close

एप्पलको चेतावनी: आईफोनमा क्रोम वा गुगल एप नचलाउनू, सफारी नै सुरक्षित छ

टेकपाना टेकपाना

मंसिर २२, २०८२ १०:४

एप्पलको चेतावनी: आईफोनमा क्रोम वा गुगल एप नचलाउनू, सफारी नै सुरक्षित छ

काठमाडौँ । एप्पलले आफ्ना आईफोन प्रयोगकर्तालाई गुगल क्रोम प्रयोग नगर्न आग्रह गरेको छ । प्रयोगकर्ताको गोपनीयता रक्षाका लागि क्रोम असुरक्षित रहेको दाबी गर्दै एप्पलले आफ्नै सफारी ब्राउजर प्रयोग गर्न अनुरोध गरेको हो ।

एप्पलले जारी गरेको एक चेतावनी अनुसार, सफारीले मात्र प्रयोगकर्ताको गोपनीयताको साँचो अर्थमा सुरक्षा गर्न सक्छ । पछिल्लो समय ‘फिंगरप्रिन्टिङ’ (Fingerprinting) नामक गोप्य ट्रयाकिङ प्रविधिको प्रयोग बढेको र यसबाट बच्न क्रोम असफल रहेको एप्पलको दाबी छ ।

के हो ‘फिंगरप्रिन्टिङ’ जोखिम ?

एप्पलका अनुसार सफारीले विज्ञापनदाता र वेबसाइटहरूलाई प्रयोगकर्ताको डिभाइसको ‘फिंगरप्रिन्ट’ वा डिजिटल छाप बनाएर ट्रयाक गर्नबाट रोक्ने काम गर्छ । सफारीले प्रयोगकर्ताको सिस्टम कन्फिगरेसनलाई सरलीकृत गरिदिन्छ, जसले गर्दा धेरै डिभाइसहरू उस्तै देखिन्छन् र ट्रयाकरहरूलाई कुनै एक व्यक्ति वा डिभाइसको पहिचान गर्न गाह्रो हुन्छ ।

तर, गुगलले भने यसअघि प्रतिबन्ध लगाएको फिंगरप्रिन्टिङ प्रविधिलाई पुनः प्रयोगमा ल्याएको छ । कुकिजमा प्रयोगकर्ताले अप्ट-आउट (अस्वीकार) गर्न मिल्ने विकल्प हुन्छ । तर फिंगरप्रिन्टिङ प्रविधिमा प्रयोगकर्तासँग बच्ने कुनै विकल्प हुँदैन । यसले फोनका विभिन्न डेटाहरू संकलन गरी प्रयोगकर्ताको ट्रयाक गर्न सकिने पहिचान बनाउँछ ।

गुगल एप झनै खतरनाक !

एप्पलले क्रोम मात्र नभई गुगल एप पनि प्रयोग नगर्न सचेत गराएको छ । गुगल एपले क्रोमभन्दा पनि बढी डेटा संकलन गर्ने र त्यो प्रयोगकर्ताको पहिचानसँग जोडिने एप्पलको भनाइ छ ।

सफारी प्रयोग गर्दा पनि गुगल सर्च इन्जिन डिफल्ट रूपमा रहने हुँदा गुगलले चलाखीपूर्ण रूपमा प्रयोगकर्तालाई 'ट्राई एप' (Try app) बटनमार्फत आफ्नो एपमा लैजान खोज्छ । एप्पलले गोपनीयता चाहने प्रयोगकर्ताहरूलाई उक्त नीलो बटनमा क्लिक गरेर सफारी नछोड्न सुझाव दिएको छ ।

बजारमा क्रोमको दबदबा कायमै

एप्पलले सफारीमा एआई बेस्ड ट्र्याकिङ प्रिभेन्सन, वास्तविक प्राइभेट ब्राउजिङ र लोकेसनको सुरक्षा रहेको दाबी गरेको छ । मोजिला फायरफक्सले पनि यस्तै सुरक्षा प्रविधि अपनाएको छ । तर गोपनीयतासम्बन्धी पटक-पटकको चेतावनीका बाबजुद विश्वभर तीन अर्बभन्दा बढी प्रयोगकर्ताले अझै पनि गुगल क्रोम नै प्रयोग गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८२ १०:४