close

जेन-जीलाई आकर्षित गर्न फेसबुकलाई इन्स्टाग्राम जस्तै रिडिजाइन गर्दै मेटा

टेकपाना टेकपाना

मंसिर २४, २०८२ १२:४४

जेन-जीलाई आकर्षित गर्न फेसबुकलाई इन्स्टाग्राम जस्तै रिडिजाइन गर्दै मेटा

काठमाडौँ । तपाईंले याद गर्नुभएको छ ? पछिल्लो समय फेसबुकको ‘युजर इन्टरफेस’ दिनानुदिन परिवर्तन भइरहेको छ । विशेषगरी न्युज फिडमा इन्स्टाग्रामको जस्तै झलक देखिन थालेको छ । जस्तै, फोटोमा ‘डबल ट्याप’ गर्दा लाइक हुनु वा रियाक्सन गर्ने प्रयोगकर्ताको फोटो पोस्टमै देखिनु ।

सामाजिक सञ्जाल कम्पनी मेटाले विशेषगरी ‘जेन-जी’ पुस्तालाई आकर्षित गर्न यो रणनीति अपनाइरहेको देखिन्छ । युवापुस्तामाझ इन्स्टाग्राम बढी लोकप्रिय छ । त्यही लोकप्रियता मेटाले फेसबुकमा ल्याउने प्रयत्न गरिरहेको देखिन्छ । 

यही अनुरूप फेसबुकको इन्टरफेसमा इन्स्टाग्रामका फिचर लागु भइरहेका छन् । फेसबुकलाई अहिलेको भन्दा अझ बढी प्रभावशाली बनाउने सीईओ मार्क जुकरबर्गको योजना अनुरुप मेटाले एपलाई रिडिजाइन गर्दै विभिन्न नयाँ अपडेटहरू घोषणा गरेको छ ।

द भर्ज’का अनुसार यी परिवर्तनले फेसबुकको फिडमा फोटो हेर्ने र अन्तरक्रिया गर्ने अनुभवलाई इन्स्टाग्राम जस्तै बनाउनेछ । फिडलाई सरल र आकर्षक बनाउन एकैपटक धेरै फोटो पोस्ट गर्दा ‘ग्रिड लेआउट’मा देखिने र फोटोमा डबल ट्याप गरेरै लाइक गर्न सकिने सुविधा थपिएको छ । साथै, कम्पनीले स्टोरी र फिड पोस्ट बनाउने तरिकालाई परिमार्जन गर्दै म्युजिक थप्ने तथा साथीलाई ट्याग गर्ने जस्ता ‘टुल’लाई सहजै भेटिने ठाउँमा राखेको छ । सर्च रिजल्टमा पनि सबै प्रकारका कन्टेन्ट सपोर्ट गर्ने ‘इमर्सिभ ग्रिड लेआउट’ ल्याइँदैछ । त्यस्तै, फुलस्क्रिनमा फोटो-भिडिओ हेर्दा सर्च गरेको लोकेसन नहराउने फिचरको पनि परीक्षण भइरहेको छ ।

मेटाले फिडमा देखिने सामग्री असान्दर्भिक लागेमा ‘फिडब्याक’ दिन मिल्ने सुविधा थपेको छ । साथै, इन्स्टाग्राम र थ्रेड्समा जस्तै आगामी महिनामा फेसबुक प्रयोगकर्ताले पनि आफ्नो रुचि अनुसार फिड मिलाउन र एल्गोरिदमलाई सुझाव दिन सक्ने नयाँ तरिका ल्याउने प्रतिबद्धता जनाएको छ ।

यसबाहेक अपडेट गरिएको मेनु डिजाइन र सरल कमेन्टिङ अनुभव जस्ता विशेषता पनि समेटिएको छ । मेटाले फेसबुकलाई व्यवस्थित र प्रयोग गर्न सजिलो बनाउन यी परिवर्तन सुरुवात मात्र भएको र अर्को वर्ष थप अपडेट आउने जानकारी दिएको छ ।

फेसबुक एपमा पोस्ट गर्ने इन्टरफेस पनि अहिले फरक देखिएको छ । नयाँ पोस्ट अपलोड गर्दा माथिपट्टि म्युजिक, पिपुल, लोकेसन, फिलिङ/एक्टिभिटी र एल्बमको अप्सन देखिन्छ । त्यस्तै, तलपट्टि ग्यालरी, जीआईएफ, लाइफ इभेन्ट र लाइभको अप्सन राखिएको छ । त्यसभन्दा मुनि पोस्ट प्राइभेसीसँगै इन्स्टाग्राम र थ्रेड्समा शेयर गर्ने अप्सन पनि उपलब्ध छ । यी अप्सन अन गर्नासाथ एउटै पोस्ट तीन ओटै प्लेटफर्ममा एकसाथ अपलोड हुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १३:३