close

‘वाई-फाई सिक्स’ सँगै इन्टरनेट प्रयोगकर्ताको सुरक्षाका लागि सुबिसुले ल्यायो ‘सुबिसु सुरक्षा’

टेकपाना टेकपाना

बैशाख १७, २०८३ १४:१

‘वाई-फाई सिक्स’ सँगै इन्टरनेट प्रयोगकर्ताको सुरक्षाका लागि सुबिसुले ल्यायो ‘सुबिसु सुरक्षा’

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेडले ‘वाई-फाई सिक्स’ प्रविधिमा आधारित नयाँ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई स्थायी रूपमा समाधान गर्ने उद्देश्यले कम्पनीले यो प्रविधि भित्र्याएको हो । यसका साथै, इन्टरनेट प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले ‘सुबिसु सुरक्षा’ नामक नयाँ सुविधा पनि सुरु गरेको छ ।

कम्पनीका अनुसार वाई-फाई सिक्स प्रविधिले पुरानो प्रविधिको तुलनामा इन्टरनेटको गतिलाई तीव्र बनाउनुका साथै कभरेज क्षेत्र पनि फराकिलो बनाउनेछ । यस प्रविधिले एकै पटक धेरै डिभाइसहरू कनेक्ट गर्दा पनि इन्टरनेटको गुणस्तरमा कमी आउन नदिने बताइएको छ । ‘लो–लेटेन्सी’ प्रदान गर्ने हुँदा अनलाइन गेमिङ र भिडिओ स्ट्रिमिङमा प्रयोगकर्ताले उत्कृष्ट र नयाँ अनुभव प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

इन्टरनेटको गतिको साथसाथै प्रयोगकर्तालाई अनलाइनमा हुनसक्ने विभिन्न जोखिमबाट जोगाउन कम्पनीले ‘सुबिसु सुरक्षा’ सेवालाई एउटा सुरक्षात्मक तहको रूपमा ल्याएको हो । कम्पनीका अनुसार यस सेवाले हानिकारक वेबसाइट, सम्भावित साइबर आक्रमण र अनधिकृत पहुँचबाट प्रयोगकर्तालाई जोगाउँदै सुरक्षित इन्टरनेट प्रयोगको वातावरण तयार गर्नेछ ।

नेपालमै पहिलो पटक यस्तो सुरक्षा प्याकेज उपलब्ध गराएको दाबी गर्दै कम्पनीले यो सुविधा घरायसी तथा कर्पोरेट दुवै वर्गका ग्राहकका लागि उपयोगी हुने विश्वास लिएको छ ।

सुबिसुका उपाध्यक्ष रामकृष्ण परियारले अहिलेको डिजिटल समयमा केवल छिटो इन्टरनेट मात्र पर्याप्त नहुने बताए । उनले भने, ‘‘हामीले ग्राहकलाई तीव्र गतिको मात्र नभई सुरक्षित इन्टरनेट अनुभव पनि दिन खोजेका हौँ, जसले गर्दा उनीहरू ढुक्कसँग इन्टरनेटको उपयोग गर्न सकून् ।”

सुबिसुले यो नयाँ सेवालाई ‘स्मार्ट वाई-फाई सिक्स’, ‘प्रो वाई-फाई सिक्स’ र ‘एलिट वाई-फाई सिक्स’ गरी तीन फरक प्याकेजहरूमा उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ १२:१८