close

एसईई २०८२: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

टेकपाना टेकपाना

बैशाख २८, २०८३ २२:१०

एसईई २०८२: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको सोमबार साँझ बसेको बैठकपछि पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो ।

यस वर्षको नतिजामा विगतका वर्षहरूको तुलनामा सुधार देखिएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार कुल सहभागी चार लाख ३० हजार ६६७ परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत (दुई लाख ८४ हजार १६० जना) विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन्। बाँकी एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ‘नन–ग्रेडेड’ (एनजी) मा परेका छन् ।

अघिल्लो वर्ष २०८१ सालको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८० सालमा यो संख्या मात्र ४७.८६ प्रतिशत थियो । गत वर्षको तुलनामा यसपालि ४.१७ प्रतिशत विन्दुले नतिजामा सुधार आएको बोर्डले जनाएको छ । नन–ग्रेडेड हुने विद्यार्थीको संख्या पनि अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको छ ।

सार्वजनिक नतिजा अनुसार उच्च जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ ।

  • ३.६० देखि ४.०० जीपीए: ४८ हजार ३९२ जना

  • ३.२० देखि ३.६० जीपीए: ८० हजार ३७२ जना

  • २.८० देखि ३.२० जीपीए: ९४ हजार २२२ जना

  • २.४० देखि २.८० जीपीए: ५५ हजार ९७७ जना

  • २.०० देखि २.४० जीपीए: ५ हजार १९० जना

  • १.६० देखि २.०० जीपीए: ७ जना

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनापछि नतिजा सार्वजनिक हुने गरेकोमा यस वर्ष शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशन बमोजिम एक महिनाभित्रै नतिजा निकालिएको हो । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै परीक्षण गरिएकाले छिटो नतिजा प्रकाशन गर्न सम्भव भएको बोर्डको भनाइ छ ।

नतिजा कसरी हेर्ने ? 

विद्यार्थीहरूले एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत नतिजा र मार्कशिट हेर्न सक्नेछन् ।

बोर्डले नतिजा सार्वजनिक भएको केही समयपछि मात्र वेबसाइटहरूमा विवरण देखिने जनाएको छ । नन-ग्रेडेडमा परेका विद्यार्थीहरूका लागि पुनः परीक्षाको अवसर बोर्डले तोकेको समयतालिका अनुसार हुने बोर्डले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ २२:२८