एआई क्रान्तिकाे असर: २२ वर्षपछि टोयोटाले गुमायो जापानको सबैभन्दा मूल्यवान कम्पनीको ताज
जेठ १९, २०८३ १२:२
काठमाडौँ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी 'सफ्टबैङ्क ग्रुप' जापानको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शेयर बजार पुँजीकरणका आधारमा टोयोटालाई पछि पार्दै सफ्टबैङ्क जापानको सबैभन्दा ठुलो कम्पनी बनेको हो । अटोमोबाइल निर्माता तथा औद्योगिक क्षेत्रको विशाल कम्पनी टोयोटा दुई दशकभन्दा बढी समयदेखि बजार पुँजीकरणका आधारमा जापानको सबैभन्दा ठूलो कम्पनी रहँदै आएको थियो ।
तर शीर्ष स्थानबाट यसको बहिर्गमनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सेमिकन्डक्टर कम्पनीहरूप्रति विश्वव्यापी लगानीकर्ताको बढ्दो चासोलाई प्रतिबिम्बित गरेको छ । एआई सम्बन्धी मागले जापानी शेयर बजारलाई इतिहासकै उच्च विन्दुमा पुर्याइरहेका बेला सफ्टबैङ्कले टोयोटालाई उछिनेको हो ।
सफ्टबैङ्कको शेयर मूल्य सोमबार इतिहासकै उच्च स्तरमा बन्द भएको थियो । फ्रान्समा विशाल एआई कम्प्युटिङ क्लस्टरहरूको सञ्जाल निर्माण गर्न कम्पनीले ७५ अर्ब युरोसम्म लगानी गर्ने प्रतिबद्धता जनाएपछि यसको शेयर १४ प्रतिशतभन्दा बढीले उकालो लागेको हो । सन् २०२६ को सुरुवातदेखि हालसम्म कम्पनीको शेयर मूल्य ८५ प्रतिशत बढिसकेको छ ।
यता, टोयोटाको बजार पुँजीकरण ४.५ प्रतिशतले घटेर ४५.९ ट्रिलियन येनमा झरेको छ । यसको तुलनामा सफ्टबैङ्कको बजार पुँजीकरण ४८.८ ट्रिलियन येन पुगेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार बजार पुँजीकरणका आधारमा टोयोटाले सन् २००३ को डिसेम्बरमा दूरसञ्चार समूह एनटीटी डोकोमोलाई उछिन्दै जापानको सबैभन्दा ठुलो कम्पनीको स्थान हासिल गरेको थियो ।
अहिले २२ वर्षभन्दा बढी समयपछि उक्त स्थान सफ्टबैङ्कले आफ्नो नाममा गरेको छ । एआई क्षेत्रमा महत्वाकाङ्क्षी योजनाहरु बनाएको सफ्टबैङ्कले च्याटजिपिटी निर्माता ओपनएआईमा पनि ठुलो लगानी गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ १२:९
