close

हर्क साम्पाङको १४ लाख बढी फलोअर भएको फेसबुक पेज ६ दिनपछि फिर्ता

टेकपाना टेकपाना

बैशाख ९, २०८३ २१:५२

हर्क साम्पाङको १४ लाख बढी फलोअर भएको फेसबुक पेज ६ दिनपछि फिर्ता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को गत बिहीबारदेखि गायब भएको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ ए रिभोलुसन’ (Harka Sampang A Revolution) बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । फेसबुकको मातृ कम्पनी मेटाले सस्पेन्ड गरेको उक्त पेज ६ दिनपछि फिर्ता भएको हो ।

१४ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज बुधबारदेखि फेसबुकमा पुनः देखिन थालेको छ । पेज फिर्ता आए पनि यो सामग्री तयार पार्दासम्म साम्पाङले नयाँ पोस्ट गरेका छैनन् ।

गत बिहीबार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि साम्पाङले 'Safely landed at Yalambar Intl Airport' भन्दै पोस्ट गरेका थिए । त्यसपछि उनको पेजलाई रिपोर्ट गर्ने ट्रेन्ड नै चलेको थियो ।

फेसबुकको कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै पेज सस्पेन्ड भएपछि उनी आफ्नो व्यक्तिगत प्रोफाइलमार्फत समर्थकहरूसँग जोडिएका थिए ।

पेज गायब भएको ६ दिनको अवधिमा साम्पाङको नाम र फोटो प्रयोग गरेर दर्जनौँ नक्कली (फेक) पेजहरू सक्रिय भएका छन् । ती नक्कली पेजहरूले भ्रामक सूचना फैलाइरहेको भन्दै साम्पाङको सचिवालयले सतर्क रहन आग्रह गरेको छ ।

दैनिक दर्जनौँ पोस्ट गर्ने र आफ्ना गतिविधिहरू निरन्तर सार्वजनिक गर्ने साम्पाङका लागि १४ लाख बढी फलोर भएको पेज नै आम नागरिकसँग जोडिने प्रमुख माध्यम रहँदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ २२:१