टी-फ्याक्टर अथेन्टिकेसन (MFA) कोड बिना नै प्रयोगकर्ताको खातामा आफ्नै डिभाइसबाट लगइन गर्न सक्छन् ।

कसरी काम गर्छ DBSC ले ?

यो नयाँ सुरक्षा प्रणालीले ब्राउजर सेसन र कुकीहरूलाई सिधै प्रयोगकर्ताको कम्प्युटरमा रहेको सेक्युरिटी चिप (Security Chip) सँग जोडिदिन्छ । अधिकांश विन्डोज पीसीहरूमा यसले ट्रस्टेड प्लेटफर्म मोड्युल (TPM) र म्याक (Mac) मा सेक्योर इन्क्लेभ (Secure Enclave) को प्रयोग गर्दछ ।

यसको मुख्य फाइदा के हो भने यदि कुनै ह्याकरले तपाईँको कम्प्युटरबाट कुकी चोरी गरिहाले पनि ती कुकीहरू उनीहरूको आफ्नै डिभाइसमा चल्ने छैनन् । किनकि ती कुकीहरू तपाईँको विशेष हार्डवेयरसँग बाँधिएका हुन्छन्, तिनीहरूलाई अन्यत्र कतै प्रयोग गर्न असम्भव हुन्छ ।

गुगलका अनुसार यसले मालवेयर भएको अवस्थामा पनि सेसन चोरीको जोखिमलाई न्यून गर्छ र अपराधीहरूका लागि चोरी गरिएका कुकीहरूको दुरुपयोग गर्न अत्यन्तै कठिन बनाउँछ ।

गुगलले यो प्रविधिको विकास सन् २०२४ मा सुरु गरेको थियो र सन् २०२५ मा गुगल वर्कस्पेसका ग्राहकहरूका लागि यसलाई ओपन बेटा (Open Beta) को रूपमा ल्याएको थियो । अहिले भने यो फिचर व्यक्तिगत गुगल अकाउन्ट र गुगल वर्कस्पेस दुवैका लागि स्वतः सक्रिय गरिएको हो ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले कुनै पनि सेटिङ मिलाइरहनु पर्दैन । यद्यपि यो सुविधा सक्रिय हुनका लागि विन्डोज प्रयोगकर्ताहरूसँग क्रोमको भर्सन १४६ वा सोभन्दा नयाँ हुनुपर्छ ।

म्याक प्रयोगकर्ताहरूसँग भने क्रोमको भर्सन १४८ वा सोभन्दा नयाँ आवश्यक हुन्छ । आफ्नो ब्राउजर अपडेट गर्नका लागि क्रोमको माथिल्लो दायाँ कुनामा रहेको तीन-डट आइकनमा क्लिक गरी Help अन्तर्गत About Google Chrome मा जान सकिन्छ । अपडेट पश्चात ब्राउजर रिस्टार्ट गरेपछि यो सुरक्षा फिचर सक्रिय हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ १९:४७