close

लाइक र भ्युजका लागि जिउँदा सेलिब्रेटीलाई ‘श्रद्धाञ्जलि’ दिने फेसबुक पेज सक्रिय, भ्रममा नपर्न आग्रह

टेकपाना टेकपाना

जेठ ४, २०८३ १९:३४

लाइक र भ्युजका लागि जिउँदा सेलिब्रेटीलाई ‘श्रद्धाञ्जलि’ दिने फेसबुक पेज सक्रिय, भ्रममा नपर्न आग्रह

काठमाडौँ । सामाजिक सञ्जालमा लाइक र भ्युज कमाउने लोभमा जिउँदै रहेका चर्चित नेपाली व्यक्तिलाई ‘श्रद्धाञ्जलि’ दिँदै भ्रामक सूचना फैलाउने फेसबुक पेज सक्रिय भएको पाइएको छ । ‘एन्जल्स रिमेम्बर्ड’ (Angels Remembered) नामक ७३ हजार बढी फलोअर भएको उक्त पेजले पछिल्ला केही दिनयता विभिन्न सेलिब्रेटीको मृत्यु भएको भन्दै अफवाह फैलाइरहेको हो ।

उक्त पेजको ट्रान्सप्यारेन्सी हिस्ट्री हेर्दा यो पेज सन् २०१९ मा ‘खबरी अनलाइन’ को नामबाट खोलेको देखिन्छ । यो पेजले हालसम्म पाँचपटक आफ्नो नाम परिवर्तन गरिसकेको छ । हाल अमेरिकाबाट सञ्चालित रहेको देखिने यस पेजले गत ११ मेदेखि यस्तो भ्रामक पोस्ट राख्न थालेको हो ।

सर्वसाधारणलाई झुक्याउन र विश्वास दिलाउन उक्त पेजले साँच्चै निधन भइसकेका सेलिब्रेटीको तस्बिरमा ‘रेस्ट इन पिस’ लेखेर डिजाइनसहित श्रद्धाञ्जलि दिने गरेको छ । त्यही शैलीमा जिउँदा व्यक्तिको पनि भ्रामक पोस्ट गर्ने गरेको देखिन्छ ।

उक्त पेजले कलाकारहरू राजेश हमाल, प्रकाश सपुत, साम्राज्ञी राज्यलक्ष्मी शाह, ऋचा शर्मा, स्वस्तिमा खड्का, समाजसेवी अनुराधा कोइराला लगायतका व्यक्तिको निधन भएको भन्दै झुटो खबर फैलाएको हो । यस पेजले अधिकांश पोस्टमा फोटो एउटा व्यक्तिको, तर क्याप्सनमा अर्कै व्यक्तिको नाम राखेको देखिन्छ ।

संस्थापक कोइरालाको बारेमा भ्रामक सूचना फैलिएपछि माइती नेपालले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको छ । संस्थाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अनुराधा कोइरालाज्यूको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै प्राप्त भएका असंख्य फोन, सन्देश, शुभेच्छा तथा सद्भावप्रति माइती नेपाल हार्दिक आभार व्यक्त गर्दछ ।

यस भ्रामक सूचनाबाट सिर्जित तनाव तथा अन्योलप्रति हामी क्षमाप्रार्थी छौं र यहाँहरूको निरन्तर विश्वास, साथ र समर्थनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।”

अर्कोतर्फ नायिका ऋचा शर्माले आफ्नो मृत्युको झुटो खबर राखिएको पोस्टमा कमेन्ट गर्दै लेखेकी छन्, “Hello guys, I am alive, thank you.”

यस्ता भ्रामक पोस्टलाई साँचो मानेर अन्य प्रयोगकर्ताले समेत शेयर गर्दा अफवाह बढ्ने खतरा देखिएको छ । यस्ता अज्ञात र अविश्वसनीय पेजबाट आउने सूचनालाई विश्वास नगर्न र आधिकारिक सञ्चारमाध्यमबाट पुष्टि भएपछि मात्र प्रतिक्रिया जनाउन टेकपाना सम्पूर्णमा आग्रह गर्दछ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ ८:३३