क्रिकेटमा देशकै फास्ट बलरको खोजीमा वर्ल्डलिङ्क, यी सहरमा हुँदैछ ‘बिट द स्पिड’ सिजन थ्री
बैशाख ९, २०८३ १२:२६
काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले उदीयमान तीव्र गतिका बलरहरूको पहिचान र विकासका लागि राष्ट्रिय प्रतिभा खोज कार्यक्रम ‘बिट द स्पिड’ को तेस्रो सिजन सुरु गरेको छ । जसमा युवा खेलाडीलाई आफ्नो गति, सीप र सम्भावना प्रदर्शन गर्ने अवसर प्रदान गर्दै नेपालको ग्रास रुट क्रिकेटलाई अझ सुदृढ बनाउने लक्ष्य कम्पनीको छ ।
अघिल्ला सिजनहरूको सफलतासँगै ‘बिट द स्पिड’ ले नेपाली क्रिकेटमा प्रभाव पार्दै आएको वर्ल्डलिंकको विश्वास छ । गत सिजनका विजेता हिक्मत महर्जनले गएको सिजनको नेपाल प्रिमियर लिगमा ‘आइकनिक प्लेयर’ का रूपमा सुदूरपश्चिम रोयल्समा छनोट भएका थिए । त्यस्तै, ‘प्रोमिसिङ ट्यालेन्ट’ का रूपमा छनोट किरण चन्द काठमाडौँ गोर्खाजको डेभलपमेन्ट स्क्वाडमा समावेश भएका थिए ।
त्यसैलाई मध्यनजर गर्दै कम्पनीले ‘बिट द स्पिड’ को तेस्रो सिजन सुरु गरेको हो । देशका २३ सहरमा आयोजन हुने यो कार्यक्रम गएको शुक्रवार जनकपुरबाट सुरु भइसकेको छ । कम्पनीका अनुसार लहान, राजविराज, विराटनगर, दमक र इटहरीमा समेत यो कार्यक्रम सम्पन्न भइसकेको छ । भने, भोलि बिहीबार मलंगवा र गौरमा यो कार्यक्रम आयोजना हुँदैछ । भने बाँकी समय तालिका यहाँ उल्लेख गरिएको छ:
१. वैशाख ११ – सिमरा र वीरगन्ज
२. वैशाख १२ – हेटौंडा र चितवन
३. वैशाख १३ – बुटवल
४. वैशाख १४ – भैरहवा
५. वैशाख १५ – लमही र घोराही
६. वैशाख १६ – नेपालगन्ज
७. वैशाख १७ – सुर्खेत
८. वैशाख १९ – धनगढी
९. वैशाख २० – महेन्द्रनगर
१०. वैशाख २२ – बैतडी (पहिलो पटक समावेश)
११. वैशाख २४ – पोखरा
१२. वैशाख २६ – काठमाडौँ
कम्पनीका अनुसार प्रारम्भिक चरणपछि सबैभन्दा छिटो बलिङ गर्ने उत्कृष्ट १० खेलाडीलाई काठमाडौँमा हुने ग्रान्ड फिनालेका लागि छनोट गरिनेछ । जसमा विजेताले एक लाख, उपविजेताले ५० हजार, तेस्रो हुनेले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै विजेता र निर्णायकले छनोट गरेको ‘प्रोमिसिङ ट्यालेन्ट’ दुवैले जस्ट क्रिकेट एकेडेमी, ब्याङ्गलोरमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण अवसर प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यस वर्ष पनि प्रतियोगिताको निर्णायकमा ज्ञानेन्द्र मल्ल र कलाम अलि रहनेछन् । भने, काठमाडौँमा आयोजना हुने कार्यक्रममा चर्चित क्रिकेट कमेन्टेटर एन्ड्रु लियोनार्डले सहभागिता जनाउने कम्पनीले जनाएको छ । वर्ल्डलिंकका मार्केटिङ प्रमुख तेन्जिङ चोएग्यालका अनुसार लियोनार्डले प्रारम्भिक चरणका केही सहरमा उपस्थित भई खेलाडीहरूसँग अन्तरक्रिया समेत गर्नेछन् भने काठमाडौँमा हुने ग्रान्ड फिनाले होस्ट गर्नेछन् ।
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ १३:१५
