राष्ट्रिय समाचार समिति अध्यक्ष धर्मेन्द्र झाको ह्वाट्सएप ह्याक, जुम मिटिङका लागि भन्दै फुत्काइएको थियो ओटीपी कोड
कात्तिक २३, २०८२ १७:५
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ । ह्याकरले जुम मिटिङमा सहभागी गराउने बहाना बनाएर ओटीपी कोड लिई उनको अकाउन्ट ह्याक गरेका हुन् ।
अध्यक्ष झाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उक्त घटनाको जानकारी दिएका छन् । ह्याक भएको अकाउन्ट प्रयोग गरी विभिन्न व्यक्तिसँग पैसा मागिरहेको जानकारी पाएपछि अध्यक्ष झाले सावधानी अपनाउन र ठगीबाट जोगिन अनुरोध गरेका छन् ।
“मेरो ह्वाट्सएपमा समस्या देखिएको छ र कसैले ह्याक गरेको छ। कृपया यो एपमार्फत मसँग अहिलेलाई सम्पर्क हुन सक्दैन,” उनले भनेका छन् ।
झाले टेकपानासँग कुरा गर्दै ह्याकिङको प्रक्रियाबारे जानकारी दिएका छन् । उनका अनुसार आइतबार दिउँसो उनलाई एक विदेशी नम्बरबाट ह्वाट्सएप कल आएको थियो । कल गर्ने व्यक्तिले अध्यक्ष झाको परिचय र पृष्ठभूमिबारे सबै कुरा बताउँदै नेपाली समय अनुसार बेलुका ८ बजे जुम मिटिङमा सहभागी हुन आग्रह गरेका थिए ।
आफ्नै कार्यक्षेत्रसँग सम्बन्धित विषय भएको भन्दै उनलाई विश्वासमा पारेपछि ह्याकरले अकाउन्ट रजिष्टर गर्नुपर्ने बहाना बनाई ह्वाट्सएपमा आएको कोड पठाउन अनुरोध गरे ।
झाले खासै ख्याल नगरी उक्त कोड उपलब्ध गराए । वास्तवमा त्यो कोड ह्वाट्सएपमा लगइन गर्न प्रयोग हुने ओटीपी कोड थियो । कोड उपलब्ध गराएपछि उनको अकाउन्ट ह्याकरको नियन्त्रणमा पुगेको थियो ।
अकाउन्ट ह्याक भएर रकम माग्न थालेपछि अध्यक्ष झाले आफ्नो डिभाइसबाट उक्त अकाउन्ट लगइन गर्न पटक-पटक प्रयास गरे । शङ्कास्पद गतिविधिको कारण देखाउँदै ह्वाट्सएपले उनको अकाउन्ट सस्पेन्ड गरिदिएको छ ।
पछिल्लो समय नेपालमा यसरी ओटीपी कोड माग्ने, फिशिङ लिङ्कमा क्लिक गराउने लगायतका माध्यमबाट ह्वाट्सएप अकाउन्ट ह्याक हुने क्रम बढेको छ । यस्ता घटना बढेसँगै नेपाल प्रहरीको साइबर ब्युरोले समेत सर्वसाधारणलाई सचेत रहन र अपरिचित कोडहरू कसैलाई पनि उपलब्ध नगराउन आग्रह गर्दै सूचना जारी गरेको थियो ।
सम्बन्धित समाचारः https://techpana.com/2025/153847/whatsapp-security-tips-to-avoid-hacking-and-scams
पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १७:१४
