close

हर्क साम्पाङको फेसबुक पेज सस्पेन्डपछि सामाजिक सञ्जालमा हुन थाल्यो ट्रोल

टेकपाना टेकपाना

बैशाख ४, २०८३ १७:३७

हर्क साम्पाङको फेसबुक पेज सस्पेन्डपछि सामाजिक सञ्जालमा हुन थाल्यो ट्रोल

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) को अत्यधिक सक्रियता रहेको आधिकारिक फेसबुक पेज बिहीबारदेखि गायब भएको छ । १४ लाख बढी फलोअर रहेको र हालसम्म ४० हजारभन्दा बढी पोस्ट गरिएको उक्त पेज ‘मेटा’ ले सस्पेन्ड गरिदिएपछि सामाजिक सञ्जालमा ट्रोल र व्यङ्ग्यको ओइरो लागेको छ ।

बिहीबार दिउँसो एकाएक पेज नदेखिएपछि धेरैले ह्याक भएको हुनसक्ने अनुमान गरेका थिए । तर, साम्पाङले आफ्नो अर्को व्यक्तिगत प्रोफाइलबाट एउटा स्क्रिनशट सार्वजनिक गर्दै पेज मेटाले नै सस्पेन्ड गरेको पुष्टि गरे ।

उक्त सूचनामा फेसबुकको नीति अनुरूप नभएकाले पेज सस्पेन्ड गरिएको उल्लेख भए पनि कुन निश्चित पोस्टका कारण यस्तो कारबाही भयो भन्ने खुलाइएको छैन । दिनमै दर्जनौँ स्टाटस लेख्ने र आफ्नो समर्थनमा आउने जस्तोसुकै सामग्री पनि शेयर गर्ने उनको स्वभाव नै पेज सस्पेन्ड हुनुको एउटा कारण हुनसक्ने अनुमान गरिएको छ ।

साम्पाङले बिहीबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि ‘सुरक्षित रूपमा यलम्बर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो’ भन्दै अङ्ग्रेजीमा पोस्ट गरेका थिए । यसअघि उनले महेन्द्र राजमार्गलाई ‘यलम्बर राजमार्ग’ नामाकरण गर्दा राम्रो हुने आशय व्यक्त गरेका थिए ।

उनको यही सन्दर्भलाई जोड्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाक उडाएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “ए यलम्बर एयरपोर्टबाट जहाज नउडेर फेसबुक पेज पो उड्ने रैछ ?” त्यस्तै, अभिनेता हरिवंश आचार्यको पुस्तक ‘चिना हराएको मान्छे’ को कभरमा हर्क साम्पाङको फोटो राखेर “फेसबुक पेज हराएको मान्छे” भन्दै बनाइएको मिम भाइरल भइरहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग साम्पाङको नाम जोडेर पनि थुप्रै मिम बनाइएका छन् । 

एउटा भाइरल मिममा साम्पाङले बालेनलाई “मेरो आईडीमा समस्या आयो यार” भन्दै गुनासो गरेको देखाइएको छ भने जवाफमा बालेनले “नयाँ आईडी बनाएर पोस्ट हाल ब्रो, मेरो एक कमेन्टले तिम्रो समस्या समाधान हुन्छ” भनेको देखाइएको छ ।

अर्को एक मिममा मेटाले साम्पाङलाई “दिनमा ३०-३५ ओटा वाइयात पोस्ट नगर भनेकै हुँ, अब रुँदै बस” भनेको र साम्पाङले “लौ न मेरो आईडी फिर्ता गरिदिनुपर्‍यो” भन्दै बिन्ती गरेको देखाइएको छ । 

यस्तै, ‘थाहा खबर’ ले एउटा कार्टुन सार्वजनिक गरेको छ, जसमा विमानस्थलबाट निस्कँदै गरेका साम्पाङले “त्यस्ता नाथे एयरपोर्ट” भनिरहेका छन् भने फेसबुकले लात हान्दै “त्यस्ता नाथे एकाउन्ट” भनिरहेको देखिन्छ ।

सामाजिक सञ्जाल रेडिटमा समेत यो विषयले चर्चा पाएको छ । केही दिनअघि हर्क साम्पाङको फोन बालेन शाहले चलाएको दृश्य भाइरल भएको प्रसङ्ग जोड्दै एक प्रयोगकर्ताले ठट्टा गरेका छन्, “अस्ति बालेनसँग टाँसिएर फोटो खिचाउँदा मोबाइल देखाउँदै थियो, बालेनले हर्कको मोबाइलमा ‘ट्रोजन’ (भाइरस) हाल्दिएको होला ।”

साम्पाङको पेज गायब भएपछि कतिपयले फेसबुक नै सुनसान भएको भन्दै व्यङ्ग्यस्वरूप फेसबुक अनइन्स्टल गर्ने बताएका छन् । तर, कतिपयले भने उनको डिजिटल सुरक्षा चेतनामाथि प्रश्न उठाएका छन् । इन्टरनेटको दुनियाँमा ‘रङ्गीन थम्बनेल’ र ‘एडल्ट कन्टेन्ट’ भएका शंकास्पद लिङ्कमा क्लिक गर्दा फिसिङको जालमा परेर अकाउन्ट गुम्ने जोखिम हुने भन्दै साम्पाङ पनि कतै त्यस्तै डिजिटल पासोमा परेका त होइनन् भन्ने आशंका व्यक्त गरिएको छ ।

एक प्रयोगकर्ताले लेखेका छन्, “कतै माननीय ज्यूको ब्राउजिङ हिस्ट्री सार्वजनिक भयो भने त श्रमदानको सारा जस त्यहीँ हराउला भन्ने चिन्ता छ । यो हाँसो मात्र होइन, लाजमर्दो कुरा पनि हुन सक्छ ।”

प्राविधिक पक्षबाट हेर्दा साम्पाङले आफ्नो प्रशंसामा आएका सामग्री विना जाँच शेयर गर्ने गर्दथे । कतिपय अवस्थामा ती सामग्रीहरू ‘फिसिङ लिङ्क’ हुने गरेका थिए, जसले उनलाई पछ्याउने ठुलो समूहलाई समेत जोखिममा पारेको थियो । विपक्षी दल वा नेताको विरोधमा आएका सामग्री पनि तथ्यजाँच नगरी शेयर गर्ने उनको बानी थियो ।

यसअघि टेकपानाले उनका कतिपय पोस्टहरू भ्रामक रहेको भन्दै फ्याक्टचेक समेत गरेका थिए । सन् २०२२ मा धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएको केही समयमै उनले इन्जिनियरलक्षित पोस्ट गरेपछि चर्को आलोचित बनेका थिए । त्यसयता उनी कैयौं पटक त्यस्ता पोस्टका कारण आलोचित बनिसकेका छन् । 

उनको यही शैली पछ्याउँदै खोलिएका उनकै नामका नक्कली अकाउन्टले पनि साम्पाङको छवि धमिल्याउन कुनै न कुनै भूमिका खेलेका छन् । बिहीबार साम्पाङको सक्कली पेज उडेपछि त्यही नाम र फोटो राख्दै दर्जनौं नक्कली अकाउन्ट खुलिसकेका छन् । यद्यपि अहिले सन् २०१० मा खोलिएको व्यक्तिगत अकाउन्ट नै साम्पाङको वास्तविक आईडी सक्रिय भएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ १०:८