close

अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिविहीनमैत्री बनाउनुपर्ने

टेकपाना टेकपाना

जेठ १०, २०८३ १३:२६

अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिविहीनमैत्री बनाउनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल बैंकिङ सेवा थप पहुँचयोग्य बनाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले शुक्रबार 'एकीकृत निर्देशन, २०८२' मा संशोधन गरी बैंकले तथा वित्तीय संस्थाहरूलाई आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्न निर्देशन दिएको हो । 

साथै, बैंकहरूले जारी गर्ने डेबिट तथा क्रेडिट कार्डमा ब्रेलमैत्री (Braille-friendly) विशेषता राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । त्यस्तै, अपाङ्गता भएका व्यक्तिले आफूले एटीएम, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा स्वयं प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा बैंक तथा वित्तीय संस्थाले त्यस्ता सेवा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई आपसी सहकार्यमा एटीएम लाउञ्ज भएका स्थानमा कम्तीमा एउटा अपाङ्गमैत्री एटीएम राख्न पनि निर्देशन दिएको छ । त्यस्ता एटीएममा ब्रेल संकेत (Braille signs) कन्ट्रोल बटन तथा अडियो सपोर्ट सुविधा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । साथै, यस्ता एटीएमको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

राष्ट्र बैंकको यो निर्देशनले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल वित्तीय पहुँच विस्तार गर्न र बैंकिङ सेवामा आत्मनिर्भरता बढाउन सहयोग पुग्ने अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८३ १३:४४