close

खेलौनाका पुर्जा खोलेर उत्सुकता मेटाउने ती बालक, यसरी बने एआईका प्रोफेसर

हिक्मत आचार्य हिक्मत आचार्य

पुस ५, २०८२ २३:५

खेलौनाका पुर्जा खोलेर उत्सुकता मेटाउने ती बालक, यसरी बने एआईका प्रोफेसर

काठमाडौँ । झन्डै पाँच दशकअघि राजधानीको एउटा पुरानो विद्यालय विश्वनिकेतनको कक्षा कोठामा एउटा बालक झ्यालबाट बाहिर हेर्दै टोलाइरहन्थ्यो । शिक्षकले बोर्डमा के लेखिरहेका छन्, के पढाइरहेका छन् भन्ने कुरामा ती बालकको खासै रुचि थिएन । उनलाई कक्षा कोठाका पुराना पाठ र घोक्ने तरिका निकै पट्यार लाग्थ्यो । तर, जब उनी विद्यालयबाट घर फर्किन्थे, उनको कोठा एउटा प्रयोगशालामा परिणत हुन्थ्यो । 

बुबाले मायाले किनिदिएका नयाँ-नयाँ खेलौना उनको हातमा परेपछि एक हप्ता पनि सद्दे रहँदैनथे । उनले ती खेलौनालाई टुक्रा-टुक्रा पारेर खोल्थे र भित्रको मेकानिजम (कार्यप्रणाली) हेर्थे । खेलौना त बिग्रिन्थ्यो तर ती बालकको उत्सुकताले “यसले कसरी काम गर्छ ?” भन्ने प्रश्नको जवाफ पाउँथ्यो । ती बालक थिए आज मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एआई अध्यापन गराउने प्राध्यापक डा. सुरेश मानन्धर । 

उनको बालापनको त्यो चकचके स्वभाव र पढाइमा देखिएको अनिच्छाबाट उनका आमाबुबा आजित थिए । उनीहरूलाई लाग्थ्यो, “यो केटाले त एसएलसी पनि पास गर्दैन, पढेको कहिल्यै देखिँदैन, यसको भविष्य के होला ?” तर समयको गतिसँगै तिनै ‘फेल हुन्छ’ भनिएका सुरेश देश-विदेशका विभिन्न विश्वविद्यालय विगत ३५ वर्षदेखि एआईका विषयमा अध्यापन गराइरहेका छन् । 

अध्ययनको सिलसिलामा अधिकांश समय बेलायतमा बिताएका उनी आज नेपाललाई नै एआईको केन्द्र बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । 

सिक्ने कौतूहलताले बसालेको इन्जिनियरिङको जग

मानन्धरको औपचारिक शिक्षाको यात्रा उतारचढावले भरिएको छ । विद्यालय तहको शिक्षामा खासै जम्न नसकेका उनले दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि उनका बुबाले एउटा कडा निर्णय लिए । छोरालाई काठमाडौँमा राखेर बिग्रिने डरले उनले सुरेशलाई भारतको दिल्ली पठाइदिए । “एसएलसी पनि पास हुँदैन भनेको मान्छे कसरी कसरी पास भएपछि नेपालमा मलाई नराख्ने अठोट बुबाले लिनुभयो,” मानन्धर सम्झिन्छन्, “पढाइलाई नै केन्द्रित गर्नुपर्छ भन्ने आशयले (चार दशकअघि) मलाई दिल्ली पठाउनुभयो ।”

दिल्लीको पढाइ र त्यहाँको प्रतिस्पर्धा काठमाडौँको भन्दा धेरै गुणा कठिन थियो । सुरुमा उनलाई त्यहाँको पाठ्यक्रमसँग जुध्न निकै गाह्रो भयो । तर उनीभित्रको केही नयाँ सिर्जना गर्ने हुटहुटी मरेको थिएन । उनले दिल्लीमा कडा मेहनत गरे र पछि दक्षिण भारतबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक तह (बी.टेक.) पूरा गरे । “हामी त यहाँ जसोतसो पास पढिरहेको मान्छे त्यहाँ पुगेपछि पढाइको स्तर नै छुट्टै थियो,” उनी अगाडि भन्छन्, “त्यसैमा भिज्न पनि मलाई थप मेहनत गर्नुपर्‍यो । त्यसैको परिणाम मैले सहजै ब्याचलर पूरा गरेँ ।”

इन्जिनियरिङको अन्तिम वर्षतिर पुग्दा उनले पहिलो पटक प्रोग्रामिङसँग साक्षात्कार गर्ने मौका पाए । त्यो बेला कम्प्युटर आजको जस्तो हातहातमा हुने चिज थिएन । कागजमा ‘फोरट्रान’ प्रोग्रामिङका कोडहरू लेख्नुपर्थ्यो र त्यसलाई बाइनरी कोडका रूपमा मसिनमा इन्ट्री गराइन्थ्यो । उनलाई कोडिङको यो संसारले जादु जस्तै तान्यो । तारहरू जोड्नु नपर्ने, सोल्डरिङ आइरन बोकेर हिँड्नु नपर्ने र कोठामै बसेर सफ्टवेयरको माध्यमबाट ठूला काम गर्न सकिने कुराले उनलाई उत्साहित बनायो । उनले सोचे, “यो त मेरो लागि बनेको क्षेत्र हो, अब म यसैमा लाग्नुपर्छ । कहाँ मेकानिकल काममा गर्नुपर्ने भौतिक कष्ट, कहाँ यो प्रोग्रामिङ कोठामै बसेर गर्न सकिने आनन्दको काम ।”

अध्ययन सकिएपछि उनी सन् १९८३ मा नेपाल फर्किए । र, बुबालाई काम गर्ने उत्सुकता भएको बताए । त्यसबेला सिंहदरबारमा रहेको राष्ट्रिय कम्प्युट केन्द्रमा कम्युटरसम्बन्धी प्राविधिक काम गर्ने जनशक्ति आवश्यक परिरहेको थियो । मानन्धरका बुबाले कुरा राख्नेबित्तिकै उनलाई अन्तर्वार्ताका लागि बोलाइयो । “मलाई त काम गर्ने हतार थियो । सिकेको कुरा व्यवहारमा उतार्ने हुटहुटी थियो । बुबाले भनेको ठाउँमा गएँ अनि आफूले जानेको सबै कुरा भने,” मानन्धर भन्छन्, “मलाई त एक हप्तामा काम चाहिएको थियो । तर, त्यहाँका कर्मचारीले मलाई भोलिदेखि नै काममा आऊ भन्नुभयो ।” 

राष्ट्रिय कम्प्युटर केन्द्र टर्मिनल

यसरी उनले करियरको पहिलो पाइला सिंहदरबारभित्र रहेको राष्ट्रिय कम्प्युटर केन्द्रबाट चाले । त्यो समय नेपालमा कम्प्युटर प्रविधि भर्खरै भित्रिँदै थियो । त्यहाँ मसिन लेभलको लो-लेभल प्रोग्रामिङमा काम सुरु गरे ।

राष्ट्रिय कम्प्युटर केन्द्र

त्यो बेला प्रोग्रामिङ गर्न आजको जस्तो किबोर्ड र स्क्रिन हुँदैनथ्यो, बरु ‘पन्च कार्ड’ को प्रयोग गरिन्थ्यो । तासका पत्ता जस्ता कार्डहरूमा प्वाल पारेर मसिनलाई निर्देशन दिइन्थ्यो । एउटा सानो गल्ती भयो भने मसिनले ती कार्ड हावामा फ्याँकिन्थ्यो र फेरि सुरुदेखि काम गर्नुपर्थ्यो । “हामीले पन्च कार्डको एउटा प्याकलाई रबर ब्यान्डले बाँधेर राख्थ्यौँ, त्यो एउटा सानो कार्ड हरायो भने पूरा प्रोग्राम नै बिग्रिन्थ्यो,” उनले पुराना दिन सम्झिँदै भने । राष्ट्रिय कम्प्युटर केन्द्रमा काम गर्दागर्दै उनलाई एउटा कुराले सताउन थाल्यो, “मैले जे गरिरहेको छु, यो त मसिनको भाषा मात्र हो । कम्प्युटरले मानिसको भाषा किन बुझ्दैन ? हाम्रो नेपाली भाषामा कम्प्युटरले किन काम गर्दैन ?” 

पन्च कार्ड

पञ्चकार्ड रिडर

नयाँ सीप सिक्ने हुटहुटीले दिएको अवसर !

यही जिज्ञासाले उनलाई एआईको दुनियाँमा पुर्‍यायो । उनले विभिन्न पुस्तकालयमा अनुसन्धान गरे र सन् १९८५ को आसपासमा एआई भन्ने विषय पत्ता लगाए । यसअघि काम गर्दा पूरा भएको ठान्ने मानन्धरलाई यो जिन्दगीभर कहिल्यै बोर नहुने काम हो भन्ने लाग्यो ।

एआईमा थप अध्ययन गर्ने धोको बोकेर उनी बेलायतको युनिभर्सिटी अफ एसेक्स गए र त्यहाँबाट एआईमा मास्टर्स पूरा गरे । सन् १९८७ मा नेपाल फर्किएपछि उनले आफ्ना साथी सुरेश रेग्मी, सुशील प्रधान र दीपकलाल श्रेष्ठसँग मिलेर ‘प्रोफेसनल कम्प्युटर सिस्टम्स’ (पीसीएस) नामक कम्पनीको स्थापना गरे । उनले आफ्नै घरको भान्साकोठा नजिकैबाट यो कम्पनी सुरु गरेका थिए । 

पीसीएसको सफ्टवेयरले गर्ने काम

पीसीएसले नेपालमा पहिलो पटक नेपाली भाषामा डेटा प्रोसेसिङ गर्ने प्रणाली विकास गर्‍यो, जसको प्रयोग सन् १९९१ (वि.सं २०४८)को जनगणनामा समेत गरिएको थियो । यद्यपि कम्पनी सफल हुँदै थियो । तर सुरेशको मनमा अझै गहिरो अनुसन्धान गर्ने इच्छा बाँकी नै थियो । उनले आफूलाई उद्यमीभन्दा पनि एक शोधकर्ता र प्राज्ञिक व्यक्तिका रूपमा बढी देखे । “मलाई उद्यमीभन्दा रिसर्चर र एकेडेमिया बन्नु थियो । सिक्नुपर्ने र सिकाउनुपर्ने धेरै कुरा बाँकी छन् भन्ने लाग्थ्यो,” उनी भन्छन् ।

त्यसैले उनी पीसीएसको जिम्मेवारी साथीहरूलाई सुम्पिएर पीएचडीका लागि सन् १९८८ मा फेरि बेलायतको युनिभर्सिटी अफ एडिनबर्ग पुगे । एडिनबर्ग एआई अनुसन्धानको विश्वव्यापी केन्द्र थियो र त्यहाँ उनले कम्प्युटरलाई मानिसको भाषा कसरी बुझाउने भन्ने विषयमा गहन अनुसन्धान गरे । सन् १९९३ सम्म एआई नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङमा पीएचडी गरे । र, १९९४ मा ग्र्याजुएट भए ।

र, सन् १९९२ देखि १९९६ सम्म एडिनबर्गमा रिसर्च फेलोका रूपमा काम गरेपछि उनले युनिभर्सिटी अफ योर्कमा प्राध्यापनको अवसर पाए । योर्कमा उनले बिताएका २३ वर्ष उनको जीवनका सबैभन्दा महत्त्वपूर्ण र उपलब्धिमूलक वर्ष बने । सन् १९९६ मा लेक्चररबाट सुरु भएको उनको यात्रा सन् २०१३ मा कम्प्युटर साइन्सको ‘रिडर’ सम्म पुग्यो । उनले सन् २०१५ देखि २०१९ सम्म युनिभर्सिटी अफ योर्कको एआई रिसर्च ग्रुपको नेतृत्व गरे । यस अवधिमा उनले करिब २४ जना पीएचडी विद्यार्थीहरूलाई एआईका विभिन्न जटिल आयाममा मार्गदर्शन गरे । तर, यो सफलताको शिखर चढ्दै गर्दा उनले एआईको इतिहासकै सबैभन्दा कठिन समय अर्थात् ‘एआई विन्टर’ को पनि सामना गरे ।

एउटा यस्तो समय थियो जब विश्वभरका सरकार र वैज्ञानिक समुदायले एआईमाथि विश्वास गर्न छोडेका थिए । “हामीलाई अन्य कम्प्युटर वैज्ञानिकले समेत अर्कै नजरले हेर्थे, मानौँ हामी कुनै काम नलाग्ने र नतिजा नदिने काल्पनिक विषयमा समय खेर फालिरहेका छौँ, युके सरकारले समेत एआईको फन्डिङ रोकिदिएको थियो,” उनले संघर्षको पाटो सुनाए । तर उनी डगमगाएनन् । उनले ‘सिम्बोलिक एआई’ बाट आफ्नो अनुसन्धानलाई ‘स्टाटिस्टिकल मसिन लर्निङ’ र पछि ‘डिप लर्निङ’ मा ढाल्दै लगे । जब सन् २०१२ पछि जीपीयू कम्प्युटिङको विकास भयो, एआईले संसारभर तहल्का मच्चायो र सुरेशले गरेका अनुसन्धान नै आधुनिक एआईका आधार स्तम्भ बने ।

नेपालमै अध्यापन गराउने चाह !

बेलायतमा सबै किसिमको मान-सम्मान, पद र सुख-सुविधा हुँदाहुँदै पनि सुरेशको मन सधैँ नेपालमै अल्झिरह्यो । सन् २०१९ मा उनले आफ्नो लोभलाग्दो अन्तर्राष्ट्रिय करियरलाई बिट मार्दै नेपाल फर्किने निर्णय गरे । यो निर्णय उनका धेरै समकालीनका लागि अचम्मको थियो । तर उनले यसलाई एक जिम्मेवारी ठाने । “म जहाँ बसे पनि नयाँ कुरा सिक्न सक्थेँ । तर नेपाल आउँदा यहाँको नयाँ पुस्तालाई एआई सिकाउनु र देशको टेक इकोसिस्टम बलियो बनाउन सकिन्थ्यो । र, त्यही उद्देश्य बोकेर म नेपाल फर्किएँ,” उनले आफ्नो स्वदेश फिर्तीको कारण बताए ।

नेपाल फर्किएपछि उनी यहाँको एआई अभियानमा पूर्ण रूपमा होमिए । उनी सन् २०१९ देखि २०२० सम्म ‘नामी’ (NAAMII) एआई रिसर्च इन्स्टिच्युटको निर्देशक बने, जहाँ उनले नेपाली युवालाई विश्वस्तरको अनुसन्धानमा जोड्ने प्रयास गरे । त्यसैगरी उनले फ्युजमसिनमा सन् २०१९ देखि २०२५ सम्म हेड अफ एआई रिसर्चका रूपमा काम गरे र नेपालमा एआई शिक्षालाई व्यापक बनाउन भूमिका खेले ।

सुरेश मानन्धरको उद्यमी यात्राको सबैभन्दा सफल पाटो भने ‘वाइजयाक’ (WiseYak) हो । सन् २०१७ मा स्थापना भएको यस कम्पनीमा उनी सीईओ, चिफ साइन्टिस्ट र को-फाउन्डरका रूपमा कार्यरत छन् । वाइजयाकको माध्यमबाट उनले एआईलाई स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउन प्रयोग गरिरहेका छन् । विशेषगरी विकासोन्मुख देशका लागि उनले एआईमा आधारित पाठेघरको क्यान्सर स्क्रिनिङ गर्ने प्रविधि विकास गरिरहेका छन् । यो प्रविधिको सहयोगले एउटा सामान्य स्वास्थ्यकर्मीले पनि क्यान्सरको सुरुवाती लक्षण पत्ता लगाउन सक्ने मानन्धर सुनाउँछन् । 

यसका साथै अस्पतालका रेकर्डलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गर्ने र बिरामीको डेटा एक अस्पतालबाट अर्कोमा सहजै ट्रान्सफर हुने प्रणालीमा पनि उनी काम गरिरहेका छन् । उनी भन्छन्, “नेपालमा आईटी भनेको विदेशको काम आउटसोर्सिङ गर्नु मात्र होइन, हामीले यहाँबाट आफ्नै मौलिक प्रोडक्ट बनाएर विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्छ ।”

आगामी योजना र उनका सङ्कल्प

अहिले प्राडा. सुरेश मानन्धर एउटा अर्को परियोजनामा व्यस्त छन् जसले नेपालको ग्रामीण जनजीवनलाई बदल्न सक्छ । उनी ‘भ्वाइस-टु-भ्वाइस’ एआई सिस्टम बनाउँदैछन्, जसले नेपाली, मैथिली र अन्य स्थानीय भाषा सहजै बुझ्न सक्छ । यो सिस्टमले अशिक्षित वा प्रविधिमा पहुँच नभएका मानिसलाई पनि एआईसँग गफ गर्न र आफ्नो समस्या समाधान गर्न सहयोग गर्नेछ । “यदि एउटा किसानले आफ्नो बालीको रोगका बारेमा आफ्नै भाषामा एआईसँग सोध्न सक्छ र एआईले बोलीकै माध्यमबाट जवाफ दिन्छ भने त्यो नै वास्तविक प्रविधिको लोकतन्त्रीकरण हो,” उनको विश्वास छ । उनको यो अभियानलाई मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले पनि साथ दिएको छ जहाँ उनी एआईको ‘अनरी चियर’ को रूपमा आबद्ध छन् र एआईमा उच्चस्तरीय जनशक्ति उत्पादन गर्न खटिरहेका छन् ।

३५ वर्षअघि पन्च कार्डबाट सुरु भएको सुरेशको यात्रा आज जेनेरेटिभ एआई र एजेन्टिक एआईसम्म आइपुगेको छ । उनी भन्छन्, “अबको भविष्यमा सफ्टवेयर केवल काम गर्ने औजार मात्र हुने छैनन्, ती हाम्रा सहयोगी हुनेछन् । हामीले सफ्टवेयर चलाउनु पर्ने छैन, बरु सफ्टवेयरसँग कुरा गरेर काम गराउन सकिनेछ । यो परिवर्तनका लागि नेपाललाई तयार पार्नु नै अबको एकमात्र लक्ष्य हो ।” 

कुनै बेला विद्यालयमा ‘बोर’ मान्ने र घरका सामान बिगार्ने बालक आज नेपालको प्रविधि क्षेत्रको ‘पायोनियर’ बनेको छ । एआई क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले होमिएका ४० भन्दा जनशक्तिलाई उनले आफ्नो कम्पनीमार्फत अगाडि बढाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८२ ११:५७