काठमाडौँ । सरकारले देशका रणनीतिक महत्त्वका ठुला आयोजना र आधुनिक प्रविधिको क्षेत्रमा लगानी सुनिश्चित गर्न मातृभूमि कोष (Motherland Fund) स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यो नयाँ कोषको अवधारणा सार्वजनिक गरेका हुन् ।
बजेट वक्तव्यका अनुसार हाल नेपालसँग वैदेशिक मुद्राको सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ । यही अवसरलाई सदुपयोग गर्दै सञ्चितिको केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति सरकारले लिएको छ । सोही नीति अन्तर्गत मातृभूमि कोष खडा गरी पुँजी परिचालन गरिनेछ ।
यस कोषको रकम मुख्यतया दुईवटा रणनीतिक क्षेत्रमा केन्द्रित गरिने बजेटमा उल्लेख छ । मुलुकको ऊर्जा सुरक्षालाई ध्यानमा राख्दै कम्तीमा तीन महिनाको लागि पुग्ने इन्धन भण्डारण क्षमता निर्माणमा यस कोषबाट लगानी गरिनेछ । त्यसैगरी नेपाललाई प्रविधिको हब बनाउने उद्देश्यका साथ एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्त्वका आयोजनाहरूमा यो कोष परिचालन गरिनेछ ।
सरकारले यस कोषमार्फत नवीन र वैकल्पिक वित्तीय उपकरणहरूको प्रयोग गरी सार्वजनिक लगानी र प्रविधि भित्र्याउने लक्ष्य राखेको छ । मातृभूमि कोषको स्थापनाले देशका ठुला पूर्वाधार र उच्च प्रविधिको क्षेत्रमा वैदेशिक ऋण वा लगानीमा हुने विनिमय जोखिम न्यूनीकरण गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसलाई नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी र प्रविधिमैत्री बनाउने दिशामा एउटा महत्त्वपूर्ण नीतिगत फड्कोको रूपमा हेरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १८:३९
