प्रहरीको नयाँ सचेतना शैली: सामाजिक सञ्जालमा ट्रेन्ड पछ्याउँदै कारबाही, तर किन हुन्छ आलोचना ?
जेठ १६, २०८३ २३:६
काठमाडौँ । पछिल्लो समय नेपाल प्रहरीले सडक अनुशासन कायम गर्न र ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन अपनाएको शैलीले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ । परम्परागत रूपमा जारी गरिने प्रेस विज्ञप्ति वा सूचनासँगै प्रहरीले अहिले सामाजिक सञ्जालमा ‘मिम’, ‘ट्रेन्ड’ र युवापुस्ताले रुचाउने ‘एडिडेट’ भिडिओको प्रयोगलाई तीव्रता दिएको छ ।
सडकमा जोखिमपूर्ण स्टन्ट गर्ने, चर्को आवाज निकाल्ने वा ट्राफिक नियम मिच्नेलाई पक्राउ गरेपछि उनीहरूले नै आफ्नो गल्ती स्वीकार गर्दै अरूलाई सचेत गराएको भिडिओ नेपाल प्रहरीका आधिकारिक अकाउन्टबाट सार्वजनिक हुन थालेका छन् ।

राजधानीको व्यस्त सडकमा मोटरसाइकलको ह्यान्डल छोडी सुतेर स्टन्ट गर्ने चालक होस् वा बुलेट बाइकमा चर्को ध्वनि निकाल्दै सडकमा उच्छृङ्खल गतिविधि गर्ने चितवनका रजनिश श्रेष्ठ, यस्ता घटनाका भिडिओ भाइरल हुनेबित्तिकै प्रहरी सक्रिय भई कारबाही अघि बढाउने गरेको छ ।

बागमती प्रदेश ०२-०२३ प २८८४ नम्बरको मोटरसाइकल चालकको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई कालिमाटीबाट नियन्त्रणमा लिएको थियो । कारबाहीपछि गल्ती स्वीकार गर्दै ती चालकले भनेका छन्, “मैले गरेको कार्य ट्राफिक नियमको उल्लङ्घन हो, यसले आफ्नै ज्यान र अन्यको सुरक्षामा पनि खतरा पुर्याउँछ । आइन्दा म यस्तो कार्य गर्दिनँ र अरूलाई पनि यस्तो नगर्न अनुरोध गर्छु ।” त्यसैगरी, चितवनका श्रेष्ठले पनि आफ्नो भिडिओमा भनेका छन्, “मैले स्टन्ट गरेको भिडिओ कसैले खिचेर हालेको रहेछ । प्रहरीले मलाई कार्यालयमा ल्याएर सम्झाई बुझाई गर्नुभयो । म सबैलाई के भन्न चाहन्छु भने, कसैले पनि यस्तो स्टन्ट नगरौँ ।”
ध्वनि प्रदूषण गरेको र सडक नियम उलङ्घन गरेको आरोपमा विवादित भ्लगर राजकुमार तामाङ पक्राउ परे । सामाजिक सञ्जालबाट भिडिओ प्राप्त भएपछि सीसीटिभीबाट खोजतलास गरी तामाङलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । सो भिडिओमा तामाङले भनेका छन्, “...मैले गल्ती गरेको थिएँ । चिटको भोगेदार छु म । सीसीटिभी क्यामेराले क्याप्चर गरेको रहेछ । आइन्दा यस्तो गर्दिनँ । सबैलाई सरी ।” यस भिडिओमा पनि प्रहरीले ट्रेन्डिङ मिम साउन्ड प्रयोग गरेको थियो ।

प्रहरीले यी भिडिओलाई ‘क्यान वी स्किप टु द गुड पार्ट’ जस्ता ट्रेन्डसँग जोडेर रचनात्मक ढङ्गले एडिट गर्ने गर्दछ । प्रहरीका यस्ता भिडिओमा “सडकमा ब्रेभरी (वीरता) होइन, ब्रेन (बुद्धि) प्रयोग गर्नुहोस्” जस्ता सन्देश समेटिएका हुन्छन् । प्रहरीको यो नयाँ शैलीलाई धेरैले सचेतनाको एक प्रभावकारी माध्यमका रूपमा प्रशंसा गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई भन्छन्, “सामाजिक सञ्जालमा नयाँ पुस्ता सक्रिय छन्, उनीहरूलाई त्यही उनीहरूलाई नै मन पर्ने शैलीको भिडिओ राख्दा इङ्गेज हुन्छन् । र, सचेत पनि हुन्छन् ।” भट्टराईका अनुसार प्रहरीले यस्ता भिडिओ राख्नुअघि आन्तरिक रूपमा युवापुस्तामा सर्वेक्षण गरेको र उनीहरूको मनोविज्ञान बुझेरै सामग्री तयार पारेको दाबी गरेका छन् । उनले थपे, “ट्रेन्डलाई नै पछ्याउँदै रचनात्मक ढङ्गले भिडिओ राख्दा नयाँ पुस्तालाई राम्रो लाग्छ भन्ने बुझेपछि हामीले त्यसलाई कार्यान्वयन गर्यौँ ।”
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रहरीको आधिकारिक एप, हेलो सरकार, इमेल र सामाजिक सञ्जाल अनुगमन गर्ने विशेष टोलीमार्फत प्राप्त भिडिओलाई आधार बनाएर कुन सामग्री राख्दा बढी सचेतना फैलन्छ भन्ने विषयमा गहन अध्ययन हुने गरेको छ ।
उनले भने, “हामीलाई प्रहरीकै आधिकारिक एपमा पनि ट्राफिक नियम तथा सडक अनुशासन उल्लङ्घन गरेको भिडिओ आइरहेका हुन्छन् । यी विभिन्न भिडिओलाई आधार बनाएर कुन राख्दा सचेतना फैलिन्छ भन्ने विषयलाई आधार बनाइन्छ र भिडिओ एडिट गरेर राख्छौँ ।” नेपाल प्रहरी अन्तर्गतका विभिन्न प्रहरी कार्यालयले आफ्नै शैलीले भिडिओ एडिट गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको उनले सुनाए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार प्रहरीले अपराध अनुसन्धान मात्र नभई ‘प्रि-एम्पटिभ पुलिसिङ’ अर्थात् अपराध हुन नदिने रणनीतिमा आफूलाई केन्द्रित गरिरहेको छ ।
उनले भने, “हामी अहिलेको बदलिदो परिस्थिति र युवा वर्गको मनोविज्ञान बुझेर प्रविधिको प्रयोग गर्दैछौँ । प्रहरीसँग आफ्नै विज्ञ जनशक्ति, एआई र सोसल मिडिया मोनिटरिङ डेस्क छ । हामी समाजलाई सुरक्षित राख्न र युवालाई गलत बाटोमा जानबाट रोक्न एक कदम अगाडि रहेर काम गरिरहेका छौँ ।” डीआईजी काफ्लेले अगाडि थपे, “हामी मात्र होइन, यो देशको सुरक्षा व्यवस्था सबै आम नागरिकको कर्तव्य हो । यसमा पनि उहाँहरूलाई कर्तव्यबोध गराउन सचेत बनाउन जानकारी दिन्छौँ ।”
तर, प्रहरीको यो रचनात्मक कार्यशैलीमा केही कमजोरी पनि देखिएका छन् । साइबर सुरक्षाका जानकारका अनुसार सचेतना फैलाउने नाममा प्रहरीले सार्वजनिक गर्ने कतिपय भिडिओमा व्यक्तिको ‘वैयक्तिक गोपनीयता’को उल्लङ्घन भएको छ ।
‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५’ को दफा २५ ले सार्वजनिक निकायले संकलन गरेको सूचना र वैयक्तिक विवरणको अनधिकृत खुलासा वा प्रकाशन विरुद्ध सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरेको छ । प्रहरीले सार्वजनिक गएका कैयौँ भिडिओमा चालकको लाइसेन्स नम्बर र व्यक्तिगत विवरण स्पष्ट देखिने गरेका छन् ।

विशेषगरी केही समयअघि फिशिङ लिङ्कबारे सचेत गराउने भिडिओमा प्रयोगकर्ताको फेसबुक कन्फर्मेसन कोड र नम्बर ब्लर नहुँदा साइबर सुरक्षाको जोखिम बढेको भन्दै आलोचना भयो ।

साइबर सुरक्षा विज्ञले प्रहरीले यस्तो भिडिओ राख्दा साइबर सुरक्षाको पक्षमा पर्याप्त ध्यान नपुर्याएको र यसले व्यक्तिको डिजिटल सुरक्षामा जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय इलामले जुवा खेल्ने व्यक्तिलाई व्यङ्ग्य गर्दै एक भिडिओ राखेको थियो । सो भिडिओमा ‘कान नहुने मान्छे’, ‘नाक नहुने मान्छे’ र ‘दिमाग नहुने मान्छे’ भनी तीन भागमा वर्गीकरण गरेको थियो । तीमध्ये दिमाग नहुने मान्छेमा जुवातास खेल्ने मान्छेलाई राखेको थियो । तर, कान र नाक नहुने मान्छे भन्दै प्रहरीले फरक क्षमताका व्यक्तिलाई समेत व्यङ्ग्य गरेको भन्दै आलोचना भएको थियो ।

सचेतनाको नाममा अपनाइएको ‘डिजिटल पुलिसिङ’ले एकातिर ट्राफिक नियम उल्लङ्घनकर्ता (अन्य अपराधसमेत) लाई तह लगाउन सहयोग पुर्याइरहेको छ भने अर्कोतिर डिजिटल प्राइभेसीका मामलामा नेपाल प्रहरी थप संवेदनशील हुनुपर्ने देखाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ ०:३५
