close

इन्स्टाग्रामको नयाँ नियम, अब एउटा पोस्टमा ५ भन्दा बढी ह्यासट्याग राख्न नपाइने

टेकपाना टेकपाना

पुस ४, २०८२ १४:१४

इन्स्टाग्रामको नयाँ नियम, अब एउटा पोस्टमा ५ भन्दा बढी ह्यासट्याग राख्न नपाइने

 

काठमाडौँ । सामाजिक सञ्जाल इन्स्टाग्रामले ह्यासट्यागको प्रयोगमा नयाँ सीमा निर्धारण गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोजेरीले हालै एक भिडिओ सन्देश जारी गर्दै प्लेटफर्मको नयाँ नीतिबारे स्पष्ट पारेका हुन् । 

उनका अनुसार अब प्रयोगकर्ताले एउटा पोस्टमा अधिकतम पाँच ओटा मात्र ह्यासट्याग प्रयोग गर्न पाउनेछन् । लामो समयदेखि प्रयोगकर्ताले आफ्नो पोस्टको रिच बढाउन धेरै सङ्ख्यामा ह्यासट्याग प्रयोग गर्दै आएका थिए । तर, इन्स्टाग्रामले अब ह्यासट्यागको भीडलाई कम गर्दै गुणस्तरीय सामग्रीमा जोड दिने उद्देश्यले यो नियम ल्याएको हो ।

“धेरै ह्यासट्याग राख्ने लोभ लाग्न सक्छ, तर थोरै र सम्बन्धित ट्यागले लामो सूचीभन्दा प्रभावकारी रूपमा काम गर्छन्,” आफ्नो ‘इन्स्टाग्राम एड्भाइस’ च्यानलमा भिडिओ राख्दै मोजेरीले भनेका छन्, “हाम्रा लागि सङ्ख्याभन्दा गुणस्तर मुख्य कुरा हो ।”

मोजेरीले ह्यासट्यागको भूमिकाबारे अगाडि भने, “ह्यासट्यागले पोस्टलाई सर्चमा देखाउन मद्दत त गर्छ । तर यसले मात्र पोस्टको ‘रिच’ बढाउँदैन । त्यसैले प्रयोगकर्ताले आफ्ना अडियन्सलाई कस्तो सामग्री मनपर्छ भन्ने कुरामा बढी ध्यान दिनु आवश्यक छ ।”

यसअघि इन्स्टाग्रामकै अर्को प्लेटफर्म ‘थ्रेड्स’ मा पनि स्पाम रोक्नका लागि एउटा पोस्टमा एउटा मात्र ट्याग प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो । अनावश्यक ‘इङ्गेजमेन्ट ह्याकिङ’ रोक्न र ट्यागलाई केवल सम्बन्धित ग्रुपसँग जोडिने माध्यम बनाउन यस्तो कदम चालिएको कम्पनीले जनाएको छ ।

यो नयाँ परिवर्तनसँगै अब इन्स्टाग्राममा कन्टेन्ट पोस्ट गर्दा प्रयोगकर्ताले थोरै तर सटीक ह्यासट्याग छनोट गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८२ १४:१४