अब ह्वाट्सएप ग्रुप सुटुक्क छोड्न मिल्ने, एड्मिनलाई मात्र जानेछ नोटिफिकेसन
मंसिर २६, २०८२ ९:४८
काठमाडौँ । ह्वाट्सएपले ग्रुप च्याट फिचरमा ‘एक्जिट’ (Exit) सम्बन्धी नियममा परिवर्तन गरेको छ । अब कुनै पनि सदस्यले ह्वाट्सएप ग्रुप छोड्दा सो ग्रुपका एड्मिनलाई मात्र नोटिफिकेसन जाने भएको छ ।
यसअघि ग्रुप छोड्दा सबै सदस्यले थाहा पाउने गरी नोटिफिकेसन जाने गरेकोमा अब सुटुक्क ग्रुप छोड्न सकिने भएको हो । यद्यपि, ग्रुप छोडेपछि पनि प्रयोगकर्ताको विवरण ६० दिनसम्म देखिने ह्वाट्सएपले जनाएको छ ।
‘ग्रुप इन्फो’ भित्र रहने ‘पास्ट मेम्बर्स’ (Past Members) को लिस्टमा ग्रुप छोड्ने व्यक्तिको नाम र मोबाइल नम्बर ६० दिनसम्म अन्य सदस्यले हेर्न सक्नेछन् । प्रयोगकर्ताको सेटिङ अनुसार प्रोफाइल फोटो पनि देखिन सक्नेछ ।
प्रयोगकर्ताले ग्रुपबाट बाहिरिँदा ‘एक्जिट’ मात्र गर्ने वा ‘एक्जिट एन्ड डिलिट’ गर्ने विकल्प छान्नुपर्ने हुन्छ । ग्रुप डिलिट गर्दा च्याट हिस्ट्री र ग्यालरीमा सेभ भएका मिडिया फाइलहरू फोनबाट हट्नेछन् । एकपटक डिलिट भइसकेको ग्रुप र डेटा फेरि रिस्टोर गर्न नसकिने कम्पनीले स्पष्ट पारेको छ । पुनः जोडिनका लागि एड्मिनले नयाँ इन्भाइट पठाउनुपर्ने हुन्छ ।
साथै, यदि कुनै ग्रुप ‘कम्युनिटी’ को हिस्सा छ भने सो ग्रुप छोड्दा प्रयोगकर्ता स्वतः कम्युनिटीबाट पनि बाहिरिनेछन् । ग्रुप छोड्ने क्रममा प्रयोगकर्ताले चाहने हो भने सो ग्रुपलाई रिपोर्ट समेत गर्न सक्नेछन् । रिपोर्ट गर्दा अन्तिम ५ ओटा मेसेज ह्वाट्सएपको सिस्टममा जानेछ । जसको जानकारी ग्रुपका अन्य सदस्यलाई हुनेछैन ।
पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ ९:५५
