close

ह्वाट्सएपमा आएका फोटो/भिडिओ फोनको ग्यालरीमा अटो सेभ भएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ ३, २०८२ १०:२१

ह्वाट्सएपमा आएका फोटो/भिडिओ फोनको ग्यालरीमा अटो सेभ भएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौँ । तपाईंको मोबाइलको ग्यालरी ह्वाट्सएपबाट आएका अनगिन्ती फोटोले भरिएको छ ? साथीभाइका मिम्स, शुभकामना कार्ड, अनावश्यक भिडिओ बिना अनुमति स्वतः ग्यालरीमा सेभ भएर झन्झट भइरहेको छ ? यदि हो भने, ह्वाट्सएपको यो सजिलो तरिका प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंले केही सरल सेटिङ्स परिवर्तन गरेर ह्वाट्सएपका फोटो तथा भिडिओ ग्यालरीमा आफूखुसी सेभ हुनबाट रोक्न सक्नुहुन्छ ।

१. सबै च्याटका लागि मिडिया सेभिङ बन्द गर्ने तरिका

  • सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् । माथि छेउमा भ‍एको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

  • ‘Settings’ मा जानुहोस् ।

  • ‘Storage and data’ अप्सनमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि ‘When using mobile data’, ‘When connected on Wi-Fi’ र ‘When roaming’ को अप्सनमा छुट्टाछुट्टै जानुहोस् ।

  • र, अब सबै बक्स अनचेक गर्नुहोस् । 

यदि तपाईं आफैँले डाउनलोड गर्नुभएको मिडिया पनि फोनको ग्यालेरी एपमा देखिनबाट रोक्न चाहनुहुन्छ भने ‘Settings > Chats’ मा जानुहोस् र ‘Media visibility’ लाई बन्द गर्नुहोस् ।

२. निश्चित च्याटका लागि मात्र रोक्ने

यदि सबै च्याट होइन, कुनै विशेष व्यक्ति वा ग्रपबाट आएका मिडिया फाइल मात्र ग्यालरीमा सेभ हुन नदिने चाहनुहुन्छ भने यसो गर्नुहोस्

  • उक्त व्यक्ति वा ग्रुपको च्याट ओपन गर्नुहोस् । 

  • व्यक्तिको च्याटका लागि उसको नाममा ट्याप गरेर ‘Chat Info’ मा जानुहोस् । ग्रुप च्याटका लागि  ‘Group Info’ मा जानुहोस् । 

  • अब तल देखिने ‘Media Visibility’ मा ट्याप गरी ‘No’ छान्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८२ १०:२१