ह्वाट्सएपमा नयाँ फिचर, अब फेसबुक र इन्स्टाग्रामकै युजरनेम रिजर्भ गर्न सकिने
कात्तिक २९, २०८२ ११:४८
काठमाडौँ । मेसेजिङ एप ह्वाट्सएपले छिट्टै आफ्ना प्रयोगकर्ताका लागि ‘युजरनेम’ फिचर ल्याउने भएको छ । लामो समयदेखि चर्चामा रहेको यो सुविधाले प्रयोगकर्तालाई आफ्नो फोन नम्बर शेयर नगरी अरूसँग जोडिने विकल्प दिनेछ ।
बाहिरिएको पछिल्लो जानकारी अनुसार ह्वाट्सएपले यो फिचरलाई थप सहज बनाउन आफ्नो मातृ कम्पनी मेटाका अन्य प्लेटफर्म फेसबुक र इन्स्टाग्रामसँग जोड्ने तयारी गरेको छ । ह्वाट्सएपबारे जानकारी दिने प्लेटफर्म डब्लुएबेटा इन्फोका अनुसार प्रयोगकर्ताले अब आफ्नो फेसबुक वा इन्स्टाग्राममा प्रयोग गरिरहेकै युजरनेम ह्वाट्सएपका लागि पनि अग्रिम रिजर्भ गर्न सक्नेछन् ।
यो सुविधाले विभिन्न डिजिटल प्लेटफर्ममा एउटै पहिचान कायम राख्न चाहने प्रयोगकर्ताका लागि ठुलो राहत दिनेछ । यसका लागि प्रयोगकर्ताले मेटाको ‘अकाउन्ट सेन्टर' मार्फत आफ्नो फेसबुक वा इन्स्टाग्राम खाताको स्वामित्व भेरिफाई (प्रमाणित) गर्नुपर्नेछ । एकपटक युजरनेम रिजर्भ गरिसकेपछि यो फिचर सबैका लागि उपलब्ध हुनुभन्दा पहिले नै त्यो युजरनेम तपाईंको लागि सुरक्षित हुनेछ र अरू कसैले दाबी गर्न पाउने छैन ।
जसले युजरनेम रिजर्भ गर्दैनन्, उनीहरूले पछि यो फिचर सार्वजनिक भएपछि ह्वाट्सएपका नियम पालना गर्दै आफ्नो लागि नयाँ युजरनेम बनाउन सक्नेछन् ।
ह्वाट्सएप युजरनेमका लागि नियम:
-
युजरनेममा कम्तीमा एउटा अक्षर हुनुपर्छ । अङ्क मात्र राख्न चाहेर हुँदैन ।
-
अङ्ग्रेजीका साना अक्षर (a–z), नम्बर (0–9), डट (.) र अन्डरस्कोर (_) मात्र प्रयोग गर्न सकिनेछ ।
-
युजरनेम ३ देखि ३० क्यारेक्टरसम्मको हुनुपर्नेछ ।
-
युजरनेम ‘www.’ बाट सुरु हुन सक्दैन ।
-
युजरनेमको अन्त्यमा .com वा .net जस्ता डोमेन राख्न पाइने छैन ।
-
युजरनेमको सुरु वा अन्त्यमा डट (.) राख्न पाइने छैन ।
यो नयाँ सुविधा आगामी वर्ष २०२६ देखि प्रयोगकर्ताका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले प्रयोगकर्ताको गोपनीयतालाई थप बलियो बनाउनुका साथै प्लेटफर्म प्रयोगलाई अझ सहज र व्यक्तिगत बनाउने मेटाको विश्वास छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८२ १२:४८
