दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन, यी हुन् सदस्य समेतका आकाङ्क्षी
जेठ ७, २०८३ १४:६
काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा मात्रै ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले आह्वान गरेको दरखास्तमा निर्धारित अवधिमा सो आवेदन परेको हो ।
अध्यादेशमार्फत प्राधिकरणको सिङ्गो बोर्ड रिक्त भएपछि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयका अनुसार अध्यक्ष पदका आकाङ्क्षीहरूको सूची निकै लामो छ ।
आवेदन दिनेहरूमा रोहित रौनियार, नगेन्द्रकुमार दास, राकेश ताम्राकार, सरोजकुमार शर्मा, प्रदिपकुमार श्रेष्ठ, सुभाष साह र सुशीलप्रसाद साह छन् । यसैगरी अनिलकुमार झा, नरेन्द्रमानसिंह महर्जन, अमलेन्दुनारायण सिंह, रमेशकुमार श्रीवास्तव, नविन जीसी, महेशप्रसाद पाण्डे, शैलेन्द्र गिरी लगायतले पनि आवेदन दिएका छन् ।
बुद्धिप्रसाद आचार्य, अर्जुन घिमिरे, जनार्दन भट्ट, अनन्तमान सिंह, मधुसुदन दाहाल, दिपकराज लुइटेल, श्रीकृष्ण सुवेदी र सनाउल्लाह खानको नाम समेत आवेदकन दिनेहरूको सूचीमा छ । त्यस्तै भोजराज घिमिरे, सुनिलकुमार मिश्र, अम्बर स्थापित, पंकजकुमार दास, कृष्णराम धुँजु, दिपकराज उप्रेती, माधव अधिकारी, नविनकुमार कर्ण, दिपेश शिवाकोटी र राजिब सुब्बाले पनि अध्यक्ष पदका लागि दरखास्त पेस गरेका छन् ।
प्राधिकरण सदस्य पदका लागि पनि विभिन्न विधाबाट उल्लेख्य आवेदन परेका छन् । कानुन सदस्यका लागि ४ जनाको आवेदन परेको छ । जसमा अमृतप्रसाद रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हक रहेका छन् ।
त्यसैगरी, लेखा तथा लेखापरीक्षण सदस्यका लागि क्षेत्र गोपाल प्रधान, केशव बराल, हेमन्तराज रमाली, गोकर्णप्रसाद सिटौला, कविन्द्र दाहाल, इन्द्रमणि पोखरेल, प्रतिक श्रेष्ठ, मनोज अधिकारी र तीर्थप्रसाद यादव गरी ९ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
बजार व्यवस्थापन सदस्य पदका लागि विपिन चौहान, सुजिता श्रेष्ठ, ओमलाल श्रेष्ठ, रमेशकुमार श्रेष्ठ र दयानाथ दास गरी ५ जनाको दरखास्त परेको छ । सदस्य मध्ये सबैभन्दा धेरै आवेदन प्रशासन र प्राविधिक सदस्य पदमा परेको देखिन्छ । जसमा १५ जना आकाङ्क्षीहरू देखिएका छन् ।
यो सूचीमा अनिलराज गौतम, आशिष शर्मा, सुभाष साह, धनेश्वर झा, नारायणप्रसाद काफ्ले, अनन्त मल्लिक, दिपेन्द्रबहादुर शाह, नविन जीसी, विमलप्रकाश साह, ज्नानेन्द्र खतिवडा, जनार्दन भट्ट, दिपकराज लुइटेल, मिनु केसी, फूलबाबु झा र विकास आचार्य छन् ।
नेतृत्वका लागि मन्त्रालयले निकै कडा योग्यता र मापदण्ड तोकेको छ । अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा वा कानुनी क्षेत्रमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी १० वर्षको अनुभव अनिवार्य गरिएको छ । सदस्यका लागि भने स्नातक तह उत्तीर्ण र सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभव माग गरिएको छ ।
मन्त्रालयले उम्मेदवारहरूबाट व्यक्तिगत विवरणका साथै प्राधिकरण सुधारका लागि ३ हजारदेखि ५ हजार शब्दसम्मको व्यावसायिक कार्य योजना (Business Plan) समेत माग गरेको छ । आवेदन दिने उम्मेदवारको उमेर ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने र उनीहरूले कुनै पनि विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) नलिएको हुनुपर्ने प्रावधान छ ।
अब मन्त्रालयले प्राप्त दरखास्त र कार्ययोजनाको मूल्याङ्कन गरी शर्टलिस्ट तयार पार्ने र त्यसपछि अन्तर्वार्ता तथा प्रस्तुतीकरणका आधारमा योग्य व्यक्तिलाई नियुक्तिको सिफारिस गर्ने बताएको छ ।


पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ १४:२०
