धार्मिक द्वन्द्व भड्काउने टिकटक भिडिओ राखेको अभियोगमा १७ वर्षीय किशोरविरुद्ध मुद्दा दायर
जेठ १५, २०८३ २०:१६
काठमाडौँ । दुई सम्प्रदायबिच धार्मिक द्वन्द्व र घृणा फैलाउने उद्देश्यले टिकटक भिडिओ पोस्ट गर्ने कपिलवस्तुका एक किशोरविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । कपिलवस्तु जिल्ला अदालतको बाल इजलासमा १७ वर्षीय किशोर विरुद्ध साइबर अपराधको कसुरमा अभियोग पत्र दायर गरिएको हो ।
दर्ता आरोप पत्रअनुसार ती किशोरले आफ्नो टिकटक आईडीबाट हिन्दु र मुस्लिम समुदायबिचको सुमधुर सम्बन्धमा खलल पार्ने भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओमा अत्यन्तै अश्लील र साम्प्रदायिक द्वन्द्व भड्काउने शब्दहरू प्रयोग गरिएको थियो ।
विभिन्न जातजाति र सम्प्रदायबिच घृणा वा द्वेष फैलाउने यस्तो कार्यले सार्वजनिक नैतिकता र शिष्टाचारमा गम्भीर असर पुर्याएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले उनलाई कपिलवस्तु नगरपालिका वडा नम्बर २, बर्गदवाबाट २२ चैतमा पक्राउ गरेको थियो ।
पक्राउ परेका किशोरले सोधपुछका क्रममा सामाजिक सञ्जालमा अर्को हिन्दु भाइले बोलेको उक्त अडिओ राखेर आफूले गल्ती गरेको र यसबाट कानुन बमोजिम हुने सजाय भोग्न मञ्जुर रहेको बयान दिएका छन् ।
अभियोग पत्रमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कारबाहीको माग गरिएको छ । यस कानुनअनुसार कम्प्युटर वा इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यममा कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका, वा विभिन्न जातजाति र सम्प्रदायबिच घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
यद्यपि किशोरको उमेर १७ वर्ष ८ महिना ६ दिन (अर्थात् १८ वर्षभन्दा कम) रहेकाले कानुनअनुसार उनलाई बालबालिका मानिएको छ । तसर्थ बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) अनुसार उमेर पुगेको (वयस्क) व्यक्तिलाई हुने कूल सजायको दुई तिहाइ (२/३) सजाय मात्र उनलाई हुनुपर्ने मागदाबी सरकारी वकिलको कार्यालयले गरेको छ ।
यसका साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्कसमेत भराउन अदालत समक्ष अनुरोध गरिएको छ । हाल ती किशोरलाई हाजिरी जमानीमा छाडिएको र सोही अवस्थामा आरोप पत्र अदालतमा पेस गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ २०:१६
