close

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग कति छ सम्पत्ति ?

टेकपाना टेकपाना

चैत २९, २०८२ ०:९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग कति छ सम्पत्ति ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार जारी गरेको आधिकारिक विवरणअनुसार मन्त्री पोखरेल तथा परिवारको नाममा कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ । ऋण तथा दायित्व कटाएर शुद्ध सम्पत्ति (नेट वर्थ) २३ करोड ४१ लाख २७ हजार रुपैयाँ छ ।

सम्पत्ति विवरणमा मन्त्री पोखरेलले व्यक्तिगत तथा परिवारिक नाममा रहेको संयुक्त अचल सम्पत्ति उल्लेख गरेका छन् । उक्त सम्पत्तिमध्ये करिब २० करोड रुपैयाँ मूल्यको घरजग्गा ७ ठाउँ मा रहेको छ । यी जग्गा तथा घर काठमाडौँ, विराटनगर, ललितपुर र गोकर्णेश्वरमा छन् । केही जग्गा बुवा रमेशकुमार पोखरेल, आमा, हजुरआमा (मातृआमा) र दिदीबहिनीका नाममा समेत दर्ता छन् ।

विवरणअनुसार मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदीका गहना छन् । बैंक मौज्दात चार लाख ४७ हजार ९९४ रुपैयाँ छ भने अमेरिकी डलर खातामा ५ डलर मात्र रहेको उल्लेख छ । यसबाहेक कम्पनीहरूमा शेयर लगानी र दुई ओटा सवारी साधन पनि उनको सम्पत्तिमा समावेश छन् ।

मन्त्री पोखरेलले उल्लेख गरेको ऋण तथा दायित्व ७५ लाख रुपैयाँ छ । सम्पत्तिको मुख्य स्रोतका रूपमा पैतृक तथा परिवारिक सम्पत्तिलाई उल्लेख गरिएको छ । उनी कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने २१ फागुनमा रास्वपा सांसदका रूपमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन् ।

 

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ ०:१०