काठमाडौँ । मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले लामो समयदेखि अपनाउँदै आएको 'वाल्ड गार्डेन' मोडेललाई तोड्दै ठुलो परिवर्तनको घोषणा गरेको छ । मेटाले ह्वाट्सएप प्रयोगकर्तालाई थर्ड-पार्टी मेसेजिङ एपका प्रयोगकर्ताहरूसँग सिधै च्याट गर्न मिल्ने नयाँ सुविधा रोल आउट गर्न लागेको हो ।
यो अपडेट खासगरी युरोपमा डिजिटल मार्केट्स एक्ट (डीएमए) को पालनाका लागि ल्याउन लागिएको छ । जसले ठुला प्रविधि कम्पनीहरूलाई इन्टरअपरेबिलिटी (अन्तरसञ्चालन) वा विभिन्न प्लेटफर्मबिच अन्तरसम्बन्ध अनिवार्य गरेको छ । मेटाले यो महत्त्वपूर्ण कदम चालेर युरोपमा मेसेज आदानप्रदान गर्ने तरिकालाई नै पुनर्संरचना गर्न सक्ने सङ्केत दिएको छ ।
डजिटिल ट्रेन्डका अनुसार नयाँ सुविधा युरोपमा एन्ड्रोइड र आईओएस दुवैका लागि आगामी केही महिनामा सुरु हुनेछ । सुरुमा यस किसिमको अन्तरसञ्चालन बर्डीच्याट र हाइकेट गरी दुई साझेदार सेवाको साथमा रोलआउट हुनेछ ।
ह्वाट्सएप प्रयोगकर्ताले यी पार्टनर एपका प्रयोगकर्ताहरूसँग टेक्स्ट, फोटो, भ्वाइस, भिडिओ र फाइल आदानप्रदान गर्न सक्नेछन् । मेटाले यो इन्टरअपरेबिलिटीको बाबजुद पनि एन्ड-टु-एन्ड इन्क्रिप्सन कायम रहने बताएको छ ।
पार्टनर एपहरूले ह्वाट्सएप जस्तै सुरक्षा मापदण्डहरू पूरा गर्नुपर्ने छ । मेटाले गोपनीयतालाई इन्टरअपरेबिलिटी भन्दा पछाडि नराखिने सङ्केत गरेको छ ।
यो सुविधा प्रयोगकर्ताहरूको पूर्ण नियन्त्रणमा रहने बताइएको छ । थर्ड-पार्टी च्याटहरूमा संलग्न हुनका लागि प्रयोगकर्ताहरूले सेटिङ्समा गएर एउटा नयाँ टोगलमार्फत अप्ट इन गर्नुपर्नेछ ।
प्रयोगकर्ताहरूले यी मेसेजलाई आफ्नो मुख्य इनबक्समा देखिने बनाउने वा थर्ड-पार्टी च्याट नामक छुट्टै फोल्डरमा राख्ने, कुनै एक विकल्प छनोट गर्न सक्नेछन् ।
यो अपडेटले युरोपमा मेसेज आदानप्रदानलाई धेरै सरल बनाउन सक्छ । अब अन्य एप प्रयोग गर्ने व्यक्तिहरूले तपाईँलाई ह्वाट्सएपमा मेसेज पठाउन सक्नेछन् । जसले गर्दा प्रयोगकर्ताहरूलाई विशेष कन्ट्याक्टसँग कुरा गर्नका लागि अलग एप इन्स्टल गर्नुपर्ने आवश्यकता कम हुनेछ ।
यसले साना मेसेजिङ एपहरूको प्रयोगलाई पनि सजिलो बनाउनेछ । किनकि उनीहरूका प्रयोगकर्ताहरूले ह्वाट्सएपको विशाल प्रयोगकर्ता आधारसँग सम्पर्क गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १०:२
