इन्स्टाग्रामले सुरु गर्यो प्रिमियम सब्सक्रिप्सनको परीक्षण, अब विशेष फिचर प्रयोग गर्न पैसा तिर्नुपर्ने
चैत १७, २०८२ ९:३७
काठमाडौँ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी मेटाले इन्स्टाग्राममा 'इन्स्टाग्राम प्लस' (Instagram Plus) नामक नयाँ प्रिमियम सब्सक्रिप्सन सेवाको परीक्षण थालेको छ । टेकक्रन्चसँग कुरा गर्दै कम्पनीले सोमबार केही निश्चित देशहरूमा यो सशुल्क सेवाको परीक्षण थालिएको पुष्टि गरेको हो ।
मेटाले इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपमा नयाँ सब्सक्रिप्सन मोडेलहरू ल्याउने योजना बनाएको दुई महिनापछि यो कदम चालेको हो । यो नयाँ सेवा विशेष गरी साधारण प्रयोगकर्ताहरूलाई लक्षित गरी ल्याइएको छ ।
प्रिमियम सेवा अन्तर्गत प्रयोगकर्ताहरूले कैयौँ विशेष फिचरहरू पाउनेछन् । जसमा ग्राहकहरूले कसैको स्टोरी हेर्दा पोस्ट गर्ने व्यक्तिले थाहा नपाउने गरी हेर्न पाउनेछन् । त्यस्तै प्रयोगकर्ताले आफ्नो स्टोरीलाई कति जनाले दोहोर्याएर हेरेका छन् भन्ने जानकारी पनि प्राप्त गर्न सक्नेछन् । यसैगरी हालको 'क्लोज फ्रेन्ड्स' को विकल्पभन्दा बाहिर गएर प्रयोगकर्ताले स्टोरीका लागि असीमित भ्युअरका सूची बनाउन सक्नेछन् । यसले गर्दा कुन स्टोरी कसलाई देखाउने भन्ने कुरामा प्रयोगकर्ताको थप नियन्त्रण हुनेछ ।
यति मात्र होइन, प्रयोगकर्ताले आफ्नो स्टोरीलाई थप २४ घण्टासम्म लम्ब्याउन सक्नेछन् । साथै हप्तामा एक पटक कुनै एउटा स्टोरीलाई 'स्पटलाइट' गर्न सकिनेछ, जसले उक्त स्टोरीलाई फलोअर्सको स्टोरी ट्रेको सबैभन्दा अगाडि ल्याएर त्यसको भिजिबिलिटी बढाउनेछ ।
साथै अरूको स्टोरीमा एनिमेटेड 'सुपरलाइक' दिन सकिने सुविधा पनि यसमा समावेश छ । स्टोरी हेर्नेहरूको लामो सूचीमा कुनै विशिष्ट व्यक्तिले आफ्नो स्टोरी हेरेको छ कि छैन भनेर खोज्न मिल्ने सुविधा पनि समावेश छ ।
कहाँ कहाँ भइरहेको परीक्षण, अनि कति पर्छ मूल्य ?
मेटाले आधिकारिक रूपमा देशहरूको नाम सार्वजनिक नगरे पनि सामाजिक सञ्जालका रिपोर्टहरू अनुसार हाल मेक्सिको, जापान र फिलिपिन्समा यसको परीक्षण भइरहेको छ ।
यसको मूल्य देश अनुसार फरक-फरक तोकिएको छ । प्रयोगकर्ताहरूले शेयर गरेका स्क्रिनशट अनुसार मेक्सिकोमा यसको मासिक शुल्क करिब २.२० अमेरिकी डलर (करिब ३३३ रुपैयाँ), जापानमा करिब २ अमेरिकी डलर (करिब ३०३ रुपैयाँ) र फिलिपिन्समा करिब १.०७ अमेरिकी डलर (करिब १६२ रुपैयाँ) रहेको छ ।
यो पेड सब्सक्रिप्सन मेटा भेरिफाइड भन्दा पूर्णतः फरक योजना हो । मेटा भेरिफाइड मुख्यतया कन्टेन्ट क्रियटर र व्यवसायहरूका लागि लक्षित छ, जसले भेरिफाइड ब्याज र सुरक्षाका फिचर प्रदान गर्दछ । तर इन्स्टाग्राम प्लस भने दैनिक प्रयोगकर्ताहरूका लागि तयार पारिएको हो ।
इन्स्टाग्रामको यो कदमले कम्पनीको आम्दानी बढाउन सहयोग गर्ने भए पनि धेरै प्रयोगकर्ताहरूले 'सब्सक्रिप्सन थकान' (Subscription fatigue) का कारण असन्तुष्टि व्यक्त गर्न थालेका छन् । कतिपयले सामाजिक सञ्जालमा यस्ता सशुल्क फिचरहरूको विरोध समेत गरेका छन् ।
यद्यपि स्न्यापच्याट र एक्स (ट्वीटर) ले सामाजिक सञ्जालमा सब्सक्रिप्सनको राम्रो बजार रहेको प्रमाणित गरिसकेका छन् । स्न्यापच्याटको प्रिमियम सेवा स्न्यापच्याट प्लसका हाल २ करोड ५० लाखभन्दा बढी ग्राहकहरू भइसकेका छन् । मेटाले यसको थप परीक्षण गरेपछि मात्र विश्वव्यापी रूपमा उपलब्ध गराउने योजना बनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत १७, २०८२ ९:३७
